माछा पोखरी सुक्न थालेपछि कृषक निराश

माछा पोखरी सुक्न थालेपछि कृषक निराश
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत ०३, २०७५

सुनसरी । वराहक्षेत्र नगरपालिका मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका छन् । सप्तकोशी नदीको पानीको बहाव घटेसँगै मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका हुन् । 

माछा पोखरी सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । राम्रो आम्दानी गर्ने उद्देश्यले पोखरी खनेर भुरा हालेको भए पनि पोखरी सुक्न थालेपछि कृषक निराश भएको स्थानीय माछा कृषक सञ्जयकुमार मेहताले बताउनुभयो । मेहताको पाँच पोखरी रहेकामा सबै सुकेका छन् । यसबाट चार लाख रूपैयाँ बराबरको घाटा भएको उहाँले बताउनुभयो । 

त्यसैगरी नरबहादुर थापाको तीन र केशवराज माझीको चारसहित सो क्षेत्रमा दर्जनौँ माछा कृषकको पोखरी सुकेको मेहताले बताउनुभयो । मेहताका अनुसार माछा पोखरी सुक्दा मधुवन क्षेत्रमा मात्रै ३० देखि ४० लाख रूपैयाँसम्मको घाटा भएको छ । 

सप्तकोशी नदीको बहाव पश्चिमतर्फ गएको र पानीको सतह पनि घटेका कारणले माछा पोखरी सुकेको उहाँले बताउनुभएको खबर राससमा छ ।