पर्वत भट्टराई | जीवनदर्शन | चैत ०५, २०७५
यौनको पनि दर्शन हुन्छ भन्दा कतिपयलाई विश्वास लाग्दैन होला । कतिपयलाई यो त खाली अश्लील कुरा हो भन्ने लाग्न सक्छ । यसका बारेमा कुरा गर्नु, लेख्नु र चासो राख्नु चरित्रहीनताको परिचायक पनि भनिएला । तर, यस्तो कदापि होइन । यौन एउटा प्राकृतिक र जैविक क्रियाकलाप हो, जसलाई अस्वीकार गरेर जीवन र जगतको परिकल्पना पनि गर्न सकिँदैन । प्राणी र वानस्पतिक जीवनको सृष्टि, बृद्धि र विकास यौनमा नै आधारित हुन्छ । यस ब्रह्माण्डमा जीवन र जगतको आपसी सम्बन्ध रहेको छ । जीवनविनाको जगत र जगत बिनाको जीवनको परिकल्पना अधुरो हुन्छ । यो जगतमा जीवनको आफ्नै महत्व छ र जीवन केवल सृष्टि अडिएको छ । त्यो सृष्टि यौनबाट परिचालित छ । हरेक जीवित वस्तुको वंश बृद्धि र निरन्तरतामा आ–आफ्नै प्रकारको यौन चरित्र विद्यमान छ । पूर्वीय दर्शनले जीवनका चार लक्ष्यहरू (धर्म, अर्थ, काम र मोक्ष)मध्ये काम अर्थात् यौनलाई पनि जीवनको एउटा प्रमुख लक्ष्य मानेको छ । वेद, उपनिषद्, पुराण र अन्य धार्मिक ग्रन्थमा धर्म, अर्थ, काम र मोक्षको व्याख्या गरिएको छ । हिन्दू धर्म संस्कृतिमा काम अर्थात् यौनलाई जीवनको एक अभिन्न अंगको रूपमा स्वीकार गरिएको कुरा यथार्थ हो । यो कुरा प्राचीन सभ्यतादेखि नै चलिआएको भनेर प्रमाणित भइसकेको छ । तर, यौनलाई मात्र शारीरिक सुखको माध्यमका रूपमा बुझ्नु एकदमै गलत हुन्छ । यौनमा अनुशासन, प्रेम, मर्यादा, आदर्श र नैतिकताको त्यतिकै खाँचो हुन्छ । यसका साथै प्रेमबिनाको यौन अर्थहीन हुन्छ ।
यौन भन्नेबित्तिकै मानिसका कान ठाडा, आँखा विस्फारित, शरीर उत्तेजित, मन उद्वेलित र चञ्चल हुन्छ । यही कुरा अन्य प्राणीमा पनि लागू हुन्छ । यसलाई एउटा गलत कार्य र अश्लील मनोवृत्तिका रूपमा पनि बुझ्ने गरिएको छ, जुन सरासर एउटा भुल हो । हामीले यसलाई दृष्टिकोण, शिक्षा, विज्ञान र जीवनशैलीको महत्वपूर्ण पक्ष हो भनेर बुझ्न आवश्यक छ । यौनको समग्र पक्षको ज्ञान र यसको मानवीय, सामाजिक, धार्मिक र प्राकृतिक प्रक्रियाको बारेमा विज्ञान सम्मत दृष्टिकोणलाई स्वीकार गर्नु जायज हुन्छ।
यौनका बारेमा पूर्वीय र पश्चिमा क्षेत्रमा अनेक दर्शन र विचार प्रतिपादन भएका छन् । यस विषयमा ऋषि वात्स्यायन (ईशापूर्व तेस्रो शताब्दी), प्रसिद्ध मनोवैज्ञानिक सिग्मण्ड फ्रायड (सन् १८५६–१९३९, अष्ट्रिया) र ओशो रजनीश लगायत अनेकौं विचारकले प्रशस्त दृष्टिकोण दिएका छन् । तर, यहाँ केवल ऋषि वात्स्यायनको बारेमा मात्र चर्चा गरिएको छ । वात्स्यायनको वास्तविक नाम मल्लनाग थियो । कुनै–कुनै ग्रन्थमा उनलाई पक्षिलस्वामी पनि भनेर उल्लेख गरिएको छ । उनी भारतको विहारमा जन्मेका थिए र उनले जीवनको धेरै समय बनारसमा बिताएका थिए ।
