लोकसंवाद संवाददाता | कारोबार | असार ३१, २०७७
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले युवालाई स्वरोजगार बनाउन सहुलियत दरमा ऋण उपलब्ध गराउने भएको छ । वैदेशिक रोजगारबाट फर्किएका तथा नगरका बेरोजगार युवालाई स्वरोजगार बन्न नगरपालिकाले सहुलियत दरमा ऋण दिने भएको हो ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ देखि नयाँ कार्यक्रमस्वरुप युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । नगर क्षेत्रभित्रका उद्यम गर्न चाहने महिलालाई तीन प्रतिशत तथा पुरुषलाई चार प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने नगर प्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो । नगरपालिकाबाट कृषि विकास बैंकसँग सहकार्य गरेर विदेशबाट फर्किएका तथा नगरका बेरोजगार युवालाई स्वरोजगार बनाउन ऋण लगानी गर्न लागिएको जनाइएको छ ।
आगामी आव २०७७/७८ को नीति तथा कार्यक्रममा नै समावेश गर्दै युवा स्वरोजगार कार्यक्रमका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । नगरपालिकाले कृषि विकास बैंकमा धरौटीवापत सो रकम जम्मा गर्ने र बैंकले स्वरोजगार हुन चाहने युवाका लागि रु ६ करोड बराबर ऋण प्रवाह गर्ने सहमति भएको रानाले बताउनुभयो । नगरका स्वरोजगार हुन चाहने युवाको आवेदन सङ्कलन गरेर प्रतियुवा रु ५० हजारदेखि पाँच लाखसम्म लगानी गरिने जनाइएको छ ।
नगरपालिकाले वैदेशिक फिर्ती युवा स्वरोजगार कार्यक्रममार्फत ऋण दिने भए पनि सो योजनामार्फत विदेश नगएका तथा यहीँ केही उद्यम गर्न इच्छुक युवालाई समेत समावेश गर्ने नगरपालिकाका सूचना अधिकारी सुमनराज रेग्मीले जानकारी दिनुभयो । हाल नगरका बेरोजगार युवा तथा विदेशबाट फर्किएका र फर्किन चाहने युवाको लगत सङ्कलन भइरहेको बताइएको छ । लगत सङ्कलनपछि स्वरोजगार हुन चाहने युवाबाट सार्वजनिक रुपमा आवेदन माग गरिने रेग्मीको भनाइ छ । नगरका युवालाई आफ्नै भूमिमा स्वरोजगार बनाउनका लागि नगरपालिकाले सीप, प्रविधि र लगानी गर्दै उद्यमशील बनाउने नगर उपप्रमुख ओमकुमारी महतोले बताउनुभयो ।