लोकसंवाद संवाददाता | समाज | असार २५, २०७७
प्यूठान । जिल्लाका स्थानीय तहले नागरिकलाई खानेपानीको सहज आपूर्तिका लागि एक घर एक धारा कार्यक्रम सञ्चालन गरेका छन् । जिल्लाको माण्डवी गाउँपालिकाले जनतालाई खानेपानीको सहज पहुँच पुर्याउन एक घर एक धारा कार्यक्रम सञ्चालन गरेको छ ।
आव २०७४/७५ देखि नै पालिकाका विभिन्न क्षेत्रमा खानेपानीकोे सहज आपूर्ति गराइ एक घर एक धारा बनाउने अभियान शुरु गरेको हो । मानिसको पहिलो आधारभूत आवश्यकता पानी नै भएकाले पालिकाले यो कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले बताउनुभयो ।
पालिकाले अघिल्लो आवमा साना ठूला गरी २० वटा खानेपानीका योजना सञ्चालन गरेको थियो । जसका लागि दुई करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । यसबाट ८०० घरधुरीका करिब चार हजार जनता लाभान्वित भएको गाउँपालिका प्राविधिक सागर पण्डितले बताउनुभयो । त्यस्तै चालू आवमा पनि पालिकाका २३० घरधूरीमा धारा निर्माण गरिए र यसबाट करिब एक हजार ४०० जनता लाभान्वित भएका छन् । पालिकाले यसका लागि पनि २६ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । पालिकाकै बजेटबाट आँपचौर लिफ्ट खानेपानी र उदयपुरकोट लिफ्ट खानेपानीको काम पनि सञ्चालन गरेको प्राविधिक पण्डितले बताउनुभयो ।
पालिकाबाट चालू आवमा दुवै योजनाका लागि रु १५/१५ लाख बजेट विनियोजन गरिएको छ । पालिकाले आगामी वर्षमा पनि एक घर एक धारा अभियानलाई निरन्तरता दिने भएको छ । प्युठान नगरपालिकाले चालू आर्थिक वर्षमा नगर क्षेत्रमा ३५० घरमा धारा निर्माण गरेको छ । चालू आवमा ८०० घरधुरीमा धारा पुर्याउने लक्ष्य नगरपालिकाको रहेपनी बन्दाबन्दीले काम गर्न नपाएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो ।
चालू आवमा रु आठ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो । आगामी वर्षमा पनि नगरपालिकाले करिब ८०० घरमा धारा निर्माण गर्ने नगरप्रमुख कक्षपतिले बताउनुभयो । नगरक्षेत्रमा २०७४ पश्चात करिब एक हजार २०० घरमा धारा निर्माण गरिएको उहाँले बताउनुभयो ।
जिल्लाकै गौमुखी गाउँपालिकामा हालसम्म २०१ घरमा धारा निर्माण भएका छन् । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत–२ अर्खामा १५१ र वडा नं ३ रजवारामा ५० घरधुरीमा धारा निर्माण भएको गाउँपालिका अध्यक्ष विष्णु गिरीले बताउनुभयो । वडा नं ४ पूजामा केन्द्र र प्रदेश सरकारको दुई करोड ५० लाख लगानीमा गौथलेमुल लिफ्ट खानेपानी आयोजना निर्माण भइरहेको अध्यक्ष गिरीले बताउनुभयो । आयोजना निर्माण पश्चात यहाँका २०० घरधुरी लाभान्वित हुने छन् । गाउँपालिकाले आगामी आर्थिक वर्षमा एक घर एक धारा कार्यक्रमका लागि रु एक करोड बजेट विनियोजन गरेको छ ।
जिल्लामा सङ्घीय सरकारमार्फत ६१ र प्रदेश सरकारबाट १६ खानेपानीका योजना सञ्चालन भइरहेको खोनपानी तथा सरसफाइ डिभिजन कार्यालय प्युठानले जनाएको छ । प्युठान नगरपालिकाको खैराकोट खानेपानी योजना, माण्डवीको जाडीखोला खानेपानी आयोजना सम्पन्न भइसकेका छन् । माण्डवी गाउँपालिका नयाँ गाउँ खानेपानी आयोजनाबाट करिब १५२ घरधुरी लाभान्वित भएका छन् भने अन्य खानेपानी आयोजनाका काम भइरहेको कार्यालयले जनाएको छ । चालू आवमा योजनाको कामका लागि केन्द्र सरकारमार्फत १५ करोड एक लाख ९० हजार र प्रदेश सरकारबाट नौ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन भएको कार्यालय प्रमुख आदित हुसेनले बताउनुभयो । बहुवर्षीय योजना भएकाले योजनाको काम सकिन समय लाग्नेछ ।