लोकसंवाद संवाददाता | विदेश | साउन ०१, २०७७
एजेन्सी । कोरोनाभाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ । देशव्यापी रुपमा लकडाउनका कडा नियमहरु लागू गरेका कारण चीनको अर्थतन्त्रमा अघिल्लो तीन महिनामा व्यापक संकुचन आएको थियो ।
कोरोनाभाइरसको अनपेक्षित रुपमा चाँडो नियन्त्रण गर्न सफल भएको विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको पछिल्ला तीन महिनामा अर्थतन्त्रमा व्यापक सुधार आएको अधिकारीहरुले बताएका छन् ।
चिनियाँ अर्थतन्त्रमा आएको सुधारले लकडाउनका कडा नियम लागू गरेका कारण आर्थिक मन्दीतर्फ अग्रसर कैयौं मुलुकलाई अनुकरणीय हुने देखिएको छ ।
चिनियाँ राष्ट्रिय तथ्याँक ब्यूरोले बिहीबार सार्वजनिक गरेको विवरणमा गत अप्रिल–जुन महिनाको अवधिमा कूल गार्हस्थ्य उत्पादन ३।२ प्रतिशतले वृद्धि भएको उल्लेख छ । पहिलो चौमासिक अवधिमा चीनको अर्थतन्त्रमा करिब ६।८ प्रतिशतको व्यापक गिरावट आएको थियो ।
तर अर्थतन्त्रको पूर्ण पुनरुत्थानका लागि भने केही समय लाग्नेछ । चिनियाँ खुद्रा बिक्रीमा भने पूर्वानुमानको तुलनामा केही घटेको छ । अघिल्लो वर्ष जुन महिनाको तुलनामा यस वर्ष खुद्रा बिक्रीमा १।८ प्रतिशतले कमी आएको छ ।
यसको अर्थ चीनमा कोरोनाभाइरस नियन्त्रणमा आएको देखिए पनि मानिसहरु बजारमा गएर सामान किन्न अझै हिच्किचाइरहेका छन् ।
ब्यूरोले नयाँ विवरण सार्वजनिक गरे पनि एसियाली शेयर बजारमा खुशी ल्याउन भने सकेन । शाङ्घाई र हङकङको शेयर बजार बिहीबार मध्याह्नसम्ममा झण्डै १ प्रतिशतले घटेको छ ।
एक्सीकर्पका रणनीतिकार स्टिफेन इन्सले मानिसमा आत्मविश्वास र उत्साह नआउँदासम्म उनीहरु बजारमा गएर सामान किन्छन् भन्न नसकिने बताउनुभयो ।
चीनको अर्थतन्त्रमा खुद्रा क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको छ । चिनियाँ नेताहरुले पनि अर्थतन्त्रलाई गति दिन व्यापार र लगानीभन्दा खुद्रा क्षेत्रका परिसूचकलाई नियाल्ने गरेका छन् ।