पट्यारलाग्दो लकडाउन, तातेका सचेत अभिभावक र लोभलाग्दो सक्रियता

पट्यारलाग्दो  लकडाउन,  तातेका सचेत अभिभावक र  लोभलाग्दो सक्रियता

इन्दिरा अर्याल  |  शिक्षा  |  साउन ०९, २०७७

बिहान १० बज्नै लागेको थियो । रुपन्देहीको देवदह नगरपालिका, घोडाहाका धनप्रसाद चापागाईँ तीन पाङ्ग्रे हुवीलचियर गुडाउँदै छोरीहरूले पढ्ने विद्यालयमा पुग्नुभयो । हुवीलचियरको पछाडि कक्षा ४ र ७ मा पढ्ने छोरीहरू उभिएका थिए । नानीहरूको हातमा एकएकवटा कापी थिए । गेट अगाडि ह्विलचियर रोकिएपछि नानीहरू ओर्लिए । छोरीहरू ओर्लिएपछि ऊनीहरूलाई सम्झाउँदै चापागाईँले भन्नुभयो–‘सरहरूलाई भेट, कापी लेऊ । नजानेको सबै सोध्नु । भोलिको लागि अर्को प्रश्न पनि मागेर ल्याउनु । म एक घण्टा जतिमा आउँछु । यही ठाउँमा आएर बस्नु है । हिँड्दै घर नजानु ।’ छोरीहरूलाई सबै कुरो सम्झाएपछि धनप्रसाद ह्विलचियर फर्काएर निस्किनुभयो  । 

बुटवल औद्योगिक क्षेत्रमा सञ्चालित साबुन कारखानामा काम गर्दागर्दै १० वर्ष अगाडि एउटा खुट्टा गुमाएका धनप्रसादले अहिले २ वटा गाई पालेर त्यसैको आयस्ताबाट जीविका चलाइरहनु भएको छ ।  औपचारिक शिक्षा लिने अवसर नपाउनुभएको  उहाँले छोरीहरूलाई भने पढाइ लेखाइ आत्मनिर्भर बनाउने सपना बुन्नु भएको छ ।  बन्दको बेला छोरीहरूको पढ्ने काम बन्द नहोस् भनेर पढ्ने, लेख्ने, टिभी हेर्ने आदि कामकोलागि समय तालिका बनाइदिनु भएको छ । ‘बन्द भएको २ हप्ता जति त ऊनीहरूलाई खेल्न, रमाउन दिएँ । तर जब लकडाउन लम्बिने छाँट देखियो, स्कुल खुल्ने कुनै सङ्केत देखिएन, त्यसपछि भने आफूले जसरी जाने त्यसरी नै पढ्ने वातावरण बनाइ दिएँ ।’ स्कुल परिसरमा भेटाएका चापागाईँले कुरो थप्नुभयो  ‘वैशाख अन्त्यबाट सरहरू पनि घरमा आउन थाल्नुभयो । सरहरू घरमा आउँदा साह्रै खुसी लाग्यो । नानीहरूले पनि आफूले लेखेका कापीहरू सरहरूलाई देखाए । छोरीहरूको पढाइप्रतिको लगन देखेर सरहरू निकै खुसी हुनुभयो । अहिले त स्कुलबाटै उनीहरूले गृहकार्य पाएका छन् । त्यही गृहकार्य बुझाउन अहिले उनीहरूलाई लिएर स्कुल आएको हुँ ।’  

लामो समयको लकडाउन वा बन्दाबन्दीमा विद्यार्थीहरू घरभित्र नै थुनिएका छन् । तर घरपरिवारभित्र पनि धेरै सम्भावनाहरू हुन्छन् । अभिभावकले इच्छाशक्ति देखाउने र विद्यालय तथा शिक्षकहरूको समेत सम्पर्क र संवादमा विद्यार्थीलाई सिकाइमा लगाउने हो भने यो बेलाको पढाइ र सिकाइमा अझै प्रभावकारिता पक्कै बढ्ने छ । पढाउने शिक्षकले मात्रै हो । विद्यार्थीको जिम्मा विद्यालयले लिनै पर्छ भनेर मात्रै बस्नेहोभने त्यसबाट ठुलो घाटा हुनसक्छ ।

