लोकसंवाद संवाददाता | समाचार | साउन ०४, २०७७
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक शक्ति सङ्घर्ष चुलिँदै गएका बेला स्थायी कमिटी बैठक पटक पटक सरी रहेको छ । पार्टी एकीकरणको दुई वर्ष र सरकार सञ्चालनको अढाई वर्षमा विकसित घटनाक्रमले नेताहरूबिचको शक्ति सङ्घर्ष देखिने गरी सतहमा आएपछि बैठक आयोजना गरिएको थियो । नेकपा भित्र न कम्युनिस्ट भाइचारा देखिन्छ न हार्दिकता ! असार १० गतेबाट सुरु भएको बैठक १८ गते आएर स्थगित भएको अहिले १६ दिन भयो । सहमति खोज्ने नाममा पटक पटक सार्ने क्रममा पुन साउन ६ गतेसम्म सारिएको छ ।
यसबिचमा विवाद मिल्ने सम्भावना देखिएन एकले अर्को पक्षलाई गलाउने रणनीतिमा मात्रै देखिँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गलाउने र दाहालले ओलीलाई गलाउने रणनीतिबाट दुवै पक्ष टस न मसको अवस्थामा २०७७ साल साउन ४ गते आइतबारसम्म भएपछि स्थायी कमिटी बैठक दुई दिनको लागि सारिएको छ ।
पार्टी एकता भएको दुई वर्ष बित्दा पनि एकीकरण प्रक्रिया राम्रोसँग टुङ्गोमा पुगेको छैन । आन्तरिक विवाद तीव्र बन्नुमा पार्टी नेता कार्यकर्ता राम्रोसँग घुलनशील नहुँदै विभाजनको सँघारमा आइपुगेको आभास नेताहरूले दिइरहेका छन् । आन्तरिक विवाद सुल्झाएर जानेभन्दा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू अनुकूल निर्णय लिँदै अघि बढेपछि अर्का अध्यक्ष दाहालले जारी स्थायी कमिटी बैठक पार्टी विभाजनको प्लेटफर्म बन्न सक्ने भन्दै हदैसम्मको लचकता बन्ने अभिव्यक्ति दिंदादिंदै पनि सहमति हुन सकिरहेको छैन ।
ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने भन्ने दबाबले दाहाललाई फाइदा पुग्ने भएकाले बेलाबखत मौन बस्दै आउनु भएको छ । तर ओलीलाई फालेर दाहाल प्रधानमन्त्री बनाइयो भने पनि नेपालले दुई मध्ये एक जिम्मेवारी छाड्नु पर्ने अडान अहिलेसम्म कायमै छ । त्यस कारण ओली दाहालले कहीँ न कहीँ दुवै पद कायम राख्ने गरी अहिलेको विवाद सुल्झाउन चाहिरहनु भएको छ । विवाद सुल्झाउने मिलन विन्दुको खोजीमा दोस्रो र तेस्रो तहका नेताहरू लागे पनि अहिलेसम्म त्यो पुस्तालाई हालसम्म सफलता मिलिरहेको छैन ।
प्रधानमन्त्री ओलीले आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन लागेको अभिव्यक्ति दिएपछि पार्टीका शीर्ष नेताहरूले ओलीको राजीनामाको निष्कर्षमा पुगेको दाबी गरिँदै आएको छ । शीर्ष नेताहरूले ओलीले गैर जिम्मेवार अभिव्यक्ति दिएका र नेताहरूलाई भारत परस्तको आरोप लगाएको भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न दबाब बढाएका थिए । तर ओलीले दुवै पद नछाड्ने अडान दोहोर्याइ रहनु भएको छ । यसले पार्टी विभाजनतिर उन्मुख भएको विश्लेषण गरिएको भए पनि नेताहरू फेरी पनि विवाद मिलाउने मिलन विन्दुको खोजीमै एक पछि अर्को गरेर स्थायी कमिटी बैठक सार्ने क्रम जारी छ ।
यति बेला नेकपाभित्र सबैभन्दा प्रस्ट सङ्घर्ष प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिचमा नै देखिएको छ । एकीकरणको बेला दूधको झिँगाजस्तै गरी पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई किनारा लगाउने ओली–दाहालले केही समय मिलीजुली सरकार र पार्टी चलाएता पनि अहिले उनै नेताको व्यवस्थापनको विषय जटिल बनिरहेको छ । तर ओलीको सर्वेसर्वा हुने मोहले अहिले दलभित्रको शक्ति सन्तुलन बिग्रिएको निष्कर्ष निकाल्ने गरिएको छ । यति बेला दाहालले सुरुदेखि नै असन्तुष्ट रहेका वरिष्ठ नेता नेपालसहित अन्य शीर्ष नेताको साथ लिएर ओलीलाई टक्कर दिने काम भइरहेका छ ।
