लोकसंवाद संवाददाता | विदेश | असार २३, २०७७
१५–१६ जुनमा गलवान घाँटीमा चिनियाँ सेनासँगको भिडन्तमा २० जना भारतीय सेना मारिए पनि भारत तुलनात्मक रुपमा निकै शान्त देखिएको छ । धेरैको विश्लेषण छ कि यस्तै घटना पाकिस्तान या अन्य कुनै देशसँग भएको भए भारतको रवैया फरक हुने थियो ।
गत वर्ष पुलवामा हमलापछि भारतीय सेनाले पाकिस्तानी भूमिमै प्रवेश गरेर ‘सर्जिकल स्ट्राइक’ गरेको थियो । तर चीनसँगको सीमा क्षेत्रमा करिब ४५ वर्षपछि आफ्ना सेनाले लज्जाजनक हारका सामना गर्दा पनि भारतले एक खालको मौनता साँधी रहेको छ ।
भारतले चीनमाथि सैन्य क्षेत्रमा आक्रामक नीति लिनुको साटो कूटनीतिक संवाद र सैनिक कमान्डर बिच वार्तामा जोड दिइरहेको छ । सोही अनुसार सैनिक कमान्डर बिचको वार्तापछि चिनियाँ सेनाले नियन्त्रणमा लिएका केही सैनिक रिहा समेत गरेको थियो ।
भारतले यो बिचमा भारतमा लगानी गर्ने साना र मध्यम चिनियाँ लगानीकर्तालाई हतोत्साहित गर्ने र सडकजस्ता भौतिक पूर्वाधार निर्माणको ठेक्का चीनका कम्पनीलाई नदिने निर्णय गरिसकेको छ ।
चीनसँगको भिडन्तपछि भारतमा ‘बायकट चाइना’ अभियान नै चल्यो । जसअनुसार धेरै भारतीयले ‘बायकट चाइना’ लेखिएका टिसर्ट र टोपी लगाएको देखाइरहेको छ । तर यस्ता टोपी र टिसर्ट चाइनाले नै बनाएर भारतमा बेचेको आरोप भारतका केही सरकारी अधिकारीको दाबी गरेका छन् । जसबाट उल्टो भारतबाट ठुलो रकम भित्र्याउन चीन सफल भएको आरोप लगाइरहेका छन् । यसलाई चीनको व्यापारिक चातुर्यताका रुपमा समेत हेरिएको छ ।
आइतबार मात्रै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले चीनका विदेश मन्त्री वाङ यीसँग २ घण्टा भन्दा लामो भिडियो वार्ता गरेका छन् । जसमा दुवै देशका सेना बलवान घाँटीबाट पछि हट्ने विषयमा कुराकानी भएको थियो । भारतीय पक्षले चिनियाँ सेना गलवानबाट पछि हट्न थालिसकेको दाबी गरेको छ भने चीन यो विषयमा बोलेको छैन । यसलाई भारतको आन्तरिक समस्या समाधानको ‘माइक्रो म्यानेजमेन्ट’ का रुपमा हेरिएको छ ।
चीन–भारत सीमा विवादबिच भारतले चीनसँग सैन्य क्षेत्रमा आक्रामक रवैया नअपनाउनुका पछि चीनको विशाल सैनिक र आर्थिक क्षमतासँगै भारतभित्रै आन्तरिक एकतामा निम्तिएको समस्या र परस्पर अविश्वासको भावना पनि जिम्मेवार रहको बताउन थालिएको छ ।
भारतका सबै राजनीतिक दलहरू विगतदेखि नै राष्ट्रियताको सन्दर्भमा एकजुट हुँदै आएका छन् । तर चीनसँगको सीमा विवाद र सैनिक मारिएको घटनामा भारतको मुख्य विपक्षी काँग्रेस आई सरकारप्रति आक्रामक रुपमा प्रस्तुत हुन पुग्यो ।
उसले सुरुदेखि नै सीमा क्षेत्रमा चीनको गतिविधिबारे भारत सरकारसँग गुप्तचर जानकारी र स्याटलाइट तस्बिर उपलब्ध किन हुन सकेन भन्ने प्रश्न उठाएको थियो । अब यो आशङ्का सैन्य र गुप्तचर क्षेत्रमा पनि उठ्न थालेको छ ।
भारतका पूर्व सैन्य गुप्तचर प्रमुख जनरल अमर जीत बेदीले भारतले आफ्नो गुप्तचरको भूमिकाको समीक्षा गर्न आवश्यक रहेको बताएका छन् । उनले चीनसँग सीमा क्षेत्रमा उत्पन्न अवस्था शान्त भएपछि गुप्तचरीमा सुधार ल्याउने गरी निर्णायक कदम चाल्नुपर्ने टिप्पणी समेत गरेका छन् ।
जनरल बेदीले एक अन्तर्वार्तामा भनेका छन्, ‘भारतीय सेना बलवान घाँटीमा चिनियाँ सैनिकसँग लडिरहेका थिए । उनीहरूमा गुप्तचर जानकारीहरू पर्याप्त मात्रामा पुग्न आवश्यक थियो ।’
