रूपक अलङ्कार | जीवनशैली | असार २४, २०७७
लकडाउन हुनुभन्दा तीन दिन अगाडि काठमाडौँ छोडेर हिँडेकाले अहिलेसम्म गाउँमा हल्लिन पाएको छु। जुन दिनदेखि काठमाडौँ पसियो तहां उप्रान्त यति धेरै दिन यो सहर छोडेर हिँडिएको थिइन । काठमाडौँ बिनाको आफू र आफू बिनाको काठमाडौँ कहिल्यै सोच्न सकिएन र अहिले पनि सोचिसकिएको छैन । तर त्यस्तो नहुँदो रहेछ । परिस्थितिले मान्छेलाई अभ्यस्त बनाउँदो नै रहेछ । म गाउँमा छु । भित्रै बस् भन्न राज्य आइपुग्दैन मेरो गाउँमा । बाहिर निस्कनका लागि खेतबारी छन् । गाईबस्तु छन् । घरभित्रै बस्नका लागि यहाँका काम कर्तव्यले दिँदैनन् पनि । दिन कटाउनका लागि गाउँमा गारो छैन । हुन त गारोसांगुराेमा पनि स्थान काल पात्र अनुसार फरक हुन्छ । उपन्यासकार शैलेन्द्र अधिकारी गाउँमा बस्न नसकेर काठमाडौँ फर्किसके । चर्चित कार्यक्रम सञ्चालक सरोज घिमिरे झापामै बसेर घरायसी कार्यक्रम सञ्चालन गरिरहेका छन् । यस्ता उदाहरण अनेकौँ दिन सकिन्छ ।
यतिका दिन गाउँमा बसिएला जस्तो लागेको थिएन । एक हप्ता वा दुई हप्ता हुँदै चार महिना भएछ । सरकारले पनि सुरुमा त एक हप्ताको लकडाउन भन्थ्यो अब हप्तालाई दिन बनाइसक्यो ।अब त म काठमाडौँ बस्थेँ र ? भन्ने लाग्न थालेको छ । दुई जोर लुगा बोकेर आएको त्यो पनि फाटिसक्यो । सुरुका दिनमा फेसबुकबाट पनि निकै चटक देखाइयो । अब त कै नै छ र चटक देखाउनलाई । गाउँ आएर लगाएको तरकारी फल्यो तर दुई पैसा बाको गोजीमा परेन ।
कहाँ लगेर बेच्ने ? मैले फर्सीमा ट्र्याकटर लगाएको फोटो फेसबुकमा राख्दा धेरै दयालु मान्छेहरू फेसबुकमै रोए । यसरी फाल्नु भन्दा त माग्नेलाई दिनु नि भनेर सिकाए पनि । तर भन्ने बित्तिकै गाउँमा को माग्ने भेटिन्छ र ? जाबो फर्सी पनि मागेर खान्छन् त गाउँलेहरू ? बाँडेरै खान्छन् नि ! रमाइलो कुरा के भने फर्सी जोतेका कारण मकैका बोटमा घोगा ठुला भने पक्कै लागेका छन् ।
चैत महिनामा भर्खर लकडाउन भएको अवसर छोपेर विभिन्न परिकार बनाएर खाइयो । फोटो खिचेर फेसबुकमा ओइराइयो । महामारी लागेर आएको हैन कि दसैँ बिदामा गाउँ आएको हो जस्तो लाग्थ्यो । सेल पुरी, पकौडा, हलुवा, खीर आइटम आइटमले बनाइयो र खाइयो । सबैले त्यसै गरे । के कम हामीले पनि नि गर्यौँ । चैत महिना सकिँदा नसकिँदै सहरबाट गोजीमा राखेको पैसो सकियो । अब 'आया उँट पहाड के नीचे' भनेजस्तो भयो । तरकारी र भात सुरु भयो । दिनकै दाल खानु गाउँको संस्कार हैन । सुरुमा त सन्तान घर आउँदा बा आमा दङ्ग भए तर फर्किने कुरै छैन, न घरको काम जाँगर लगाएर गर्छन् , न कमाउन जान्छन् ? अचम्म छ ।
सुरुमा त गाउँलेले पाँच पोका नुन, पाँच किलो चिनी र पाँच लिटर तेल किनेर ढुक्क बने । टाउको लुकाएर सुतुर मुर्गा ढुक्क बनेजस्तै । अहिले फेरि एक एक किलो किन्न थालेका छन् । गाउँमा बिउको र मलको आतङ्क सधैँ जिउँदो हुन्छ । अहिले पनि छ । सजिलै पाइने चिजमा हलो अड्काएर कृतज्ञता बटुल्ने बानी नेता, कर्मचारी, व्यापारी सबैमा परेको उदाहरण हो यो । एक किलो चिनीमा भगवान् बन्न खोज्छन् पापीहरू ।
