सकस कर्णाली : हिलाम्मे सडक, जीर्ण पुल

सकस कर्णाली  : हिलाम्मे सडक, जीर्ण पुल

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २३, २०७७

सुर्खेत । कर्णाली राजमार्गको नाग्म–गमगढी सडक वर्षाका कारण हिलाम्मे भएको छ । सडकमा यातायातका साधनमात्रै होइन पैदलयात्राले समेत सकस खेप्दै आएका छन् । जनताको सास्तीमा सरकार भने मूकदर्शक भएको छ । 

सडक स्तरोन्नतिका लागि हरेक वर्ष करोडौँ बजेट विनियोजन हुने तर कामै नभएर फ्रिज हुने गरेको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो । उहाँले भन्नुभयो, 'यो सडक प्रदेश र सङ्घीय सरकारले निर्माण गर्ने भनिएकाले स्थानीय तहले बजेट विनियोजन गर्न मिल्दैन, बजेट खर्च गरेको खण्डमा बेजु हुन्छ ।'

हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीको भनाइ पनि उस्तै छ । 'गाउँपालिकाअघिको जुगाड खण्ड सधैँ हिलाम्मे हुन्छ । ग्राभेलका लागि सधैँ ठेकेदार पक्षसँग भनेका हुन्छौँ, बन्दैन । यसले गर्दा हामी जनप्रतिनिधिले सधैँ गाली खाने गरेका छौँ । यसमा स्थानीय सरकारले बजेट खर्च गर्न मिल्दैन । अघिल्लो वर्ष हिलो पन्छाउनका लागि न्यून रकम खर्च गर्दा महालेखा नियन्त्रक कार्यालयले बेजु देखायो ।' सङ्घीय सरकारअन्तर्गत सडक ग्राभेलका लागि बोलपत्र आह्वान भएको तीन वर्ष बित्न लाग्दा पनि ग्राभेल हुनसकेको छैन ।

नाग्म–गमगढी सडकखण्डको नाग्मबाट आचार्य लिहीसम्मको १९ किलोमिटर ग्राभेल गर्ने भनिए पनि करिब नौ किलोमिटर मात्रै ग्राभेल हुँदा सडकयात्रा कष्टकर बनेको छ । नाग्मबाट बड्कीसम्मको १३ किलोमिटर सडक  सात करोड ९० लाख ९५ हजार १७७ मा थोदुङ कन्स्ट्रक्शनले ग्राभेल गर्ने जिम्मा पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले दशैँअघि नै काम सम्पन्न गर्नुपर्ने थियो । बड्कीबाट आचार्यलिहीसम्मको साढे चार किलोमिटरको काम भने सम्पन्न भइसकेको छ ।
नाग्म–गमगढी राजमार्गको सिञ्जा सडकखण्डअन्तर्गत अधिकांश स्थानमा अत्यधिक हिलो र खाल्डाखुल्डीले गाडी फस्ने भएकाले अधिकांश गाडी जानै मान्दैनन् । यसले गर्दा यात्ले थप समस्या भोग्दै आउनुपरेको स्थानीय डिल्ली तिवारीले बताउनुभयो । उहाँका अनुसार सिञ्जा क्षेत्रमा दिनभरमा तीन किलोमिटरसमेत गाडी गुड्न सक्दैनन् । यातायात समस्याकै कारण माथिल्लो सिञ्जा र मुगुका यात्हरू बीचबाटोमै बास बस्न बाध्य छन् । नाग्म–गमगढी राजमार्गको तल्लो क्षेत्रमा पनि समयमै मापदण्डानुसारको ग्राभेल नहुँदा यात्लाई सास्ती भएको छ ।

हिमा नदीमा पुल बनाउन शुरु गर्दा सिँचाइ कुलो भत्किएको थियो । पुल नबनेपछि सिँचाइ कुलो पनि बनाउन सकिएको छैन । कुलो नबन्दा सिञ्जा–२ रनुखानागाउँको ५०० रोपनी खेत बाँझै रहेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । स्थानीय महेश्वर तिवाका अनुसार पुल बन्ने भएपछि सिँचाइ कुलो भत्काउन दिइएको थियो ।