उनले भनेका छन् – ‘हाम्रा सेनालाई पहिले देखि नै चिनियाँ सेनाको मुभमेन्टबारे जानकारी दिनुपर्दथ्यो । यो सङ्कट अन्त्य भएपछि हाम्रा सैनिकलाई किन गुप्तचर जानकारी दिइएन भन्नेबारे गुप्तचर भूमिकाबारे पुरै जाँच हुन आवश्यक छ । भविष्यमा आफ्नो प्रणालीको सुधारका लागि पनि यो आवश्यक छ । यस विषयमा सेनाभित्र र गुप्तचरभित्र पनि छानबिन हुनुपर्छ । यो प्रकारको जाँच हामीले कारगिल युद्धपछि पनि गरेका थियौँ । जसका लागि विशेष टास्क फोर्स बनाइएको थियो ।’
उनले चीनले यो हमलामा आक्रामक नीति अपनाएको र हिंस्रक सङ्घर्षमा जसरी भारतीय सैनिक मारिएका छन्, त्यसबाट चीन यो क्षेत्रमा लामो समयदेखि नै तयारी अवस्थामा र योजनाबद्ध रुपमा बसेको देखिएको उनको भनाई छ ।
बेदी भन्छन्, ‘मलाई लाग्छ कि चीन लामो समयदेखि चीनले तयारी गरिरहेको थियो । गत मार्च–अप्रिलदेखि नै उनीहरूले तयारी गरेका हुन सक्छन् ।’ बलवान घाँटीमा आक्रमणपछि भारतीय विदेश मन्त्रालयले यसलाई योजनाबद्ध र पूर्वनियोजित भएको आरोप लगाएको थियो भने चीनले भारतीय सेनाले सीमा क्षेत्र पार गरेर चिनियाँ क्षेत्रमा प्रवेश गरेपछि यो घटना भएको बताएको थियो ।
उनी भन्छन्, ‘म यसमा गुप्तचर र मनिटरिङ निकायको विफलता हो भन्न सक्दिनँ । हामीले आफूलाई पनि तयार राखेका थियौँ, तर हामीलाई चीनले सन्धिको प्रावधानअनुसार काम गर्छ जस्तो लागेको थियो र यस्तो भएन ।’
बेदी गत मार्चसम्म भारतको सैन्य गुप्तचर निकायका प्रमुख थिए । के त्यस बेलासम्म चीनको योजनाबारे भारतलाई केही जानकारी थियो ?
जवाफमा उनी भन्छन्, ‘हामीलाई चीनको सीमाभित्र हुने हरेक काम जस्तो कि भौतिक संरचना निर्माण, सैन्य अभ्यासजस्ता कुनै असामान्य गतिविधिका बारेमा जानकारी हुन्थ्यो । मार्चसम्म चिनियाँ सैनिक अभ्यासका बारेमा केही सङ्केत प्राप्त भएको थियो । जसको जानकारी हामीले अघि बढाएका थियौँ ।’
चीनसँग संशाधन भारतको भन्दा बढी त छन् नै साथसाथै चीनले सैन्य क्षमतामा पनि राम्रो सुधार गरेको छ । चीनसँग भारतसँग भन्दा तीन–चार गुणा बढी स्याटलाइट छन् । यो समयमा सीमा क्षेत्रमा भारतको तुलनामा चीन निकै शक्तिशाली देखिएको छ ।
चीनको यही शक्तिलाई लिएर सीमा क्षेत्रमा यस पटक भारतले आक्रामक नीति लिन नसकेको बताइन्छ । चीनसँग सीमा क्षेत्रमा हुने थप द्वन्द्वले झनै नकारात्मक परिणाम निम्त्याउन सक्ने आङ्कलनसाथ यो घटनालाई मत्थर पार्ने कोसिस भइरहेको छ ।
भारतमा यो घटनापछि गुप्तचर जानकारी र स्याटलाइटजस्ता उपकरण आदि विषयलाई लिएर अन्तर कलह र आत्मविश्वासको कमी देखिएको छ । जसको परिणामस्वरूप क्षतिका बाबजुद पनि भारत चीनसँगको सीमा क्षेत्रमा सैन्य आक्रामकता कम गर्न लागि परेको अनुमान गरिँदै छ ।
आइतबार मात्रै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले चीनका विदेश मन्त्री वाङ यीसँग २ घण्टा भन्दा लामो भिडियो वार्ता गरेका छन् । जसमा दुवै देशका सेना बलवान घाँटीबाट पछि हट्ने विषयमा कुराकानी भएको थियो । भारतीय पक्षले चिनियाँ सेना गलवानबाट पछि हट्न थालिसकेको दाबी गरेको छ भने चीन यो विषयमा बोलेको छैन । यसलाई भारतको आन्तरिक समस्या समाधानको ‘माइक्रो म्यानेजमेन्ट’ का रुपमा हेरिएको छ ।