लोकसंवाद संवाददाता | समाज | साउन ०४, २०७७
गोरखा । गए राति खसेको पहिराका कारण गोरखा– आबुँखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१२ स्थित अबुवा नजीकै माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो । 'सडकदेखि करीब ७०÷८० मिटर माथिदेखि पहिरो खसेको छ', उहाँले भन्नुभयो, 'पहिरोले सडक पूरै पुरिएकाले पूर्ण रुपमा आवातजावत रोकिएको छ ।'
अवरुद्ध सडक खुलाउन डोजरको सहायताले पहिरो हटाउने काम शुरु भइसकेको प्रमुख ढकालको भनाइ छ । केही दिनदेखि लगातार परेको ठूलो वर्षाका कारण नजीकै रहेको इँटाभट्टा छेवैमा रहेको खोल्सीबाट पहिरो सडकमा खसेको हो ।
'अहिले छिटो पहिरो हटाउन दुवैतर्फबाट सफा गर्ने काम भइरहेको छ', प्रमुख ढकालले भन्नुभयो, 'आँबुखैरनीतर्फबाट सडक डिभिजन कार्यालयको मेसिनले काम शुरु गरेको छ भने गोरखा सदरमुकामपट्टिको खण्डबाट पनि अर्को मेसिन लगाएर पहिरो हटाउने प्रयास भइरहेको छ ।' ठूलो पहिरो खसेकाले हटाउन करीब तीनदेखि चार घण्टासम्म समय लाग्ने जनाइएको छ ।