लोकसंवाद संवाददाता | समाचार | साउन ०२, २०७७
काठमाडाैं । नेपाली काँग्रेस केन्द्रीय उपसभापति एवं पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानका तीन सदस्यलाई निर्देशकमा नियुक्त गर्नुभएको छ ।
काँग्रेसको विधानबमोजिम नीति निर्देशकमा डा जगदीशचन्द्र पोख्रेल (तनहुँ), अनुसन्धान निर्देशकमा डा सूर्य ढुङ्गेल (महोत्तरी) र प्रशिक्षण निर्देशकमा खिलानाथ दाहाल (ओखलढुङ्गा) लाई आज नियुक्त गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालले जानकारी दिनुभयो ।
यसअघि युवा प्रशिक्षण कार्यक्रम संयोजकमा रञ्जित कर्ण ९सप्तरी० लाई मनोनयन गरिएको थियो । उहाँहरु प्रतिष्ठानका केन्द्रीय सदस्य हुनुहुन्छ । निर्देशक तथा संयोजकले प्रतिष्ठान प्रमुख र कार्यकारी निर्देशकसँग समन्वय गरी कार्यक्रम गर्ने प्रतिष्ठानले जनाएको छ ।
यसै सन्दर्भमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि केन्द्रीय विभाग गठन गर्ने र विस्तार गर्ने कार्य भइरहेको जनाई आपत्ति जनाउनुभएको छ । उहाँहरुले बिहीबार काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजकलाई एक पत्रमार्फत आचारसंहिताविपरीत भएका कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशय समेतबाट प्रेरित रहेको भनी उक्त कार्य तत्काल रोक्न र बदर गर्न/गराउन पार्टी सभापति र निर्वाचन समितिको ध्यानाकर्षण गराउनुभएको थियो ।
काँग्रेसको १३औँ महाधिवेशन सम्पन्न भई चार वर्ष कार्यकालका लागि निर्वाचित कार्यसमितिको कार्यकाल गत फागुनमा समाप्त भएपछि ‘असाधारण परिस्थिति’ भएकाले थपिएको अधिकतम एक वर्षको कार्यकाल पनि पाँच महिनामा प्रवेश गरिसकेको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका दोहोर्याएरसमेत सार्वजनिक भई महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेको उहाँहरुले उल्लेख गर्नुभएको छ ।
'पार्टीको विधानमा ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग/समिति/विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको छ महिनाभित्र गठन गरिसक्नुपर्नेछ', भन्ने बाध्यात्मक व्यवस्था छँदाछँदै र तदअनुसार हामीहरुले यसतर्फ बारम्बार ध्यानाकर्षण गराउँदा गराउँदै विभिन्न विभाग अहिले आएर गठन गर्ने र सदस्य मनोनयन गर्ने कार्य भइरहेकामा हाम्रो आपत्ति छ', पत्रमा उल्लेख छ ।
पार्टीको विधि र पद्धति मिचेर हाल गठन भएका र भइरहेका उक्त विभाग अस्वीकार्य रहेको जानकारी गराउँदै उहाँहरुले महाधिवेशन स्वच्छता र निष्पक्षतालाई ध्यानमा राख्दै विधान एवं निर्वाचन आचारसंहिताविपरीतका मनोनयन र नियुक्तिलाई स्वीकार नगर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता एवं शुभेच्छुकलाई आह्वानसमेत गर्नुभएको छ ।