लोकसंवाद संवाददाता | समाचार | साउन ०१, २०७७
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनयता आएको बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै पिडीतलाई सान्त्वना दिनुभएको छ । गत असार २९ गते सोमबार आएको बाढीपहिरोले लमजुङको मध्यनेपाल नगरपालिकाका विभिन्न स्थानमा पुर्याएको क्षतिको बुधबार दिउँसोदेखि साँझसम्म स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री गुरुङले पिडीतलाई सान्त्वना दिनुभयो ।
सो बाढी तथा पहिरोले नगरपालिका वडा नं ६ रानीपानीगाउँका ३१, लामासोतीका २७, रातामाटेका २१, भदौरेका ११, गुम्बाबेँसीका नौ घरपरिवार विस्थापित भएका छन् । त्यस्तै सोही नगरपालिका वडा नं ३ सूर्यपालका पाँच, वडा नं २ प्रजालुटारका तीन, वडा नं ४ चर्दीका एक र वडा नं १ खवासगाउँका एक घरपरिवार विस्थापित भएका छन् । सिमपानी, रानीपानी र काउरेका स्थानीयवासीलाई सो नगरपालिकाको वडा नं ६ भोर्लेटारको इशानेश्वर माध्यमिक विद्यालयमा राखिएको छ । त्यस्तै कसैलाई आफन्तको घर र कसैलाई कतै सुरक्षित स्थानमा राखिएको छ ।
यी सबै क्षत्रको स्थलगत निरीक्षण तथा पीडितहरुलाई भेट्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, 'दुःखमा हुनुहन्छ तपाईँहरु, तपाईँसँगै दुःखमा हामी सबै छौँ, प्रदेश सरकारले आवश्यक सहयोग गर्छ ।' मुख्यमन्त्री गुरुङले आवश्यक प्रक्रिया मिलाएर अघि बढ्न नगरपालिका, वडा कार्यालयलगायत सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । उहाँले पहिरोपिडीतलाई भन्नुभयो, 'जनतालाई समस्या भएको बेला सरकार हेरेर बस्दैन, घरजग्गा नभएकालाई बस्ने व्यवस्था तथा अन्य समस्या भएकाहरुको लागि समेत सरकारले सहयोग गर्नेछ ।' त्यस्तै प्रदेशका विभिन्न जिल्लामा समेत बाढीपहिरोले क्षति बनाएको यी सबैको व्यवस्था गर्नका लागि दुई महिना समय लाग्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।
सरकारी मापदण्ड नहुँदा बाढीपहिरोले गाउँगाउँका घरहरुमा बढी क्षति बनाएकाले दिगोरूपमा हुने गरी मापदण्डअनुसार घरहरु तथा बस्ती बसालेमा बाढीपहिरोको जोखिम न्यूनीकरण हुने मुख्यमन्त्री गुरुङको भनाइ छ । त्यस्तै उहाँले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण र बाढीपहिरो पीडितलाई राहत तथा पुनःस्थापना तदरुकताका साथ गर्नलाई कार्यालय प्रमुखलाई निर्देशनसमेत दिनुभएको छ ।