लोकसंवाद संवाददाता | समाज | असार २६, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बालविवाह गराउन खोज्ने पाँच जनालाई पक्राउ गरेको छ ।
तनहुँको व्यास नगरपालिका–११ मा उमेर नपुगेकी १४ वर्षीय बालिकासँग विवाह गर्ने बेहुलासहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बेहुला गोरखा शहीद लखन गाउँपालिका–२ बस्ने २३ वर्षीय सन्तोष अर्याल, बेहुलाका बाबु, बेहुलीकी बाबु, आमा र विवाह गराउने पण्डित रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । नाबालिकाको विधिवत रुपमा बालविवाह हुँदै गरेको भन्ने सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाविरुद्ध आज जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रनाउ तिमिल्सिनाले जानकारी दिनुभयो ।
'विधिवत तवरबाट विवाह मण्डप, जगिया तयार गरी बेहुलीको सिउँदोमा सिन्दुर हाली विवाह सम्पन्न भइसकेको रहेछ,' प्रनाउ तिमिल्सिनाले भन्नुभयो, 'बेहुली अन्माउने बेलामा पाँच जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।'