ओलीको पार्टी सञ्चालन शैली, सरकार सञ्चालन प्रक्रिया र शीर्ष नेतालाई बेवास्ता गर्ने प्रवृत्तिलाई शक्ति सङ्घर्षको कारण मानिएको छ । पार्टीभित्र माधव नेपाल समूहलाई बेवास्ता गर्दै दाहाल–ओली मिल्नु, दाहाललाई ‘साइज’मा ल्याउन उपाध्यक्ष वामदेव गौतमलगायत नेतालाई पटक पटक उपयोग गरिनुजस्ता कारणले पार्टीभित्र आन्तरिक कलह विस्फोटको अवस्थामा पुगेको हो ।
ओलीको कार्यशैलीबाट पार्टीका शीर्ष नेताहरू दाहाल, नेपाल, झलनाथ , गौतम, नारायणकाजी श्रेष्ठसमेत असन्तुष्ट बनेपछि दाहालका लागि सत्तारोहरण सहज हुने ठानिएको थियो तर त्यो अहिले झन् कठिन साबित हुँदै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा पार्टीका पहिलो अध्यक्षका तर्फबाट ओलीले मन्तव्य राख्दै गर्दा अन्य नेता प्रतिवाद गर्ने तहसम्म पुग्नुलाई पार्टीभित्र शीर्ष नेताहरूबिच व्यक्तिगत रिस, तुष र इश्र्या रहेको सबैतिर झल्किएको विषय हो । पार्टीभित्रबाट आफूलाई असहयोग हुँदा बाहिरका शक्ति पनि चलमलाएको ओली अभिव्यक्तिले नेकपाभित्र शक्ति सन्तुलन धरमराएको स्पष्ट हुन्छ । त्यति बेला अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले प्रतिवाद समेत गर्नुपर्ने अवस्था सृजना भयो । जुन निकै चर्चाको विषय समेत बन्न पुग्यो ।
एकीकरणकै बेला नेपाल पक्षलाई पेल्न ओलीले दाहालसँग समन्वय गर्नु र नेपाललाई थाहै नदिई प्रधानमन्त्रीको कार्यकाल आधा–आधा बाँड्ने, प्रधानमन्त्री पूरा समय चलाउन दिएबापत कार्यकारी अधिकार दाहाललाई दिएर मिलाउने र ती निर्णय कार्यान्वयन नहुने अवस्था आएपछि दाहालले पार्टी एकीकरण गलत थियो कि भन्ने निष्कर्षमा पुग्नुले पार्टीभित्र ओली एकलौटी हाबी भएपछि दहाल किनारामा पारिएका नेपाल समूहसँग साथ माग्ने अवस्थामा पुग्नु भएको थियाे ।
तर दाहालले पनि बेलाबेलामा नेपाललाई धोका दिएर ओलीसँग मिल्ने प्रवृत्तिका कारण चरम अविश्वास र अशंकाकाे वातावरण यद्यपि कायमै देखिन्छ । यसले गर्दा अहिले वरिष्ठ नेता नेपालले पार्टीभित्र सबै नेताको भूमिका समान हुनुपर्ने धारणा राखेपछि अहिले ओली जटिल मोडमा पुग्नु भएको हो । त्यति मात्र होइन माधव नेपाललाई धोका दिएर अब दाहालले ओलीसँग सम्झौता गर्ने अवस्था पनि बनिरहेको छैन । कालान्तरमा पार्टीभित्र ओलीपछि आन्तरिक प्रतिस्पर्धा दाहाल नेपालकै हो भन्ने दुवै नेताले राम्रोसँग बुझेको भए पनि अहिले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने स्वार्थमा दुवै नेताको मन मिलेको मात्र प्रस्ट छ ।
ओली दाहालको स्वार्थ मिलेकै बेलामा पनि नेपाल समूहले भने ‘एक व्यक्ति एक जिम्मेवारी’को विषय कार्यान्वयन गर्ने र सरकार सञ्चालनमा पूर्णतः पार्टीको नियन्त्रण हुनुपर्ने आवाज उठाइराखेको अवस्था छ । अहिले पनि यो आवाज बुलन्द भएका कारण ओली दाहाल दुवै सङ्कटमा परिरहेको छ । माधव नेपालले सुरुदेखि नै यो विषय उठाउँदा ओली र दाहाल पक्ष दुवैलाई मन परिरहेको थिएन।
दोहोरो जिम्मेवारीमा धेरैजसो ओली–दाहालकै नेता भएका कारण उनीहरू दुवै यो पक्षमा छैनन् । ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने भन्ने दबाबले दाहाललाई फाइदा पुग्ने भएकाले बेलाबखत मौन बस्दै आउनु भएको छ । तर ओलीलाई फालेर दाहाल प्रधानमन्त्री बनाइयो भने पनि नेपालले दुई मध्ये एक जिम्मेवारी छाड्नु पर्ने अडान अहिलेसम्म कायमै छ । त्यस कारण ओली दाहालले कहीँ न कहीँ दुवै पद कायम राख्ने गरी अहिलेको विवाद सुल्झाउन चाहिरहनु भएको छ । विवाद सुल्झाउने मिलन विन्दुको खोजीमा दोस्रो र तेस्रो तहका नेताहरू लागे पनि अहिलेसम्म त्यो पुस्तालाई हालसम्म सफलता मिलिरहेको छैन ।