भरतराज पोखरेल | दृष्टिकोण | चैत ०३, २०७५
१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको रहलपहल अझै बाँकी छ सहरतिर । अनि आमाको नामबाट नागरिकता मात्रै होइन, बच्चाले आमामात्रै चिने हुने कि बाबुसँग पनि चिनजान गराउनुपर्छ भन्ने बहस पनि ‘ज्युँदै’ छ । शिवरात्रिमा आएका जोगीले लैजान नसकेर बाँकी छोडेको अलिकति जाडो पनि राजनीतिका अतिरिक्त यस्तै–यस्तै बहसले सेकताप गरेर काठमाडौंलाई चिसिन दिएको छैन । तर, मलाई भने नारी दिवसको छेकोमा पुरानो गाउँका दुई प्रतिनिधि घटनाले घच्घच्याइ रहन्छन् ।
पहाडी जिल्लाका दुःखका भारी आफ्नै पाराका हुने भए नै । पर्वतको सदरमुकाम कुश्मादेखि पूर्वतिर आधा पौने घण्टाको दूरीमा पुगिन्छ मेरो जन्मथलो पकुवा । मोदी खोला र रति खोलाका दुई झोलुंगे पुल तरेपछि जहरे खोलालाई दायाँ पार्दैै दासको उकालो काटेपछि फुत्त पुगिन्छ, रमाइलो यो गाउँ । राम्चेको भीर नहुँदो हो त पहाडी जिल्लामा त्यत्तिको ठाउँ अर्को छैन भनेर ठोकुवा गरिदिए पनि बढी हुँदैनथ्यो । समथर खेतीयोग्य जमिन, उही जमाना (०३८ सालतिर)मा जहरे सिँचाइ आयोजनाको नहर, दक्षिण पूर्व फर्केको पारिलो ठाउँ ।
सहरका नारा र गाउँको यो पाराकाबीच तारतम्य कहाँ मिल्छ, थाहा छैन । तर, हाम्रो समाज यही उरल झिरलका बीचमा बाँचेको छ । सहरमा जनचेतना बढेको छ, अनि नारी चेतना पनि अवश्य बढेको छ । तर, त्यसले बहुसंख्यक गाउँका आमा दिदीबहिनीको प्रतिनिधित्व गर्छ कि गर्दैन ? प्रश्न त्यहाँनेर छ । प्रमुख समस्या के हो अहिलेको भन्नेमा कता–कता अल्मलिएको हो कि ? देश जति फेरिए पनि समाज फेरिएन भने के गर्नु ? समाज जति फेरिएन पनि घर फेरिएन भने के होला ? अपवादलाई वकालत गर्ने सहर आम र मूल समस्यामा प्रवेश गर्ने रुचि राख्दैन, सक्दैन
फाँट छोडेर ठाँटी, चित्रेतिर उकालो लाग्ने ठाउँमै थियो, हाम्रो घुमाउने घर । लुम्लेल (चापागाइँ) का दुई घर र पोखरेलका दुई गरी चार घरको टोलमध्ये हाम्रो घर सबैभन्दा सिरानमा थियो । घरभन्दा माथि सिँढी चिनेको बाटो, बाटोमाथि जंगल र जंगलमाथि अजंगको राम्चे भीर । हो, त्यही भीरमुनिको बाटोमा वैधव्य धारण गरेको फुकिढल काया उकालो ओह्रालो गरिरहेको देखिन्थ्यो । त्यो उकालो बाटोमा उनी खाली हात हिँडेको कहिल्यै देखिनँ मैले । पकुवाको खेती अनि राम्चे भीरमाथि घरबास भएपछि अरु थप भन्नै परेन । पहाडको ठाडै उकालो आधा–पौने घण्टा हिँड्नै पर्ने । फाँटको खेतीबाली घाँस–पातमाथि लैजानुपर्ने अनि माथिको गोबर मल फाँटमा पुर्याउनुपर्ने भनेपछि अरु व्याख्या जरुरी परेन । त्यो लिखुरे आकृति माथिबाट तल झर्दा पनि साथमा भन्ट्याङभुन्टुङ हुन्थे, उकालो लाग्दा पनि त्यस्तै । धेरै चोटी त मैले गोबर मल र मकैको ढोडको भारीमाथि बालक बसालेको देख्थेँ ।
