विभिन्न स्थानमा डुबेर मृत्यु

विभिन्न स्थानमा डुबेर मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  असार २६, २०७७

काठमाडौं । सुनसरी, बराहक्षेत्र नगरपालिका-११ मधुबन बस्ने २८ वर्षीय संजिब कुमार मेहेताको  कोशीको पानीमा डुबेर बिहीबार बिहान मृत्यु भएको छ । २र३ जना साथीहरुसँग मिलेर सोही ठाउँस्थित कोशी किनारमा निगुरो टिप्न गएका उनी चिप्लेर लडेकाले साथीहरुको सहयोगमा पानीबाट निकाली उपचारको लागि बिराटनगरस्थित गोल्डेन अस्पताल लगेकोमा उपचारको मृत्यु भएको हो । 

बाजुरा, बुढीगंगा नगरपालिका-१ द्वारीस्थित बुढीगंगा नदी तर्ने क्रममा सोमबारदेखि डुबेर बेपत्ता भएका सोही नगरपालिका-२ बस्ने राम बहादुर थापाको छोरा १५ वर्षीय प्रताप थापा बिहीबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब २५ किमी टाढा अछाम साँफेबगर नगरपालिका-४ स्थित तारेकुना भन्ने स्थानमा नदीको किनारामा शव फेला परेको हो । 

सर्लाही, ईश्वरपुर नगरपालिका-८ मनहर्बा बस्ने रितिक राउतको छोरा २ वर्षीय अंश राउतको पानी बग्ने कुलोमा खेल्ने क्रममा डुबेर बिहीबार साँझ मृत्यु भएको छ । डुबेर घाइते भएका उनको सिद्दी बिनायक हेल्थ केयर केशरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।