शर्मिला पोखरेल | दृष्टिकोण | असार ३१, २०७७
कोभिड–१९ को महामारी डिसेम्बर २०१९ मा पहिलो पटक चीनको वुहानमा देखा परेता पनि यो भाइरसले अहिले विश्वभर ताण्डव मच्चाइरहेको छ । ६ महिना अघिसम्म कसैले अनुमानसम्म गरेका थिएनन कि SARS-CoV-2 अवस्थित छ भनेर ।
यो श्वासप्रश्वास सम्वन्धी सिंड्रोम कोरोना भाइरस २ (सार्स–कोभ–२) को फैलावटले विश्व महामारीको रूप लिई सकेको छ । अब यो भाइरस लगभग सबै देशहरूमा फैलि सकेको छ र दैनिक सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दो क्रममा छ । यद्यपि चीनमा रोकथामका विविध उपायहरू लागु गरेर नयाँ केसहरूलाई ९० प्रतिशत भन्दा बढी घटाएको जानकारी दिइरहेको छ । यसको पूर्णतः निष्क्रियताका लागि एक सशक्त स्वास्थ्य प्रणाली तयार गर्नका लागि विश्वव्यापी सामूहिक पहलकदमी आवश्यक छ ।
नेपालमा मात्रै असार २८ गते सम्म मृतकहरूको सङ्ख्या पनि ३८ पुगिसकेको छ । विश्वव्यापी रुपमा हेर्ने हो भने स्थिति झन् भयावहको रूप सहज रुपमा देख्न सकिन्छ । मानव जीवनका प्रायः सबै पक्षहरू यसबाट प्रभावित बनेका छन्, कतिपय आर्थिक, सामाजिक पक्षहरूलाई त यसले भताभुङ्ग नै पारिदिएको छ ।
कोभिड–१९ महामारीले सबैका बिच निस्सन्देह नै चिन्ता, डर, अनिश्चितता र असुरक्षाको वातावरण सिर्जना गरिदिएको छ । अझ कति भताभुङ्ग बनाउने हो अनुमान गर्नु हतारो हुन्छ । यसै परिप्रेक्ष्य नै आफूलाई सर्वदा र सचेत सर्वश्रेष्ठ प्राणी मानव समुदायले नै असहिष्णुताको पराकाष्ठा प्रदर्शन गरिरहेकाे छ ।
अनिश्चित र अज्ञात स्थितिले नै मानव समुदायलाई चिन्तित तुल्याउनु स्वभाविक हाे । सबै लाई थाहा छ कि मात्र दुई जनामा कोरोना पोजेटिभ देखिदैमा घर भित्र बसेर आफ्नो घरमा कसैलाई नआउन आग्रह पनि गर्यौं ।
हामी यति धेरै डरायौं कि मान्छे देख्दा कोरोना साक्षात् रूप देखे झैँ गरी तर्सियौं । तर अहिले समुदाय र समाजमा नकारात्मक सन्देश दिएर झनै जटिल बनाउँदै गइरहेका छौं । तर बन्दाबन्दीमा अत्तालिएका हामी पनि केही न केही निहुँमा घरबाहिर निस्कन थालेका छौँ । अब के हुने हाे ? भन्ने प्रश्न हामी सबैको मानसपटलमा छाएको विषय हो ।
आर्थिक पक्ष, सामाजिक पक्ष, मानसिक पक्ष समेत भद्रगोल बनाउने गरी कोरोना भाइरसको सङ्क्रमणको आतङ्क बढिरहेको छ । व्यापार व्यवसाय गर्नेलाई एक थरी चिन्ता छ भने डेरामा बस्नेलाई अर्को थरी चिन्ताले सताएको छ । अर्को तर्फ घरबेटीलाई बेग्लै चिन्तामा छन् भने छोराछोरीको स्कुल बन्द हुँदा अभिभावकलाई अर्को थरी चिन्ताग्रस्त तुल्याएको छ ।
जीवन रहे पो जगत् रहन्छ । बाँची रहे पो फेरी फेरी नाच्न पाइन्छ । अहिलेको अवस्था भनेको प्रमुखता ज्यान जोगाउने बखत हो । भिडभाड गरी भोजभतेरमा रमाउने, रेस्टुरेन्टमा साथीभाइ नाच्दै भोज खाने समय यो होइन। आफ्नो र अरूका लागि समेत होस गरौँ, सतर्क रहौँ, आफूलाई पनि सुरक्षित राखौँ, अरूको जीवन पनि जोगाऔँ । 'जीवन्नरो भद्रशतानि पश्येत्' अर्थात् बाँचेर नै मानिसले भविष्यसम्म सयौँ राम्रा कुरा देख्न पाउँछ ।