तर म त त्यस्तो बिग्रेको मान्छे कहाँ हुँ र ? दुइटा डिग्री हातमा भएको मान्छे । जागिर पनि खाएको । इतिहास पढेको । संसार बुझेको । उस्तै परे बुझाउन समेत पछि नपर्ने । अब मैले काम नगरेर भयो ? ठुलो मान्छे पल्टेर भयो र ? बाउ आमाले जुन काम गरेर हामीलाई हुर्काए र पढाए । त्यही कामलाई तुच्छ्याएर भयो र ? दूध मुख मिठ्याएर खाने गोबर गनायो भनेर भयो र ? यति बेला म गाउँमा छु र गाउँकै बन्नुमा मेरो कल्याण छ । यति बुझे पछि गाउँको बसाइ सहज नहुने कुरै भएन ।
के भयो र ! ज्यानमा पसिना गनाएको छ, ठिकै छ । लुगा माटामय भएका छन् सुहाएकै छ। खुट्टा हिलाले खाएका छन्, केही छैन फेरि मासु पलाउला नै । हिलोमा चिप्लिएर लडेको छु, फेरि उठेर हिँडेकै छु । दारी जुँगामा स्याहार पुगेको छैन । तर छिमेकीसित उभिन लायक भएको छु । ठाउँ अनुसार बन्न सक्नुलाई पनि आफ्नो खुबी मान्नुपर्छ र सफलतामा सन्तुष्ट बन्नुपर्छ भन्ने कुरालाई आदर्श मानेको नै छु ।
वैशाख महिना ऐँसेलु खाएर बित्यो । बेलुकाको दुई घण्टा ऐँसेलुको झ्याँगमा बिताइयो । ऐँसेलु यसरी भाग्यमानी भएको पहिलो चोटि होला सायद ! जेठ पन्ध्रसम्म चुत्रोको बोट चहारेर बित्यो । फेरि कामै खाने त रैछ नि भन्ने लाग्न सक्छ । त्यसो होइन बिहान दिउँसो त खेतबारीको काम भ्याउन परि गो नि ! बेलुकाको समय भने प्रकृतिको काखमा बिताइयो । यो सौभाग्य जीवनमा फेरि आउला न आउला !
जस्तोसुकै महामारी आओस् । देश बन्द होस्, नाका बन्द होस्, बजार बन्द होस्, सहर बन्द होस्, काम बन्द होस्, कमाइ बन्द होस् तर मुख बन्द नहुने रहेछ । प्राणीले खान नछाड्ने रहेछ ।माटोबाहेक अन्यत्र मान्छेका ला खानेकुरा पाइँदो रहेनछ । त्यस कारण प्रविधिको विकासमा हामी जहाँ पुगे पनि हाम्रो आधार माटो नै हो । भूमि माता हो, हामी उनका सन्तान हौँ (माता भूमि पुत्रो अहं पृथिव्यस्) भनेर त्यसै भनिएको हैन रहेछ ।
खेतमा बाली फलेसम्म र भकारीमा अन्न भएसम्म डराउनु पर्दैन । त्यसै भनेर खेतबारी जोत्ने ट्र्याकटर पनि किनियो लकडाउनमै । स्थानीय निकायले किसानका लागी पचास प्रतिशत अनुदान पनि उपलब्ध गरायो । चार वर्षदेखि बाँझो रहेको बारी जोतेर मकै छर्यौँ पनि । समृद्ध नेपाल निर्माणका लागी हामीजस्ता अनाडीले यतिभन्दा कति गर्नु ? गाउँको आयस्रोत तरकारी, दूध तथा पशु हुन् । सबैभन्दा ठुलो हिस्सा तरकारी हो । लकडाउनका कारण यो पेसा भाँडियो । दूधबाट बन्ने पनिर पनि तरकारी भएकाले दूध व्यवसाय पनि भाँडियो । बिक्दै बिकेन हैन, भाँडियो । बिचौलिया भाइहरूले दैनिक माल उठाएनन् । उठाएको मालको उचित मूल्य त के अनुचित मूल्य पनि दिएनन् । त्यसपछि किसानले तरकारीलाई स्याहार के गरिराख्ने ?