हामी सबैलाई थाहा भएकै कुरा हो कि संसारमा सबैभन्दा बढी चासो र चर्चाको विषय यौन हो । साथै सबैभन्दा धेरै बिक्री हुने पुस्तक पनि यौन विषयका हुने गरेका छन् । ऋषि वात्सायन यौन सम्बन्धी पहिलो पुस्तक ‘कामसूत्र’का रचयिता थिए । उनी आजीवन ब्रह्मचारी भए पनि यौनका बारेमा उनलाई सबै जानकारी थियो । वेदका ज्ञाता रहेका उनले भारतको बनारसमा धेरै लामो समय बिताएका थिए । उनले नै सर्वप्रथम नारी र पुरुषका बीचमा किन आकर्षण हुन्छ र यसको विज्ञान के हो भनेर धर्म सम्मत कुरा सबैका सामु ल्याएका थिए । उनले बनारस र अन्य क्षेत्रका वेश्यालयमा गई उनीहरूको क्रियाकलाप र वार्तालापको अवलोकन गरेर ‘कामसूत्र’ ग्रन्थको रचना गरेका थिए । प्रख्यात लेखिका वेंडी डोनिगरले आफ्नो पुस्तक ‘रिडिमिङ द कामसूत्र’मा वात्सयायनको बारेमा सविस्तार व्याख्या गरेकी छन् । कामसूत्रलाई असल जीवन बाँच्ने कलाको रूपमा पनि हेर्न सकिन्छ भनेर धेरै लेखकले आफ्नो निष्कर्ष दिएका छन् ।
उनले यौनका विषयमा खुलेर चर्चा हुनु पर्ने र यसलाई गोप्य तथा अश्लील कार्यको रूपमा लिन नहुने तर्क गरेका छन् । आफ्नो पुस्तक कामसूत्रमा यौनको महत्व, आवश्यकता र सही गतिविधिहरूको बृहत् चर्चा गरेका छन् । उनी केवल लेखकमात्र थिएनन्, दार्शनिक पनि थिए । उनले अनेक ग्रन्थहरुको रचना समेत गरेका थिए । न्याय भाष्यसूत्र नामक पुस्तक उनले नै लेखेका थिए । प्राचीन भारतीय दर्शनमा उनलाई दार्शनिक र साहित्यकार पनि मानिएको छ ।
उनले आफ्नो पुस्तक कामसूत्रमा मानिसको विपरित लिंगिप्रतिको आकर्षण, प्रेम र यौनको बृहत् व्याख्या, विश्लेषण र विवेचना गर्दै मनो–शारीरिक सम्बन्ध के हो भनेर उल्लेख गरेका छन् ।साथै यौनको ब्यवहारिक प्रयोगका बारेमा समेत उल्लेख गरेका छन् । उनले रचना गरेको पुस्तक ‘कामसूत्र’ विश्वभरिका प्रायः सबै भाषामा अनुवाद भइसकेको छ । उनको पुस्तक आजसम्म पनि चर्चाको शिखरमा रहेको छ । आफ्नो कृतिको बारेमा वात्सायनले भनेका थिए, ‘सम्पूर्ण प्राणीको जीवनलाई नियमित बनाउन ब्रह्माले कामसूत्रको आज्ञा दिएका थिए ।’ त्यसै अनुरूप उनले कामसूत्रको रचना गरी यौन क्रियाकलापमा स्पर्श, गन्ध, चुम्बन, हास्य, आवाज, नजर र प्रेमको प्रमुख भूमिका रहन्छ भनेका छन् ।
यौन भन्नेबित्तिकै मानिसका कान ठाडा, आँखा विस्फारित, शरीर उत्तेजित, मन उद्वेलित र चञ्चल हुन्छ । यही कुरा अन्य प्राणीमा पनि लागू हुन्छ । यसलाई एउटा गलत कार्य र अश्लील मनोवृत्तिका रूपमा पनि बुझ्ने गरिएको छ, जुन सरासर एउटा भुल हो । हामीले यसलाई दृष्टिकोण, शिक्षा, विज्ञान र जीवनशैलीको महत्वपूर्ण पक्ष हो भनेर बुझ्न आवश्यक छ । यौनको समग्र पक्षको ज्ञान र यसको मानवीय, सामाजिक, धार्मिक र प्राकृतिक प्रक्रियाको बारेमा विज्ञान सम्मत दृष्टिकोणलाई स्वीकार गर्नु जायज हुन्छ । यौनसम्बन्धी वात्स्यायनको दृष्टिकोण हिजो जति सान्दर्भिक थियो, आज पनि त्यतिकै सन्दर्भिक छ । तसर्थ हामीले ऋषि वात्स्यायनलाई यौन दर्शनका प्रणेता हुन् भन्न हिच्किचाउनु हुन्न ।
parbat.bhatta@gmail.com
याे पनि
मोक्ष, निर्वाण, साल्भेसन र हाम्रो जीवन