कोरोनाको त्रास र प्रभावले गर्दा बन्द भएका  विद्यालयहरूमा बिस्तारै चहल पहल बढ्न थालेको छ । नियमित विद्यालय खोल्ने अवस्था नरहेपछि बैकल्पिक सिकाइका विधिहरू अपनाएर सिकाइ अगाडि बढाउने सन्दर्भमा अभिभावकहरूको पनि चासो र सरोकार बढ्न थालेको छ । अरुबेला छोराछोरीको नतिजा हेर्न र वार्षिकोत्सवमा पत्र काटेर बोलाउँदा समेत विद्यालय नआउने अभिभावकहरू आजकाल भने छोराछोरीको पढाइको लागि धाउन थाल्नु भएको छ ।  विद्यालयमा विद्यार्थी र शिक्षकको भन्दा अभिभावक र कर्मचारीको चहलपहल बढी देखिन थालेको छ । ३ जना नातिनातिनाको कापी लिएर आउनस भएकी सीता परियार पनि खुसी र उत्साहित देखिनु भयो । ‘घरमा यसै बस्न भन्दा त कति हो कति जाति भएको छ । हामीले मात्रै पढ पढ भन्दा उनीहरूले टेर्दै नटेर्ने । आजभोलि त लेख्न लागेका छन् । नेट र टिभीबाट पढाइ भाछ भन्थे । हाम्रोमा नेट पनि नभाको । टिभीमा पनि पैसा सकिएको थियो । त्यही भएर केटाकेटीले पढ्न पाएका थिएनन् । सधैँ स्कुल गएकोजस्तो त के हुन्थ्यो र ? तर नहुन भन्दा त धेरै नै राम्रो भएको छ ।’ 

बुटवल देविनगरकी विन्दु भट्टराई असार महिनाभर बिहानको समयमा घरबाट निस्किनु भएन  । बिहान ८ बजेपछि छोराको अनलाइन कक्षा हुने भएकोले त्यो नछुटोस् भन्नेमा उहाँ निकै सावधानी अपनाउनु भयो  । आफ्नो मोबाइलबाट छोराले पढ्थ्यो । ३ कक्षामा पढ्ने छोरालाई उहाँले जुमलिङ्क खोलिदिनु हुन्थ्यो । सबै कुरा ठिक्क पारिदिएपछि छोराले पढ्थ्यो । पढाइ चलुन्जेल दुई घण्टाको लागि बाबुआमा मध्ये एकको काम छोरालाई ‘गाइड’ गर्नु नै हुन्थ्यो । अहिले भने निजी विद्यालयहरूले अनलाइन कक्षा बन्द गरेका छन् । ‘स्कुलले पढाउन छोडेपछि त किताब कापी छुन नै मान्दैन । अब कसैसँग ट्युसन राख्ने सोच बनाएकी छु । खेलेरै बस्ने र केही पनि पढेनन् भने त बालबालिका पढ्नमा मन फर्कन गाह्रो हुन्छ ।’ उहाँको भनाइ थियो  । 

विद्यार्थीको पहिलो पाठशाला घर र पहिलो शिक्षक बुवा आमालाई मानिन्छ  । आफूले आफ्नो समयमा विभिन्न कारणले पढ्न नपाएका अभिभावकहरू आफूले पढ्न नपाएको  सपना पनि छोराछोरीबाट पुरा गराउन खोजिरहेका हुन्छन् । नानीबाबुहरूले कखरा र १, २, ३ का दुना, पहाडा फरररर भन्दा बाबुआमामा आउने खुसी ज्यादै रहर लाग्दो हुन्छ । 
आफूले भोगेका र पाएका दुःख बिर्सन्छन् र धेरै अभिभावकले छोराछोरीको लागि समय, साधन र स्रोत खर्च गरिरहेका हुन्छन् । आफ्नो भोक तिर्खा च्यापेर ऊनीहरूले छोराछोरीको शिक्षा र स्वास्थ्यमा ख्याल गरिरहेका हुन्छन् । 

