लोकसंवाद संवाददाता | कारोबार | असार ३१, २०७७
काठमाडौं । भोलि बिहीबार अर्थात साउन १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ।
नेपाल बैंकर्स एसोसिएसनले शुल्कका हकमा भने बैंक स्वयंले निर्धारण गर्न सक्ने निर्णय गरेको हो।
एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार साउन १ देखि एक बैंकको कार्ड र अर्को बैंकको एटिएममा प्रयोग गर्दा लाग्ने शुल्कबारे बैंकहरुले नै निर्णय गर्नेछन्।
‘यसअघि कोभिड १९ र लकडाउनको असरलाई मध्यनजर गर्दै बैंकहरुले गत चैत ७ गतेबाट जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेका थिए । तर, अब यसमा बैंकहरुको पनि लागत लाग्ने भएकाले सधैं यो सुविधा रहँदैन, शर्माले भने।
सीमित बैंकहरुले ल्याएका केही अफर बाहेक एक बैंकको कार्ड अर्को बैंकको एटिएममा घुसाएर रकम झिक्दा वा ब्यालेन्स जानकारी लिँदा शुल्क काटिन्छ। कतिपय बैंकहरुको शुल्क एउटै छ भने केहीको फरक समेत छ।
बैंकहरु आबद्ध नेटवर्कअनुसार शुल्क फरक फरक हुने गरेको छ। सामान्यतः बैंकहरुले यस्तोमा २० देखि २५ रुपैयाँ लिने गरेका छन्।