लोकसंवाद संवाददाता | समाचार | साउन ०७, २०७७
आन्तरिक विवादले थलिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र एक्कासि महाधिवेशन केन्द्रित नीतिगत बहसमा प्रवेश पाएको सङ्केत देखिन थालेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विरोधलाई मत्थर पार्न 'अर्ली' महाधिवेशनको चास्नी फ्याँकेपछि नेकपाभित्र जनताको बहुदलीय जनवाद (जबज) वा जनताको जनावाद भन्ने प्रश्नको नीतिगत बहस आरम्भ भएको हो ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको एकता महाधिवेशन हुने भएपछि जनताको बहुदलीय जनवादलाई महाधिवेशनमा छलफलको विषय बनाउनु पर्ने विषयवस्तुलाई उठान गरेपछि बहसलेे मूर्त रूप लिएको हो । । ‘जबजको सिद्धान्त नै नेपालको कम्युनिस्ट आन्दोलनको मार्गचित्र हो म यसको पक्षमा छु तपाइहरू अर्ली महाधिवेशनको कुरा गर्दै हुनुहुन्छ । जबजको खुला छलफल आवश्यक छ महाधिवेशन अघि बाटै यसलाई बहसको विषय बनाएर जाऔँ, अहिले पनि जबज सान्दर्भिक रहकोले यस्तो प्रस्ताव गरेको हुँ यसमा कसैले अन्यथा मान्नुपर्दैन,’ माधव नेपालको यस्तो भनाइपछि पुष्पकमल दाहालसहित पूर्व माओवादीहरूमा भने ठुलै झस्को पसेको छ । पूर्व माओवादीहरू पूर्व एमालेहरूलाई आफ्नो नीतिमा ढाल्न सफल भयौँ भनेर कार्यकर्तालाई थामथुम गरिरहेको समयमा वरिष्ठ नेता समेत रहेका माधव नेपालको सो भनाइले प्रचण्डलाई खुमलटारमा आफ्ना समूहका नेताहरूको भेला गर्न बाध्य नै बनायो । जसको निष्कर्ष थियो–पूर्व एमालेहरू वैचारिक रुपमा स्पष्ट छन् हामी अलमलियौ भने पूर्व माओवादीहरू एकमत हुन्छन् हामी पनि एकजुट हुनपर्छ ।
पार्टी एकीकरणका बेला माधव नेपालकै संयोजकत्वमा राजनीतिक प्रतिवेदन लेखन भएको थियो । त्यहाँ राजनीतिक कार्यदिशा जनताको जनावाद उल्लेख गरिएको छ । पार्टी एकताको सन्दर्भ जनताको जनवादलाई स्वीकार गरिएको हो महाधिवेशन भएको छैन सबै चिज महाधिवेशनले निर्धारण गर्ने हो त्यस कारण पनि जबज नै अहिलेको मूल कार्यदिशा हुनुपर्छ भन्ने पूर्व एमालेहरूको नीतिगत लाइन राख्ने उपयुक्त अवसरको पर्खाइमा रहेका थिए । पार्टीभित्र सचिवालय सदस्य ईश्वर पोखरेलले पनि जबज नै पार्टीको मूल कार्यनीति हुनुपर्ने भन्दै धेरै पहिलादेखि छिट फुट रुपमा छलफल र बहस अगाडि सार्दै आउनु भएको थियो । तर वरिष्ठ नेता समेत रहेका माधव नेपालले यो कुरा बहसमा ल्याएपछि भने अबको महाधिवेशनमा सिधै जनताको बहुदलीय जनवाद (जबज) भर्सेज जनताको जनवाद (जज) हुने अवस्था स्पष्टसँग देखिएको छ ।
आगामी मंंसिरमा एकता महाधिवेशन गरेर पार्टीभित्रको विवाद समाधान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव ओली निकटका नेताहरूले समर्थन गर्दै आएका छन् भने नेपाल निकट नेताहरूले पार्टी एकता नै नसकिएको बेला कसरी महाधिवेशन हुन्छ ? भनेर प्रश्न उठाएका छन् । यही मेसोमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि मङ्सिरमा महाधिवेशन हुन नसक्ने भन्ने धारणा सार्वजनिक नै गरी सक्नु भएको छ ।
