पुलको उचाइ कम गरिने

पुलको उचाइ कम गरिने

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन १२, २०७७

काठमाडौं । अनामनगर र मध्यबानेश्वर जोड्ने (मदन भण्डारी कलेज अगाडि रहेको) पुलको उचाइ कम गरिने भएको छ । 

निर्माणाधीन पुलको उचाइ बढी भएकाले आवतजावत गर्न कठिन हुने गुनासो आएकाले सो पुलको उचाइ कम गर्न लागिएको हो । सो पुलको डेढ मिटर उचाइ कम गर्न लागिएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । वर्षाको समयमा पानीको तह माथिसम्म पुग्ने भएकाले पुल अग्लो बनाइएको डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयो । सो स्थानमा खोलाको जग्गा मिचिएको छ ।

 हाल निर्माणको काम गरिरहेको कम्पनीले नै सो पुलको उचाइ कम गर्नेछ । उहाँले भन्नुभयो, “हामीले सो पुलको उचाइ कम गर्न कम्पनीलाई भनिसकेका छौँ ।” प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको केही दिन पहिले भएको बैठकमा बोल्दै सदस्यहरुले पुल अग्लो हुँदा नागरिकले प्रयोग गर्न नपाएको बताएका थिए । देशभरका बिभिन्न स्थानमा बनेका पुल आवश्यकताभन्दा अग्लो भएको, खोला एकातिर र पुल अर्कातिर भएकोलगायतका गुनासो सडक विभागमा आउने गरेको छ । विभागले भने खोलाले समय समयमा यसको दिशा बदल्ने हुँदा दुई तीन वर्ष पहिले गरिएको डिजाइन पछि काम फरक पर्न सक्ने बताएको छ ।