प्राइभेट जागिर गर्नेलाई जागिर नै सकिने हो कि भन्ने चिन्ताले गाँजेको छ । यस्ता कैयन चिन्ताले मानिसलाई ‘न दिनको भोक न रातको नीद’ बनाएको अवस्था छ । यस्ता चिन्तै चिन्ताहरूको बिचबाट अब कसरी आफूलाई पहिलेको जस्तो सामान्य अवस्थामा पुर्याउने भन्ने कुरा नै अहिलेको मुख्य चुनौतीका रुपमा रहेको छ । हाम्रो जस्तो गरिबी र पछौटे पनले गाँजेको समाजमा हातमुख जोर्नै समस्या खडा भएपछि घरभित्र बसेर साध्य नहुने भएपछि मात्र बाहिर निस्कन बाध्य भएको यथार्थ हाम्रा सामु छ ।
यो सोचनीय पक्ष के छ भने घर भित्र बसेर मात्रै सबै कुरा सम्भव हुन्छ ? विना दैनिक काम धन्दा जीवन जिउन धौंधौं पर्नेहरू कसरी घरभित्र बसिरहने ? यस्तो किसिमले घर चलाउन त गाह्रो त छदैछ, त्यसमाथि देशको अर्थतन्त्रको अवस्था के होला ? सहज अनुमान लगाउन सकिन्छ । अब यसप्रति सबैको ध्यान जानु त्यति नै जरुरी छ ।
बरु विभिन्न अनुसन्धानबाट प्रमाणित भएअनुसार निश्चित दुरी निर्धारण गरी नीतिगत रूपमै राज्यले नै निर्देशन गरी बाहिर निस्कने वातावरण सृजना गर्ने हो कि ? त्यसैको आधारमा व्यवसाय चलाउनेहरूले पनि निश्चित दुरी राखेर उपभोक्ताहरूलाई सेवा दिने वातावरण सृजना गर्ने हो कि ? भाइरसको भ्याक्सिन फेला नपरिन्जेल सङ्क्रमणको डर त छंदैछ र यो अवस्था कहिलेसम्म भन्ने प्रश्नको जवाफ पाउन गाह्रो छ ।
यसर्थ निश्चित सङ्क्रमित क्षेत्रलाई मात्र बन्द गरेर अन्यत्र खुला गर्ने तिर सबैको ध्यान अब जान जरुरी छ । अनेत्र देश खास गरी हेर्ने हो भने पनि कतिपय विकसित देशहरूले यस्तो पद्धति नै अपनाएको पाइन्छ । उदाहरणका रुपमा हालसालै भाइरसको चपेटामा लपेटिएका बेलायतको सरकारले लकडाउन खुकुलो परी सकेको छ । तर लेस्टर नामक सहरमा सङ्क्रमितहरूको सङ्ख्या देशव्यापी रेसियो भन्दा माथि भएकोले त्यस सहरमा मात्र लकडाउन जारी राखिएको छ । देशका अन्य भागहरू सामान्य अवस्थामा फर्काउने प्रयत्न भइरहेको छ । स्कुल बाहेक अन्य आर्थिक सामाजिक गतिविधिका क्षेत्रहरू सरकारले निश्चित दुरी कायम राखेर खोल्न अनुमति दिएको छ ।
युरोपका अधिकांश देशहरूले यही ‘मोडल’ लाई आत्मसाथ गरिरहेका छन् । आखिर जहाँ ‘समस्या त्यहाँ समाधान’ का उपाय भन्ने नीतिलाई अङ्गीकार गरिएको छ । मानिसले हर चुनौती पार लगाउने क्षमता राख्दछ र हरदम प्रयत्नरत रहन्छ पनि ।
नेपालमा सबैभन्दा दुःखद पक्ष के छ भने हामीले बिस्तारै मानवता भुल्दैछौं कि जस्तो भान हुन थालेको छ । एकाले अर्कोलाई कलङ्कित र अर्कालाई आरोपित गर्ने व्यवहार गरिरहेका छौँ । यो प्रवृत्तिबाट मुक्त भई अलि अगाडी बसेर सोच्ने हो कि ? जसरी सरल र सहज हुन्छ, त्यसरी नै चल्नुपर्छ कि ?