न विषादी न भिटामिन । सहरमा वैदेशिक तरकारी बिना रोकावट आउने धादिङ, मकवानपुर, नुवाकोट , काभ्रेबाट नआउने अवस्था बन्यो । राहतको सट्टा आहत । फेसबुकहरूले दूध नबिके घिउ बनाएर बेच्नु नि भनेर सल्लाह दिँदै छादे । तर दूधको मूल्य घिउले किन उठाउन सक्थ्यो र ? साँच्चै भन्दा अहिले गाउँ तरकारीले शून्य छ ।
सुरुमा त गाउँलेले पाँच पोका नुन, पाँच किलो चिनी र पाँच लिटर तेल किनेर ढुक्क बने । टाउको लुकाएर सुतुर मुर्गा ढुक्क बनेजस्तै । अहिले फेरि एक एक किलो किन्न थालेका छन् । गाउँमा बिउको र मलको आतङ्क सधैँ जिउँदो हुन्छ । अहिले पनि छ । सजिलै पाइने चिजमा हलो अड्काएर कृतज्ञता बटुल्ने बानी नेता, कर्मचारी, व्यापारी सबैमा परेको उदाहरण हो यो । एक किलो चिनीमा भगवान् बन्न खोज्छन् पापीहरू ।
सुरुमा स्थानीय निकाय मार्फत साबुन र मास्क घरमा आइपुग्यो । नुहाउने र हात धुने गर्दा साबुन सिद्धी गयो । चार महिनामा मास्क फाटेर भाइरस त के गिटी नै घाँटीमा पुग्ने भइसक्यो । अहिले सरकार नै फसिसक्यो । हामीले प्रधानमन्त्रीले भन्नुभन्दा अघि देखी नै बेसार पानी खान थालेका थियौँ । अहिलेसम्म ठिक छौँ । बेसार खेतीलाई महत्त्व दिने मुडमा छौँ । तुलसीको बिरुवा धेरै उम्रेका छन् । खोलादेखि सिम बाबरी (पुदिना) ल्याएर सारेका छौँ । गुर्जोको लहरो झ्यालसम्म आइपुगेको छ । मिठा निमको छहारीमा बसिन्छ । आँगनको डिलमा सन्चोको बुटो भएपछि बिसन्चोलाई के सजिलो होला र ?
रमाइलो के भने गाउँमा पनि मोबाइल डाटाले राम्रो साथ दिइरहेको छ । फेसबुकमा फोटा राखेर कमेन्ट पढ्न पाइएको छ । कसैलाई पनि यो के गर्दै होला भन्ने जिज्ञासा छैन । कतिपयले मेरो सामाजिक मर्यादा अनुकूलको प्रस्तुति भएन भनेर चिन्ता पनि व्यक्त गरेका छन् । मलाई झस्काएका पनि छन् । तै पनि 'दिल त्यो बच्चा हे जी' । कोरोनाको प्रताडनाबाट बच्न झ्याउरिनु भन्दा त झ्याउरे छन्दमा गीत गाउनु नै उपयुक्त हो नि होइन र ?