लोकसंवाद संवाददाता | विदेश | असार २८, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी शुरु भएपछि पहिलो पटक सार्वजनिकरूपमा मास्कको प्रयोग गर्नुभएको छ ।
यसअघि कोरानाभाइरसको महामारीलाई कम महत्व दिदै आउनु भएका ट्रम्पले मास्कको प्रयोग उपयोगी छ र गर्नुपर्दछ भन्ने सन्देश दिनेगरी मास्क लगाउनु भएको हो ।
उहाँले यसअघि आफूले मास्क नलगाउने बताउनु भएको थियो भने डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले लगाएकोमा उपहास गर्नु भएको थियो ।
गत अप्रिल महिनामा अमेरिकाको ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रेभेन्शन (सीडीसी)’ ले भाइरसको विस्तार रोक्न मास्क वा कपडाले मुख छोप्न सुझाव दिंदा पनि ट्रम्पले अस्विकार गर्दै र वेवास्ता गर्दै आउनुभएको थियो ।
तर शनिबार अमेरिकी सैनिक अस्पतालको अवलोकन भ्रमणका क्रममा उहाँले मास्क लगाएको फोटो अहिले भाइरल भएको छ ।
वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा उहाँ शनिबार हेलिकोप्टर मार्फत् जानुभएको थियो । मास्क लगाएको अवस्थामा सार्वजनिक भएपछि उहाँले विषेश गरेर अस्पतालमा आएको बेला मास्क लगाउनु स्वास्थ्यका लागि राम्रो हुने प्रतिक्रिया दिनुभएको थियो ।
उहाँ घाइते सिपाही र स्वास्थ्यकर्मीहरूलाई भेट्न वाशिङ्टन बाहिर रहेको सो अस्पतालमा जानु भएको हो ।
अमेरिकामा पछिल्लो २४ घण्टामा ६६,००० भन्दा बढी नयाँ सङ्क्रमित भेटिएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
महामारी सुरु भएदेखि अहिलेसम्म अमेरिकामा झन्डै १,३५,००० हजार मानिसको मृत्यु कोरोनाकै कारण भएको जनाइएको छ ।