बारी बारीमा केरा !

बारी बारीमा केरा !
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत ०४, २०७५

बलेवा । जैमिनी नगरपालिका–१ कुश्मीशेरा, खौरका सूर्य पौडेल डोकोभरि केरा बोकेर बागलुङ कुश्मीशेरा सडकखण्डमा हरेक दिन ओहोरदोहोर गर्ने गर्छन् । उनी दिनमा हजारौं रूपैयाँको केराको कारोबार गर्छन् । दर्जनमा हिसाब हुने गाउँघरमा सूर्यले किसानको बारीबाट नै केरा उठाएर डोको भर्छन् र बजार लग्छन् । आफ्नै बारीको केरा पनि दैनिकी धान्ने उनको अर्को स्रोत हो । 

प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा नजिकै रहेको उनको सानो किराना पसलमा नुन, तेल, चिनी, चियापत्तीभन्दा दोब्बर केराको कारोबार हुन्छ । उनले बिक्री गर्ने केराका लागि कहिल्यै बाहिरबाट आयात गर्नु परेन । बरु उनले आफ्नो सम्पर्कमा रहेका किसानको बारीमा फलेका केरा बजारभन्दा बाहिर बिक्री गर्छन् । 

पौडेलको घर साविकको कुश्मीशेरा गाविस वडा नं २ मा पर्छ । वरिपरि बारी मात्रै रहेको गाउँ अहिले केराको बगानजस्तै देखिन्छ । उनको तीन मुरी कोदो फल्ने बारीमा केराको बगान छ । वर्षात्को समयमा मात्रै कोदो र मकै फल्ने बारीलाई सदुपयोग गरेर पौडेलले वर्षमा झण्डै तीन लाख रूपैयाँको केरा बिक्री गर्दै आएका छन् । ‘मकै र कोदोको मूल्य हिसाब गर्दा वर्षमा १८ हजार रूपैयाँ कमाइ हुन्थ्यो, लगाउने गोड्ने दुःख त कति हो कति,’ पौडेलले भने, ‘समयमा पानी र मल दिए राम्रो फल्ने केराले अहिले मेरो दैनिकी नै बदलिदिएको छ ।’ सुख्खा रातो माटो रहेको खौर, किसेकको डाँडामा वर्षात्को समयमा मात्रै खेती हुने गरेको थियो । पछिल्लो समय उक्त गाउँका किसानहरुले परम्परागत खेतीलाई परिवर्तन गरेर केराखेती थालेका छन् । 

सूर्यको जस्तै खौरका ऋषिराम शर्माले चार रोपनी बारीमा केराखेती गरेका छन् । अहिले भने हिउँद बर्खा दुवै याममा राम्रो फसल दिएकाले उनी केरा खेतीप्रति सन्तुष्ट छन् । शर्माले केराका लागि आवश्यक मलको जोहो गर्न गाईभैंसी पालेका छन् । खानेपानीका लागि प्रयोग भइरहेको पानीलाई बचत गरेर केरामा सिँचाइ गर्ने गरिएको छ । 

किसेकका अग्नीधर शर्मा पेशाले शिक्षक हुन् । उनको चार रोपनी घरबारीमा केराखेती छ । केराको बोटभित्र उनले कफीको खेती गरेका छन् । तीन मुरी कोदो र चार मुरी मकै फल्ने बारीमा लगाएको कफी र केराबाट शर्माले वार्षिक पाँच लाख रूपैयाँभन्दा धेरै आम्दानी गर्ने गरेका छन् । कोदो, मकै लगायतका परम्म्परागत खेती गर्दा मेहनत धेरै र उत्पादन कम हुने भएकाले खौर र किसेकका किसानहरु केराखेतीतर्फ आकर्षित भएका हुन् । केही वर्ष पहिलेसम्म रातो डाँडो देखिने उक्त गाउँ पछिल्लो समय केराको बगानले हरियाली बनेको छ । खौर किसेकका किसानले मात्रै होइन, हरेक पेशा व्यवसायमा रहेका व्यक्तिले धेरै थोरै आफ्नो जमिनमा केराखेती गर्दै आएका छन् । 

‘पहिले रातो डाँडो देखिने हाम्रो गाउँ हरियाली बनेको छ,’ जैमिनी–१ कुश्मीशेराका वडा सदस्य रुद्रनाथ शर्माले भन्नुभयो, ‘केही वर्ष पहिलेदेखि नै हाम्रा दाजुभाइले केराखेती गर्दैआएका छन् । प्रतिफल राम्रो पाएकाले सबैमा सन्तुष्टि पनि छ ।’ खौर किसेकमा रहेका १५ देखि २० परिवारको घरखर्च चलाउने गतिलो माध्यम केराखेती बनेको छ । ‘केराबाट भएको आम्दानीले हामीले घर खर्च मात्रै चलाएका छैनौं, छोराछोरी पनि पढाउँछौं ।’ 

अर्का किसान थानेश्वर पौडेलको बारीमा रामरेखे लोकल र चिनियाँ चम्पा जातको अग्लो केराका बोट छन् । अन्य जातभन्दा यी दुई जातका केराबाट धरै वर्षसम्म निरन्तर उत्पादन लिन सकिने जैमिनी नगरपालिकाका कृषि प्रविधिज्ञ रवीन्द्र शर्माले बताए । 

बारीमै आउँछन् व्यापारी 

खौर र किसेकमा उत्पादन भएको केराका लागि बजारको समस्या नभएको किसान बताउँछन् । स्थानीय कुश्मीशेरा बजार र जिल्ला सदरमुकामसम्म यहाँको केरा बिक्री हुने गरेको छ । छिमेकी जिल्ला पर्वत सदरमुकाममा समेत केरा बिक्री हुने गरेको किसान गंगाराम पौडेलले बताए । केरा खरिद गर्न व्यापारी उनीहरूकै बारीमा आउने गरेका छन् । उनका अनुसार काँचो केराको चार रूपैयाँ प्रतिगोटा र पाकेको केराको पाँच रूपैयाँ प्रतिगोटा बारीबाटै बिक्री हुने गरेको छ । 

‘बारीमै नगद गनेर जान्छन्, बजारको समस्या छैन,’ पौडेलले भने, ‘प्रायः एउटै व्यापारी पटक पटक केरा खरिदका लागि आउने गरेका छन् ।’ स्थानीय जातको केराको बजारमा माग समेत अत्यधिक छ । अर्गानिक र स्वादिलो पनि भएकाले केराको माग उच्च रहेको स्थानीयवासी प्रेम पौडेलले बताए । 

खौर र किसेका किसानले एकापसमा मिलेर केराको उत्पादन गरिरहेका छन् । पानीको चर्को समस्या रहेको उक्त ठाउँमा किसानले खानेपानीका लागि ल्याइएको पानीलाई बचाएर सिँचाइ गर्दै आएका छन् । वर्षाको समयमा पानी पर्याप्त हुने भए पनि हिउँदमा पानीको अभाव हुने गरेको छ । घरायसी कामका लागि प्रयोग भएको पानीलाई केरा बारीमा पु¥याएर उनीहरुले सिँचाइको जोहो गर्दैआएका छन् । 

लगाइएका केरा एकै किसिमको भए पनि राम्रो बिरुवा कुनै एक किसानको बारीमा उत्पादन भए अर्को किसानको बारीमा परीक्षणका लागि त्यसलाई सार्ने गरिएको राससमा तारानाथ आचार्यले खबर लेख्नुभएको छ ।