फेवाताल सफाइ अभियानमा सक्रिय समूहलाई सहयोग

फेवाताल सफाइ अभियानमा सक्रिय समूहलाई सहयोग

लोकसंवाद संवाददाता  |  समाज  |  असार २८, २०७७

पोखरा । पोखराको फेवाताल सफाइ अभियानमा निरन्तर सक्रिय खहरे आमा समूहलाई प्रवासी पोखरेली अष्ट्रेलिया ग्रुपले रू ५० हजार सहयोग गरेको छ ।  फेवातालमा प्रदूषण बढ्दै वातावरणमा असर पर्ने थालेपछि सफाइ अभियान शुरु गरिएको समूहका अध्यक्ष मैया थापाले जानकारी दिनुभयो । 

'हामी  पाँच वर्षदेखि निरन्तर यस अभियानमा सक्रिय छाैं,  आजसम्म १५१ हप्ता पुगिसकेको छ । घामपानी, बादल नभनी कोरोना त्रासको समयमा समेत सामाजिक दूरी कायम गरेर सफाइ अभियानमा क्रियाशील भयौंँ, हाम्रो सक्रियतालाई देखेर प्रवासी पोखरेली अष्ट्रेलिया ग्रुपले ५० हजार रकम पठाएको छ । यसले थप ऊर्जा मिलेको छ', थापाले भन्नुभयो । 

विसं २०७० सालमा स्थापित समूहमा पछिल्लो समय ८०  सदस्य छन् । उक्त सफाइ अभियानबाट सङ्कलित फोहोरलाई पोखरा महानगरपालिकाको समन्वयमा ग्रिन पार्कका अध्यक्ष सुजन गुरुङले व्यवस्थापन गर्दै आउनुभएको छ ।  प्रवासी समूह अष्टेलियाका संयोजक शंकर कोइरालामार्फत सङ्कलित उक्त रकम नेपालका संयोजक धर्मराज पहारी र समूहका सदस्य तेजनारायण पराजुलीले समूहका अध्यक्ष थापालाई हस्तान्तरण गर्नुभएको थियो ।