म अलिअलि जान्ने (बाह्र वर्ष जतिको) भएपछि बुबाले हामीलाई मधेस झार्नुभयो । आफन्तहरू उतै भएकाले म बेला–बेला पहाडतिर गइरहन्थें । अलि पछि एकपटक जाँदा मलको डोकोसँग बोकिएर तलमाथि गर्ने बालक पढेलेखेर मास्टर भयो भन्ने सुनें, खुसी नै लाग्यो । अर्को चोटी जाँदा बिहेवारी पनि भयो, मास्टरी पनि चलेको छ पसल पनि चलेको छ भन्ने सुने, झन् खुसी लाग्यो । तर, यो खुसी धेरै दिन टिकेन, फलानी त मोदीमा फडालेर मरिछ भन्ने खबर हावासरी उडेर बर्दिया पुग्यो, मेरा कानमा ठोक्किन । कहिले मलको भारी त कहिले घाँसको भारी बोकेर उकाली–ओह्राली गरेको त्यो हरियो लुगाले बेरिएको अस्थिपञ्चर मेरो दिमागबाट धेरै दिन हट्न सकेन । मैले उनका पतिलाई त देखिनँ नै नाम पनि थाहा छैन तर मास्टरको नागरिकतामा पक्कै बाबुको नाम होला । त्यति दुःखले हुर्काएको छोराले बुहारी भित्र्याएपछि बूढीआमै घरबाट मात्रै होइन, संसारबाटै बाहिरिइन् ।
धेरै समयको अन्तरालमा म बाल्यकालमा हुर्केको गाउँ गएँ । मेरो प्यारो पुरानो गाउँको अर्को एउटा अप्रिय घटनाले मेरो मथिंगल हल्लायो । केटाकेटी नहुर्कदै बूढाले कथित रूपमा आत्महत्या गरेपछि पहाडको ठाउँ हुनेखाने नै भए पनि बूढीलाई परिवार चलाउन गाहै्र पर्छ । जेनतेन केटाकेटी हुर्के, बुहारी पनि भित्रिइन् घरमा । समय क्रममा बुहारी सुत्केरी भइन् । तर, दुःख त्यहीदेखि सुरु भए । सुत्केरी बुहारीले गतिलो खान पाइनन् । थला पर्ने जस्ती भइन्, अनुहार बेसारजस्तो भयो, अहँ विधवा सासुको मन पग्लेन, चौंठीको घिउ पग्लिने त त्यसपछि मात्रै हो । यतिसम्मकी माइती वा आफन्तले, खुराक खाएस्, भनेर दिएको हजार–बाह्र सय रूपैयाँ खर्च गरेर मासु ल्याइदेउ भन्ने पनि कोही पाइएनन् । सासु शासन यति कडा देखियो कि सहयोग गर्न खोज्नेहरू पनि वरपर जान हिम्मत गर्दैनथे । अन्तमा कलिली सुत्केरीले कहालीलाग्दो विकल्प रोजिन्, गाइन् घरको आँटीमा र पासो लाइन घाँटीमा ।
यी दुई घटना हाम्रो समाजका प्रतिनिधि घटना हुन् । सहरका नारा र गाउँको यो पाराकाबीच तारतम्य कहाँ मिल्छ, थाहा छैन । तर, हाम्रो समाज यही उरल झिरलका बीचमा बाँचेको छ । सहरमा जनचेतना बढेको छ, अनि नारी चेतना पनि अवश्य बढेको छ । तर, त्यसले बहुसंख्यक गाउँका आमा दिदीबहिनीको प्रतिनिधित्व गर्छ कि गर्दैन ? प्रश्न त्यहाँनेर छ । प्रमुख समस्या के हो अहिलेको भन्नेमा कता–कता अल्मलिएको हो कि ? देश जति फेरिए पनि समाज फेरिएन भने के गर्नु ? समाज जति फेरिएन पनि घर फेरिएन भने के होला ? अपवादलाई वकालत गर्ने सहर आम र मूल समस्यामा प्रवेश गर्ने रुचि राख्दैन, सक्दैन । घरको धुरीमा पासो लगाउन बाध्य कलिली सुत्केरीको कारुणिक कथा र मोदी खोलामा हेलिएर आफ्नो अस्थिपञ्जर सेलाउने ती विधवाको आकृति मेरो मन मस्तिष्कमा अहिले पनि घुमिरहन्छ । सहरतिर नारी दिवसको रमझम चलेको बेला मेरो मनमा भने गाउँतिरका यी विवश नारीको तस्बिर फनफनी घुमिरहेको छ ।
bharatraj.pokharel@gmail.com