लोकसंवाद संवाददाता | समाचार | साउन ०६, २०७७
काठमाडाैँ । नेपाल प्रहरीको मानव बेचबिखन अनुुसन्धान ब्यूरोले बन्दाबन्दीका समयमा नेपाल तथा भारतका विभिन्न स्थानबाट मानव बेचविखन तथा ओसारपसारमा परेका ४१ जनाको उद्धार गरेको छ ।
ब्यूरोको टोलीले बन्दाबन्दीको समयमा विभिन्न प्रलोभनमा परेर पीडित बनेका ४१ जनालाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको समन्वयनमा उद्धार गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गोविन्द थपलियाले बन्दाबन्दीको समयमा नेपाल तथा भारतका विभिन्न स्थानमा बेचविखनमा परेका नेपाली महिलाको उद्धार गरिएको जानकारी दिनुभयो ।
प्रहरीले भारतको नयाँदिल्लीबाट सात, मनिपुर भारतबाट २१ र नेपालका विभिन्न स्थानबाट १३ महिलाको उद्धार गरेको छ । नेपालको नवलपरासीबाट दुई, कैलालीबाट दुई, सुनसरीबाट दुई, चितवनबाट दुई, कास्कीबाट दुई, मकवानपुरबाट एक, बर्दियाबाट एक र बाँकेबाट एक महिलाको उद्धार गरेको हो । प्रहरीले मानव बेचविखनमा संलग्नलाई मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम अनुसन्धान तथा कारवाही गर्ने जनाएको छ ।