लोकसंवाद संवाददाता | कारोबार | असार ३०, २०७७
काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) र राष्ट्रिय युवा परिषद्बीच तालीम सञ्चालन गर्ने विषयमा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
२०७७ असार २९ गते सोमबार आयोजित कार्यक्रममा सिटिइभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी र परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलबीच छोटो अवधिको सीपमूलक तालीममार्फत उत्पादनशील जनशक्ति तयार गरी उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्यले द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सहमतिअनुसार परिषद्ले तालीम लिनका लागि युवाको छनोट गर्ने र ती छनोट गरिएका युवालाई उनीहरुको इच्छाअनुसार तालीम सिटिइभिटीले प्रदान गर्नेछ । आगामी आर्थिक वर्षदेखि ३९० घण्टा सञ्चालन हुने सबै तालीम दुई पक्षबीचको सहकार्यमा हुनेछ । सहमतिमा परिषद्ले तोकिएको मापदण्ड अपनाई तालीमका सहभागीको छनौट गर्न स्थानीयमार्फत आवश्यक संयोजन गर्ने, तालीमको स्थलगत अनुगमन गरी तालीमको गुणस्तर र कार्यस्थलको सिकाइ सुनिश्चिताका लागि सहजीकरण गर्ने, युवालाई उद्यम व्यवसाय सञ्चालन तथा विस्तार गर्न सहुलियतपूर्ण कर्जाको सहजीकरण गर्ने, उत्पादित जनशक्तिलाई रोजगारीमा जोड्नका लागि रोजगार प्रदायक संस्थासँग समन्वय, सहकार्य र सहजीकरण गर्ने छन् ।
यस्तै सिटिइभिटीले स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै पहिचान भएका व्यवसायमा गुणस्तरीय तालीम सञ्चालनका लागि सहजीकरण गर्ने, सञ्चालित कार्यक्रमको गुणस्तर सुनिश्चिताको लागि नियमित नियमन तथा अनुगमन गर्ने, आवश्यकतानुसार सहभागीले सिकेका वा कार्य अनुभवबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई परीक्षण, स्तरीकरण र प्रमाणीकरण गर्नेछ ।
‘धेरै युवाहरु हामी तालीम कहाँ र कस्तो पाइन्छ भनेर आउने गरेका छन् । हामीले तालीम दिन संस्था नभएपछि ती युवा त्यतिकै फर्कने गरेका थिए’ परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले भन्नुभयो, ‘अब सहमति भएपछि तालीम लिन चाहने युवालाई हामीले छनौट गरेर सिटिइभिटीमा पठाउने छौँ ।’ उहाँले सहमतिबाट सीप र तालीमको माध्यमबाट युवालाई उत्पादनसँग जोड्न र रोजगारी सिर्जना गरी वाध्यतावश हुने युवाको वैदेशिक पलायनलाई न्यूनीकरण गर्ने सहयोग पुग्ने बताउनुभयो । सहमतिअनुसार पहिलो चरणमा २१ हजार युवालाई छोटो तालीम दिइनेछ ।