लोकसंवाद संवाददाता | समाचार | साउन ०१, २०७७
जति बेला पश्चिम नेपालको जाजरकोट रुकुम पश्चिमको चौरजहराीमा नवराज विक र सुष्मा मल्ल बिचमा प्रेम विवाह प्रकरणले नेपालमा जातीय छुवाछुतको कुरूप स्पष्ट स्केच देखिँदै थियो त्यसको अर्को रूप अमेरिकास्थित मिनेसोटा राज्यको मिनियापलिसमा अफ्रिकी–अमेरिकी जर्ज फ्लोयडले प्रहरी नियन्त्रणमा ज्यान गुमाउँदा रङ्गभेदको अर्को कुरूप तस्बिर विश्वव्यापी रूपमै प्रचारित र प्रसारित भइरहेको थियो ।
अमेरिका र नेपालको घटना विल्कुल फरक छन् । अमेरिकामा प्रहरीले नियन्त्रणमा लिएपछि जर्ज फ्लोयडकाे ज्यान लिएको थियो भने नेपालमा अन्तरजातीय प्रेम विवाह हुन नदिन गाउँले र आफन्तहरूले नवराज विक र उनका साथीहरूलाई लखेटी-लखेटी भेरी नदीमा हेलिन बाध्य पारिएको थियो । अमेरिकी सञ्चार माध्यमका अनुसार फ्लोयड एक सुपर मार्केटमा चुरोट किन्ने क्रममा नक्कली नोट प्रयोग गरेको र त्यसको खबर भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस क्रममा गोरा (ककेजिन) समुदायका प्रहरी अधिकृतले घाँटीमा धेरै बेरसम्म घुँडाले थिचेर उनको हत्या गरेका थिए । त्यसबिच उनले ‘आई क्यान्ट ब्रिद’ (म सास फेर्न सक्दिनँ) भनिरहेका थिए तर ती अफिसरले उनको बोली सुनेन उनी मारिएको भिडियो क्लिप बाहिर मात्र सामाजिक सञ्जालमा भाइरल नै बन्न पुग्यो । जसले गर्दा विश्वमा मानवअधिकार र लोकतन्त्रको पक्षमा धेरै वकालत गर्ने मुलुक अमेरिकामा समेत रङ्गभेद अझै कायम प्रमाणित गरेर नै देखाउने काम गर्यो । सो घट्नापछि अमेरिकी प्रहरी अधिकारीहरूले जनता समक्ष घुँडा टेकेर माफी माग्नु पर्ने अवस्था सृजना भयो । यस्तो अवस्था अमेरिकामा मात्र होइन संसारमा नै विरलै मात्र हुने गर्छ ।
छिमेकी मूलक भारतमा पनि यस्ता विभेदकारी धेरै घटनाहरू हुने गरेका छन् । प्रहरी प्रशासन र कानुनी कारबाही कारण केही निरुत्साहित भए पनि विहार पश्चिम बङ्गालमा विभेदकारी घट्नाहरु हुने गरेको भारतीय समाचार माध्यमहरूले प्रकाशन र प्रसारण गर्दै तथ्यलाई बाहिर ल्याएका छन् । भारतमा विभेद झेल्न नसकी कतिपय दलितले आत्महत्यासमेत गर्ने गरेको समाचार माध्यमहरूमा स्थान पाउने गरेका छन् । केही वर्ष अघि भारतका दलित विद्यार्थी रोहित बेमुलाले आफूमाथि भएको जातीय विभेद खप्न नसकी आत्महत्या गरेको समाचारले दक्षिण एसियाली मुलुककै ध्यान खिचेको थियो । बङ्गलादेशमा पनि भारतभन्दा कम छैन त्यहाँ विभेदकै कारण आत्महत्याको दर बढेको पाइन्छ ।
आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक दृष्टिकोणबाट समग्र दक्षिण एसियाकै दलित समस्यालाई हेर्ने हो भने पनि नेपालमा छुवाछुत र जातीय विभेद अन्त्यका लागि भाषण र आश्वासनले पुऊला र ? पुग्दैन भन्ने नवराज विक र सुष्मा मल्लबिचको प्रेम सम्बन्धले निम्त्याएको परिणतिलाई हेरे पुग्छ ।
पश्चिम रुकुममा भएको अन्तरजातीय विभेदकारी घट्नाको सर्वत्र निन्दा मात्रै भएको छैन, यसले हाम्रो समाज र व्यक्तिका जीवनमा र दिमागमा समेत छुवाछुत जस्तो विषयले कति जरो गाडेको रहेछ भन्ने देखाएको छ । त्यस घट्नापछि बनेको विभिन्न आयोग बाहिर ल्याएको प्रतिवेदन अनुसार २०७५ सालदेखि नै नवराज सुषमाबिच प्रेम सम्बन्ध रहेको तथ्य सबैले स्वीकार गरेका छन् । (प्रहरीको प्रतिवेदन भने सार्वजनिक हुन बाँकी छ) सुष्मा आफै नवराजको घरमा गएको बसेको समेत तथ्यहरू हुँदा हुँदै बाबु आमाले दलित समुदायसँग नाता गाँस्न नचाहेको स्पष्ट भइसकेको छ । त्यसैको परिणाम सुषमालाई लिन नवराज दलबलसहित चौरजहारीस्थित सुष्माको घर गएको र त्यो थाह पाएर सुष्माको बाबुआमाले गाउँलेको साथ लिएर उनीहरूलाई लखेटेको देखिन्छ । यसमा दुवै पक्षले जित्न खोज्दा नवराज लगायतका छ जना युवाहरूको ज्यान गएको स्पष्ट भइसकेको छ