आन्तरिक विवाद बढ्दै जाँदा दाहालले ओलीको विरोधमा साथ लिएका सहयात्रीहरूलाई धोका दिँदै गर्दा माधव नेपालले दाहालको ढुलमुले स्वभावलाई मध्यनजर गरेर नीतिगत बहसमा आफूलाई केन्द्रित गर्न थालेको सन्देश दिनु भएको छ । आन्तरिक विवादमा माधव नेपालको बलियो साथ पाएका दाहालले शनिवारको सचिवालय बैठकमा नेपाललाई साथ नदिई ओलीले ल्याएको मङ्सिरमा महाधिवेशन गर्ने प्रस्तावलाई साथ दिएपछि नीतिगत बहसले स्थान पाउन थालेको हो । मङ्सिरमा महाधिवेशन गर्न सकिँदैन भन्ने थाह हुँदा पनि दाहालले ओलीको प्रस्तावलाई साथ दिएको थाह पाएपछि दाहालले आफूहरूलाई धोका दिएको महसुस नेपाल पक्षले गरेको थियो । त्यति मात्र होइन ओली–दाहाल एक साथ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न जानु र त्यहाँ पार्टी एकताको समयमा साक्षी बसेका महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी हुनुले नेपाल पक्षलाई झनै संशकित तुल्याएको बताउन थालिएको छ । त्यहाँ पनि जबजकै विषयले प्राथमिकता पाएको सन्देश दिइएको छ ।
प्रधानमन्त्री ओलीले शुरुदेखिनै राखेको दुवै पदबाट राजीनामा दिन्न बरु अन्य विषयमा छलफल गरौँ भन्न अडानमा यथावत् रहेको बताइन्छ । माधव नेपालले पनि पार्टी विधि, विधान र पद्धति अनुसार सञ्चालन हुनुपर्छ पार्टीमा एक पद एक जिम्मेवारी हुनुपर्छ भन्ने अडान यथावत् रहेको छ । दाहालले नेपालकै अडानलाई टेकेर प्रधानमन्त्री राजीनामा माग्ने तर सहमतिचाहिँ 'अर्ली' महाधिवेशन र भित्री रुपमा 'उधाराे' प्रस्तावमा सहमति जनाउन पुग्नु भएको थियो । दाहालले समेत सहमति जनाएपछि नेपालले नीतिगत बहसलाई ध्यान दिएर जबजको विषय उठाउन बाध्य भएको नेपाल निकटका नेताहरूले बताएका छन् । उता पूर्व माओवादीहरूले पनि एक्काइसौँ शताब्दीको जनवाद लिएर जाने कि अहिलेको जनतको जनावादलाई महाधिवेशनमा लिएर जाने भन्ने विषयमा हालसम्म निर्क्याैल गर्न सकेका छैनन् । तर पूर्व एमालेहरूको ठुलो पङ्क्ति सुधारिएको जबजलाई अघि बढाउने पक्षमा छन् । यसमा धेरै अघिदेखि ईश्वर पोखरेल लागिरहनु भएको थियो । माधव नेपालले मुख खोल्नु भएको थिएनन । अहिले आएर भने माधव नेपालले जबजबारे मुख खोलेपछि पूर्व एमालेहरूले राहत महसुस गर्न थालेका छन् भने ईश्वर पोखरेलले त धेरै पटक दाहालकै अगाडी जबजकोबारे बहस हुनुपर्ने र पार्टी एकता नै जबजको जगमा उभिएर भएको बताउँदै आउनु भएको थियो ।
ओली समूहका नेताहरूले दाहाललाई नै मिलाउने क्रममा 'अर्ली' महाधिवेशन गर्ने र एकल अध्यक्ष दिने बताइरहेका बेला दाहालले गत १५ वैशाख २०७७ मा वरिष्ठ नेता नेपाललाई पनि ओलीले ‘अर्ली महाधिवेशन’ कै प्रस्ताव गरेर अध्यक्ष बनाउने बताएका थिए । तर माधव नेपालले त्यो विषय अस्वीकार गरिसक्नु भएको छ । त्यही प्रस्ताव ओलीले ३१ असार २०७७ को ‘वान टु वान’ छलफलमा दाहाल समक्ष राखेको बताइएको छ ।
बालुवाटारमा दुई अध्यक्षबिच भएको छलफलमा अध्यक्ष ओलीले तत्काल प्रधानमन्त्री र अध्यक्ष दुबै पद छोड्न नसक्ने भन्दै ‘ मङ्सिरमा अर्ली महाधिवेशन’ बाट अध्यक्ष पद लिन भनेपछि दाहाल फेरिएका नेपाल पक्षको बुझाइ रहेको छ । विवादको उत्कर्षकै बिचमा गत शनिवार भएको नेकपा सचिवालयमा त्यही प्रस्ताव उही २० वैशाख २०७७ को प्रस्ताव आएपछि ओलीसँग दाहाल सहमति जनाउन पुग्नु भयो ।
यसलाई नेपाल समूहले दाहाल आफ्नो अडानमा अडिग रहन नसक्ने नेताको रुपमा चित्रण गर्न थालेका छन् । आगामी मंंसिरमा एकता महाधिवेशन गरेर पार्टीभित्रको विवाद समाधान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव ओली निकटका नेताहरूले समर्थन गर्दै आएका छन् भने नेपाल निकट नेताहरूले पार्टी एकता नै नसकिएको बेला कसरी महाधिवेशन हुन्छ ? भनेर प्रश्न उठाएका छन् । यही मेसोमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि मङ्सिरमा महाधिवेशन हुन नसक्ने भन्ने धारणा सार्वजनिक नै गरी सक्नु भएको छ ।