यस्तो महामारीको बिच अझै हामीकहाँ हत्या हिंसा र बलात्कारका घटनाहरू दिनहुँ जसो बढोत्तरीमा छन् । न्याय दिने को हो ? कुनै तथ्य बिना नै कुर्सीवालहरू निर्धक्कसँग बोल्ने प्रवृत्ति हाबी हुँदै गइरहेको छ । यस्तो विषम परिस्थितिमा राजनीतिक किचलो भइरहेको विषयलाई शोभनीय मान्न सकिँदैन । सरकारमा देखिएको किचलोले झनै गारो हुने परिस्थिति बन्दैछ । सरकार र सकार सञ्चालकले के भुल्नु हुँदैन कि केही औँलामा गनिने व्यक्तिहरू धनी होलान् तर नेपाल समग्रमा गरिब छ र यहाँ बसोबास गर्ने अधिकांश सर्वसाधारण जनता गरिब छन् । जति नै ढाकछोप र तडकभडक गरे पनि हाम्रो यथार्थ यही नै हो ।
हिमाली भू–भागमा बसेर तीन महिना पर्यटक घुमाएको भरमा वर्ष दिन खान पुर्याउनुपर्ने बाध्यता यहीँ थियो र छ पनि । पहाडी भू–भागका पाखा खेत र बारीमा हुने उब्जनीले खान नपुगेर परिवारलाई भविष्यमा सुख दिन, छोराछोरी बोर्डिङ स्कुलमा पढाउने चाहना राखेर पाखो पखेरो बन्दकी राखेर खाडीमा उँट चराउन जानेको परिवार पनि यहीँ छ । त्यस्तै तराई र भित्री मधेस (जहाँ जमिन हुनेले खेती गर्दैनन्) खेती गर्नेको जमिन नै छैन । अर्काको जग्गा खनी खोस्री दैनिकी ज्याला मजदुरी गरेर परिवार पाल्ने ठुलो जनसङ्ख्या पनि यहीँ छ ।
अतः सामाजिक दुरी बनाउने नाउँमा जुन अन्यायमा यिनीहरू माथि भयो, त्यसको कुनै लेखाजोखासम्म गर्ने फुर्सद कसैलाई छैन । यिनीहरूलाई हातमुख जोर्ने समस्याबाट मुक्त गर्ने कसले हो ? मनगढन्ते कुराले कसरी समस्या टार्न सकिन्छ र खोइ ? समस्याको सुनुवाइ कहाँ कसले कहिले गर्छ ? त्यो सुनुवाइ गर्नेले फेसबुक वा ट्विटरमा भाइरल हुने यस्ता दुःखद सामाजिक चित्रहरू हेर्छ कि हेर्दैन होलान् र ? यति धेरै विरोध र आक्रोश छ समाजमा । तर सुन्नेले सुनेको छ होला त ? क्वारेनटाइन सामूहिक बलात्कार हुनु, जीवनजलको अभावमा क्वारेनटाइन मृत्यु हुनु जस्ता कुराहरूले मानवता जीवित छ भन्न कसरी सकिन्छ ? मृत्युपश्चात् कोरोना भएको पुष्टि हुनु, अनि अन्त्येष्टि गर्ने विषयमा असमझदारी हुनु जस्ता कुराले अति क्रुरुर अमानवीयतालाई दर्साइरहेको छ होइन र ? हामी साँच्चै कस्तो समाज र सभ्यता निर्माण गरिरहेका छौँ ?
