लोकसंवाद संवाददाता | समाचार | साउन ०२, २०७७
सुर्खेत । कर्णालीका लागि साउने (कर्कट) संक्रान्ति मात्र होइन, देउडा पर्वको विशेष दिन पनि हो । यसका लागि कर्णाली प्रदेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा गरेको छ । सरकारले पहिलोपटक आधिकारिकरुपमा सार्वजनिक बिदा दिएको देउडाको पर्वको विशेष दिन भने सुनसान बन्यो ।
कोरोना महामारी कारण भाषा र संस्कृतिको मुख्य थलो जुम्लामा तीन दिनदेखि निषेधाज्ञा जारी छ । त्यस्तै, दैलेखमा पनि कोभिड–१९ का कारण देउडा पर्व मनाइएन । सुर्खेतमा पनि देउडाका कुनै क्रियाकलाप हुन सकेनन् । कोरोना कहरले कर्णाली र सुदूरपश्चिम दुवै प्रदेशका नागरिकको यसपालि देउडा खेल्ने रहर अधुरो बन्यो ।
साउन १ गते यसलाई भव्य तवरले मनाइने दिनका रुपमा आधिकारिक घोषणा गरिए पनि हरेक महिनाको १ र १५ गते पछिल्लो राजधानी वीरेन्द्रनगर सुर्खेतमा स्वतः मेला लाग्ने गर्दछ । यसका लागि न विज्ञापन गर्नुपर्दछ नत कुनै आधिकारिक सूचना नै । देउडा पारखी आफूखुशी आउँछन् र विभिन्न समूह बनाई गोलो लाइनमा उभिएर खेल शुरु गर्छन् ।
यस्तो विशेष महत्वको दिनमा देउडा खेल्न र हेर्न नपाइएको यहाँका स्थानीय महिला विर्षदेवी हमालले बताउनुभयो । 'देउडा हाम्रो संस्कृतिमात्र होइन', हमालले भन्नुभयो, 'यो हाम्रो पहिचान र मनोरञ्जन लिने मुख्य माध्यम पनि हो ।' कोरोना भाइरसको कारण लामो समयदेखि देउडा खेलको रमाइलो लिन नपाइएको उहाँको भनाइ थियो ।
साविकको कर्णालीमा मेला मालिकादेखि नयाँ घर निर्माण सम्पन्न गर्दा, व्रतबन्ध, विवाहवारी, न्वारन, छैटी, विभिन्न स्थानीय चाडपर्वको केन्द्रबिन्दुमा यो खेल हुन्छ । तरुणदेखि वृद्धले उमेर, समाज र परिवेश विशेषका गीत विभिन्न शैलीमा गाउँदै उनीहरुले आफ्नो क्षमता र पहिचान दुवै देखाउने गर्दछन् । देउडा खेलमा लाग्न कोही कसैलाई रोकछेक हुँदैन । पुरुष/पुरुष, महिला/महिला वा महिला पुरुष जस्तोसुकै समूह बनाएर खेलिने देउडा दुःख, पीडा, खुशी, व्यग्य, आलोचना, तर्क, भावना व्यक्त गर्ने माध्यमयुक्त थलो हो । जसले विकास, राजनीति, अर्थ, धर्म, संस्कृति, समाजको वास्तविक चरित्र र विशेषताका बारेमा समेत स्पष्ट बयान गर्दछ ।
यद्यपि देउडामा प्रस्तुत सबैखाले क्रियाकलापले दिने मूल सन्देश भनेकै सुसंस्कृत समाज तथा नैतिकवान चरित्र निर्माण र मनोरञ्जन आदानप्रदान हो । त्यसको अलावा यसले समाजमा भएका विकृति, अनियमिता, शोषण, राजनीतिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक अभ्यास र त्यसले पारेको प्रभावका बारेमा पनि सुसूचित गराउँदै आएको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले जानकारी दिनुभयो ।