लोकसंवाद संवाददाता | कारोबार | साउन ०८, २०७७
चितवन । भरतपुर महानगर क्षेत्रको सिँचाइमा महत्वपूर्ण योगदान पुर्याएको नारायणी लिफ्टमा नयाँ उपकरण जडान गरी वर्षैभर पानी छाड्ने तयारी गरिएको छ । हाल सो लिफ्टले धानखेतीका लागि बर्सातमा मात्र पानी छोड्ने गर्दछ ।
लिफ्ट हेर्दै आएको नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख ई खेमबहादुर पाठकका अनुसार लिफ्टका दुईवटा पम्पमध्ये एउटा पम्प नयाँ जडान गरिँदैछ । यसका लागि बोलपत्र आह्वानसमेत भइसकेको उहाँले जानकारी दिनुभयो । करिब ३५ करोडर रुपैयाँको लागतमा नयाँ पम्प जडान गर्न लागिएको हो । आजसम्म बोलपत्रको समय भएकामा लकडाउनका कारण साउन २३ गतेसम्मलाई सारिएको छ ।
वाग्मती प्रदेश सरकारले पम्प जडानका लागि रु १९ करोड विनियोजन गरिसकेको छ । अपुग रकम प्रदेश र अन्य निकायबाट प्राप्त हुनेछ । नयाँ पम्प जडानसँगै विद्युत् खपत कम हुने, मर्मतसम्भार खर्च घट्ने र चलाउन सहज हुने पाठक बताउनुहुन्छ । हाल सञ्चालनमा आएको पम्प ११ केभिए भोल्टबाट चल्छ भने अब नयाँ पम्प छ दशमलव छ केभिएबाट चल्ने उहाँले जानकारी दिनुभयो । लिफ्टमा भइरहेका दुई पम्प सञ्चालन गर्दा तीन महिनामा एक करोड ५० लाख बराबरको विद्युत् खपत हुँदै आएको छ । नयाँ पम्प आएसँगै विद्युत् खपत निकै कम हुने पाठकको भनाइ छ । पुराना पम्प भएकाले अहिले वर्षमा दुई करोड रुपैयाँकाे पम्प मात्र मर्मतमा खर्च हुँदै आएको छ ।
हाल भएका पुराना दुई पम्पको मोटरमाथि छन् भने अबको नयाँ पम्प समर्सियल ९पानीमुनि राखिने० किसिमको अत्याधुनिक हुनेछ । नारायणी लिफ्ट सिँचाइ जलउपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाट लिफ्टले भरतपुर महानगरपालिकाको वडा नं ४, ५, ६, ८, ९, ११, १२, १४, १५ लगायतका वडाका तीन हजार ५०० हेक्टर प्रत्यक्षरूपमा सिञ्चित गर्दै आएको बताउनुहुन्छ । विसं २०४० मा स्थापना गरिएको यस लिफ्ट परियोजनाबाट आएको पानी खगेरी सिँचाइमा मिसाएर पश्चिम चितवनका अन्य वडामा पनि सिँचाइ गरिँदै आएको छ ।
भरतपुर महानगरपालिका–१ नारायणगढमा दुईवटा पम्प राखेर त्यसै पम्पले नारायणीको पानीमाथि तानेर भरतपु्र महानगर क्षेत्रमा कुलोबाट पानी पठाएर सिञ्चित गरिँदै आएको छ । हाल असार अन्तिम साताबाट कात्तिक पहिलो सातासम्म धान रोपाइँ र धानलाई सिञ्चित गरिँदै आएको छ । अध्यक्ष रानाभाटले भन्नुभयो, 'अब हामी वर्षैभरि पानी दिन सक्ने गरी पम्पको स्तरोन्नति गर्दैछाैँ।' उहाँका अनुसार हिउँदमा यस क्षेत्रमा तरकारी, लहरेबाली, मकै लगाउन पानी सहयोगी हुनेछ । रानाभाटका अनुसार भरतपुर महानगर प्रमुख रेनु दाहाल लिफ्ट हिउँदमा पनि सञ्चालन गर्ने गरी स्तरोन्नति गर्न सकारात्मक हुनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, 'नगरप्रमुख सकारात्मक हुनुहुन्छ, स्थलगत अध्ययन गरी उहाँले आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै आउनुभएको छ ।'
दाहाल प्रमुख भएदेखि नै कृषि क्षेत्रको विकासका लागि लागिपरेको बताउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, 'लिफ्टको स्तरोन्नतिका लागि मैले गर्नुपर्ने काम गर्न तयार छु ।' उहाँले पम्प फेरेर हिउँदमा समेत महानगर क्षेत्रमा सिँचाइ गर्नुपर्ने बताउनुभयो । यसका लागि प्रदेश र सङ्घीय सरकारसँग आफूले आवश्यक पहल गर्दै आएको उहाँको भनाइ छ ।
महानगर क्षेत्र उर्वर रहेको भन्दै यसलाई सिञ्चित गर्दैगर्दा नगरवासीको जीवनस्तर उकास्न मद्दत पुग्ने उहाँले बताउनुभयो । पानीको नहर अतिक्रमण हुनबाट रोक्न महानगर सधैँ सहयोगी हुने उहाँको भनाइ छ । लिफ्टका केही नहरहरु मिचिएका छन् । कतिपयमा सडक बनाएर कालोपत्रसमेत गरिएको छ ।