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले १३ मार्चमा आधिकारिक रूपमा महामारीको घोषणा गरेपछि नै हजारौँ कार्यक्रमहरू रद्द गरिएका छन् । स्कुल, रेस्टुरेन्ट, बार र क्लबहरू बन्द गरिएका छन् र ट्रान्जिट प्रणालीहरू सबै ठप्प छन् । यो सूक्ष्म भाइरसले अज्ञात रूपले विश्व अर्थतन्त्र नै ध्वस्त परिदिएको छ । अनिकाल, युद्ध, प्राकृतिक प्रकोप वा रोग प्रकोप सबै खालका विषम परिस्थितिहरू पुरुषको तुलनामा महिला बढी जोखिममा हुने गरेका छन् । यसर्थ महिलाहरूको विशेष सुरक्षा तर्फ सरकारी संयन्त्र र सामाजिक व्यवस्था क्रियाशील रहनु अहिलेको आवश्यकता हो ।
जोर बिजोर गरेर बन्दाबन्दी खुकुलो पार्दा नै अहिले भिडभाड बढ्दो छ जसले सङ्क्रमितको सङ्ख्या पनि बढी नै रहेको छ । हामीकहाँ एउटा समस्या नसकिँदै अर्को समस्या थपिइरहेका छन् । गाँडमाथि पिलो भने झैँ कोरोनाको सङ्क्रमणमाथि कृषिमा निर्भर नेपालले सलह समेतको सामना गर्नुपरेको छ । एकै पटक, कोरोनाको कहर, सलहको लहर अनि अत्यधिक बर्षात को कारण बाढीको वितण्डा नेपालीको नियति बनिरहेको छ । दिनहुँ बाढीमा बगिरहेको र पहिरो मा पुरिइरहेका सङ्ख्या गनेर बस्न बाध्य छौँ । स्थिति सामान्य मानिसले सोचेभन्दा कठिन अत्यन्त संवेदनशील बन्दैछ ।
सर्वत्र भाइरसलाई नियन्त्रण गर्न सकेका खुबी भएका दक्षिण कोरिया र जापानको बाटो लाई नै अवलम्बन गर्न अन्य देशलाई पनि आग्रह गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले नै हामी महामारी अन्त्यबाट धेरै पर छौँ भनिरहँदा, अब के हुन्छ ? स्वास्थ्य प्रणाली अस्तव्यस्त, अर्थव्यवस्थामा आएको गिरावट, भोकमरीले हुनसक्ने जोखिम, बढ्दो चिन्ता तनाव र यसबाट उत्पन्न समस्याबाट आत्महत्याको जस्तो बाटो लिने क्रम नरोकिने अवस्था छ । एकतर्फ यस्तो अवस्था छ भने अर्को तर्फ क्वारेनटाइनमा भइरहेका असुरक्षित व्यवहार तथा अव्यवस्थित क्वारेनटाइनमा ज्यान गुमाइरहेका राजु सदाहरूको स्थितिले नेपाली समाजलाई झनै चिन्ताजनक अवस्थामा पुर्याउँदैछ ।
यस जटिल परिस्थितिमा जुध्न हामीले समुचित उपायहरू अवलम्बन गर्न जरुरी छ । घरबाटै गर्न सकिने काम छन् भने सकेसम्म बाहिर ननिस्कौं। निस्कनै परे पूर्ण सावधानीका साथ निस्कौँ । व्यक्तिगत सर सफाइको ख्याल गरौँ । साबुन पानीले हात धुने र बाहिर घुमेर आएका लुगा समेत साबुन वा डिटेर्जेण्टले धुने गरौँ । यी सामान्य कुरा हुन् तर यस्ता कुरामा हेलचक्राईं गर्दा जीवन असमयमै गुम्न पनि सक्दछ ।
यस्तो बेला भिड्भाड्मा जाँदा विशेष सावधानी अपनाउनै पर्ने हुन्छ । नेपालीमा एउटा भनाई छ ‘हुलमुलमा जिऊ जोगाउनू, अनिकालमा बिउ जोगाउनू’ भनेर त्यसै भनेको होइन होला । अहिले को समयको प्राथमिकता भनेको म र मेरो परिवारको समय हो भन्ने बुझ्नु अत्यन्त जरुरी छ ।
यसको अर्थ स्वार्थी हुनु भनेको पटक्कै होइन । आफू सतर्क रहेर स्वयं आफू र समग्र समाजको कल्याण हुन्छ भने त्यो ठुलो त्याग हो, निःस्वार्थ सेवा हो । जीवन रहे पो जगत् रहन्छ । बाँची रहे पो फेरी फेरी नाच्न पाइन्छ । अहिलेको अवस्था भनेको प्रमुखता ज्यान जोगाउने बखत हो । भिडभाड गरी भोजभतेरमा रमाउने, रेस्टुरेन्टमा साथीभाइ नाच्दै भोज खाने समय यो होइन। आफ्नो र अरूका लागि समेत होस गरौँ, सतर्क रहौँ, आफूलाई पनि सुरक्षित राखौँ, अरूको जीवन पनि जोगाऔँ । 'जीवन्नरो भद्रशतानि पश्येत्' अर्थात् बाँचेर नै मानिसले भविष्यसम्म सयौँ राम्रा कुरा देख्न पाउँछ ।