गाउँपालिकालाई निःशुल्क ३१ रोपनी जग्गा

गाउँपालिकालाई निःशुल्क ३१ रोपनी जग्गा

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०९, २०७७

स्याङ्जा । यहाँका स्थानीयवासीले गाउँपालिकालाई निःशुल्क ३१ रोपनी जग्गा दिएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गहलामका स्थानीय १५ जग्गाधनीले गाउँपालिकाको भवन निर्माणका लागि निःशुल्क गाउँपालिका कार्यालयको नाममा जग्गा पास दिएका गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । 

गाउँपालिकाले भवन निर्माणका लागि वडा नं ४ भित्र जग्गा आवश्यक रहेको सूचना सार्वजनिक गरेसँगै पाँच ठाउँबाट जग्गा उपलब्ध गराएको मध्ये गहलामको ३१ रोपनी छनोट गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । 'स्थानीय जग्गाधनीले तीन शुल्कसहित र दुई निःशुल्क गरी पाँच वटा जग्गा उपलब्ध गराउने बताउनुभएको थियो', गाउँपालिकाका अध्यक्ष थापाले भन्नुभयो, 'पाँच वटा जग्गामध्ये सबैभन्दा पायक पर्ने स्थानमा निःशुल्क जग्गा प्राप्त भएकाले यो जग्गा छनोट गरेका हौँ ।'

गाउँपालिकालाई प्राप्त भएको ३१ रोपनी जग्गा मध्येबाट प्रहरी चौकीको भवन निर्माणका लागि नौ रोपनी जग्गा प्रहरी चौकीलाई गाउँपालिकाले दिएको अध्यक्ष थापाले बताउनुभयो । गाउँपालिका कार्यालय र प्रहरी चौकी एकै स्थानमा भएपछि सेवा प्रवाहमा सहजता हुने भएकाले गाउँपालिकाले निःशुल्क चौकी निर्माणका लागि जग्गा उपलब्ध गराएको हो । 

गाउँपालिकाल उपलब्ध गराएको जग्गामा अहिले प्रहरी चौकीको भवन निर्माण जारी छ भने गाउँपालिकाको भवन निर्माणका लागि जग्गा सम्याउने काम थालनी भएको अध्यक्ष थापाले बताउनुभयो । कालीगण्डकी गाउँपालिकाले भवन निर्माणका लागि जग्गाको खोजी गरिरहेको भन्ने सूचना थाहा पाएपछि स्थानीय जग्गाधनीले सामूहिकरूपमा छलफल गरेर ३१ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको जग्गाधनी गोपीकृष्ण पाण्डेले बताउनुभयो ।