नवराजले थुप्रै पदकहरू जितेका त्यस क्षेत्रमा चर्चित खेलाडी सुष्माको मात्र होइन, स्थानीय युवाहरूको माझ लोकप्रिय थिए भन्ने कुरा धेरै तथ्यहरूले पुष्टि गरिरहेको छ ।नवराज र सुष्माकोबिच प्रेम झाँगिँदै गर्दा एक—अर्काको घरमा नवराज र सुष्मा दुवैको आउजाउ बाक्लै भएको देखिन्छ । २०७६ पुसमा जाजरकोटको खलङ्गामा मेला लागेको बेला सुष्मा रानागाउँस्थित नवराजको घरमा चार दिनसम्म बसेको प्रतिवेदनहरूले उल्लेख छन् । त्यही महिना अर्को पटक पनि उनी ३ दिन नवराजको घरमा बसेको देखिन्छ । नवराज पनि पटक पटक जाजरकोट, सोतीस्थित सुष्माको घरमा गएका र दुवैतर्फको परिवार यो प्रेम सम्बन्धका बारेमा जानकार रहेको तथ्यहरूले पुष्टि गर्दछ । सुष्माका भाइ लक्ष्मण मल्ल पनि २०७७ वैशाखमा नवराजको घर गएर ८ दिनसम्म बसेका जस्ता कुराले उनीहरूबिच सम्बन्ध पारिवारिक रुपमा नै नजिक भएको विषयलाई उजागर गरेको छ ।
नवराज र सुषमाबिचको प्रेम सम्बन्धबारे थाहा पाएपछि नवराजका बुबा मुनलाल नेपालीले राष्ट्रिय सभामा जाजरकोटबाट प्रतिनिधित्व गर्ने सांसद भैरव सुन्दर श्रेष्ठ र जाजरकोटकै कुशे गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष तथा दलित अधिकारकर्मी गोपाल नेपालीसँग आफ्नो छोराको अन्तरजातीय प्रेम सम्बन्धको निकासबारे सल्लाह समेत मागेका पाइन्छ । यसबाट अन्तरजातीय प्रेमका कारण समस्या हुने हो कि भन्ने उनको चिन्ता थियो भन्ने सकिने आधार पर्याप्त दिन्छ ।
अन्तरजातीय प्रेमकै कारण कुनै समस्या नपर्ने तर उमेर पुगेपछि मात्र बिहे गर्न उनीहरूले सुझाव दिएको वडाध्यक्ष नेपाली दिएको थिए । अन्ततः यो घटना हुनुको मुख्य कारण नवराज दलित समुदायकै भएका कारण सुष्माको परिवारले उक्त प्रेम सम्बन्धलाई अस्वीकार गरेको र अन्तरजातीय प्रेम सम्बन्धलाई सुष्मा मल्लको परिवारले विवाहमा परिणत हुन नदिनका लागि गरेको बलजफतीकै कारण यो घटना भएको स्पष्ट भइसकेको छैन । संसद् अबुरुद्ध नै गरेर बनाइएको संसदीय समितिले समेत उपरोक्त घट्नालाई अन्तरजातीय विभेदका कारण नै भएको भन्दै सङ्घीय सांसदका सभामुख समक्ष एक प्रतिवेदन दिइसकेको छ । अन्य आयोगहरू जस्तै यो समितिले पनि तिनै निष्कर्ष दिँदै अर्को प्रतिवेदनको ठेली भने थपिएको छ ।
सो घट्नामा संलग्न रहेको आरोपमा प्रहरीले ३४ जनालाई पक्राउ गरेकोमा २६ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । यसले गर्दा मुलुकमा कानुनी राज्य छ भन्ने त देखायो तर मानिसको मस्तिष्कबाट छुवाछुत र जातीय विभेदलाई भने अझै हटाउन सकेको छैन भन्ने आभास पनि त्यति नै गराएको छ ।
विगत देखिनै मुलुकी ऐन २०२० ले जातीय भेदभावलाई दण्डनीय मानेको थियो र मानिरहेको छ । नेपालको नयाँ संविधान २०७२ को धारा ४० मा मौलिक हक भनी दलितको हक र जातीय छुवाछुत र भेदभावविरुद्धको हकलाई धारा २४ मा लिपिबद्ध गरिएको छ ।
हाम्रो संविधानले राष्ट्रिय दलित आयोगलाई संवैधानिक अङ्ग बनाएको छ । जातीय भेदभाव तथा छुवाछुत ऐन २०६८ ले कुनै पनि प्रथा, परम्परा, धर्म संस्कृति, रीतिरिवाज या अन्य कुनै नाममा जातजाति, वंश समुदाय वा पेसाका आधारमा कुनै स्थानमा गरिने छुवाछुत, बहिष्कार, प्रतिबन्ध, निष्कासन, अवहेलना वा त्यस्तै अन्य मानवता विरोधी भेदभावजन्य कार्यलाई दण्डनीय मानेर जरिवाना कैद या दुवै सजायको व्यवस्था गरेको भए पनि मानिसको मस्तिष्कबाट यो नहट्दा सम्म समाजमा कहीँ कहीँ यसले दुर्घटना निम्त्याउने सम्भावनाहरू कायमै राखेको छ ।
आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक दृष्टिकोणबाट समग्र दक्षिण एसियाकै दलित समस्यालाई हेर्ने हो भने पनि नेपालमा छुवाछुत र जातीय विभेद अन्त्यका लागि भाषण र आश्वासनले पुऊला र ? पुग्दैन भन्ने नवराज विक र सुष्मा मल्लबिचको प्रेम सम्बन्धले निम्त्याएको परिणतिलाई हेरे पुग्छ ।