बन्दाबन्दीले कति अभिभावकको रोजीरोटी खोसिएको छ । कतिले आधा सुविधामा काम गर्नु  परिरहेको छ । कतिपयले त परिवारका सदस्य गुमाएका छन् । जे जस्तो अवस्था आइपरेपनि ऊनीहरूको सबैको पहिलो चिन्ता भनेकै छोराछोरीको पढाइ बनिरहेको छ । 

अहिले खासगरि धेरै सामुदायिक र केही निजी विद्यालयहरूले दुरी कायम गरेर ठाउँ ठाउँमा घुम्ती कक्षा तथा सामुदायिक पढाइ सञ्चालन गरिरहेका छन् । अभिभावक, शिक्षक तथा स्थानीय सरकारको पहलमा खुलेका त्यस्ता कक्षाको निगरानी पनि अभिभावकहरूले नै गरिरहेका छन् । ‘पहिले भर्ना अभियान तथा अरुवेलाको घरदैलो भेटमा उहाँहरूकोमा जाँदा खासै वास्ता नगर्ने अभिभावकले पनि अहिले घरघरमा जाँदा शिक्षकहरूसँग धेरै नै खुसी हुन थाल्नुभएको छ  । लकडाउनकै बिचमा हामी २ पटक घरघर पुग्यौँ । पहिलो चरणमा विद्यार्थीको अवस्था बुझियो । दोस्रो चरणमा गृहकार्य दिने काम गरियो । अहिले त हामी जानेभन्दापनि उहाँहरूलाई नै विद्यार्थीको कापी लिएर सकुलमै बोलाउने गरेका छौँ । पहिला पहिला उहँहरूकोमा जाँदा विद्यार्थी खोज्न आएका हुन् जस्तो सोचेर केही अभिभावक त तर्केको पनि पाइयो । अहिले भने विद्यार्थीलाई खुराकी लिएर आएजस्तै मान्नुहुन्छ । उहाँहरूबाट धेरै धेरै धन्यवादका शब्दहरू पनि पायौँ ।’  देवदह माविकी शिक्षक अम्बिका कँडेलले सुनाउनुभयो ।

प्रधानाध्यापक केशवप्रसाद घिमिरेले विद्यालयले भूगोलअनुसार दिन बाँडेर गृहकार्यको कापी लिएर विद्यार्थी र अभिभावकलाई विद्यालयमा बोलाइएको र जम्मा भएका कापीहरू एक दिन राखेर चेक जाँच गर्ने गरिएको बताउनु भयो ।  विद्यालयले एकाएक सातामा विद्यार्थीलाई दुरी कायम गरेर स्कुलमै बोलाइ नजानेको कुरा बताइदिने र अर्को पटकको गृहकार्यको लागि प्रश्न पत्र दिने गर्नु  भएको  छ । त्यो प्रक्रिया अन्तर्गत दोस्रो चरणको गृहकार्य सकेर विद्यार्थीहरूले ल्याएका छन् । यती बेला तेस्रो चरणको प्रश्न पत्र वितरण भइरहेको कुरो उहाँले बताउनुभयो ।   

‘सरकारले निर्देशन गरेको बैकल्पिक विधिबाट सिकाइलाई निरन्तरता दिने क्रममा हामीले यो विधि अपनाएका हौँ । यसको प्रभावकारिता, सरकारको निर्देशन र परिवेश हेरेर अर्को विधि पनि अपनाउन सकिन्छ ।’ उहाँले थप्नु भयो । ‘कोरोना त्रासकै बिचमा वैशाख पहिलो साता नतिजा तयार गर्‍यौं । त्यस पछि कार्य विभाजन गरेर विद्यार्थीलाई पुस्तक वितरण गरियो । फोनमार्फत विद्यार्थीहरूको सम्पर्कमा रहने कोसिस गरियो । असार पहिलो साताबाट भने नियमित नै विद्यालय आउने जाने गरेका छौँ ।’ घिमिरेले विद्यार्थीको घरघरमा गई अभिभावक र विद्यार्थीसँग घर भेट गरी फर्केपछि अभिभावकहरूको चासो बढेको देख्दा आफूहरू पनि उत्साहित भएको बताउनुभयो । 

साधारण अभिभावकहरूमा त उत्साह बढेको छ भने पढेलेखेका अभिभावकहरूले त झन् यो वेला असाध्यै संवेदनशीलता अपनाएको पाइन्छ । सिद्धार्थ क्याम्पसका प्राध्यापक रमेश पाण्डे आफूले विद्यार्थीलाई नियमितजसो जुममार्फत पढाउनुहुन्छ । पाण्डेले आफूले पढाउने मात्र होइन घरमा रहेका २ जना नातिनातिनालाई पनि समय तालिका मिलाएर पढ्ने वातावरण बनाइदिनु भएको छ ।  हरेक दिन बिहान १ घण्टा योगा र ध्यान । नास्ता खाएर २ घण्टा पढाइ लेखाइ । केही समय मनोरञ्जन, त्यसपछि खाना । दिउँसोमा पनि कति वेला पढ्ने, कति बेला लेख्ने, कति वेला टिभी हेर्ने, कति वेला मोबाइल चलाउने भन्ने उहाँको घरको समयसारिणी हो । आफ्नो काम नगरेसम्म खान पनि पाइँदैन भन्ने नातिनातिनाको दिमागमा परेको छ । त्यसोभएपछि बन्दले ऊनीहरू बिग्रिए भन्ने महसुस हुन पाएको छैन । ‘स्कुल कलेज खुल्दा म पनि केही व्यस्त हुन्थेँ । खासै समय दिन पनि सक्दिनथे । अहिले त धेरैजसो समय ऊनीहरूलाई पढाउने र सिकाउनेमा नै समय बितेको छ । बेलाबेला चिच्याएर पढ्न लगाउँछु । कहिले कथाहरू सुनाउँछु । पहिला त स्कुल नजाँदा तालिकाअनुसार पढ्न अलि अप्ठेरो मानेका थिए । अहिले त बानी पर्‍यो, रमाएका पनि छन् ।’ पाण्डेले भन्नुभयो । पढेका नपढेका जे जस्तो भए पनि अभिभावकले अलिकता समय र ध्यान दिन सक्दा विद्यार्थीको पढाइ र सिकाइमा धेरै फरक पर्छ । यस्तो बन्दको अवस्थामा त झन् विद्यालय र शिक्षकलाई दोष दिएर उम्कने ठाउँ पनि छैन । बालबालिकालाई सक्षम र जिम्मेवार बनाउन शिक्षकहरूको जस्तै अभिभावकहरूको पनि अहम् भूमिका हुन्छ । 

लामो समयको लकडाउन वा बन्दाबन्दीमा विद्यार्थीहरू घरभित्र नै थुनिएका छन् । तर घरपरिवारभित्र पनि धेरै सम्भावनाहरू हुन्छन् । अभिभावकले इच्छाशक्ति देखाउने र विद्यालय तथा शिक्षकहरूको समेत सम्पर्क र संवादमा विद्यार्थीलाई सिकाइमा लगाउने हो भने यो बेलाको पढाइ र सिकाइमा अझै प्रभावकारिता पक्कै बढ्ने छ । पढाउने शिक्षकले मात्रै हो । विद्यार्थीको जिम्मा विद्यालयले लिनै पर्छ भनेर मात्रै बस्नेहोभने त्यसबाट ठुलो घाटा हुनसक्छ । विद्यालय बन्दको बेला अभिभावकको छोराछोरीहरूको पढाइको बारेमा बढेको चासोलाई कायम राख्न सक्ने हो भने पढाइ र सिकाइमा पक्कै फाइदा पुग्ने छ ।