महोत्तरीका अवरुद्ध सडक सञ्चालन हुन सकेनन्

महोत्तरीका अवरुद्ध सडक सञ्चालन हुन सकेनन्

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन १३, २०७७

महोत्तरी । लगातारको वर्षा र बाढीका कारण करिब एक महिनादेखि अवरुद्ध रहेको महोत्तरी जिल्लाको मुख्यमुख्य सडकखण्ड अझै सञ्चालन भएका छैनन् । दिनरात जुनसुकै समयमा पनि पटक–पटक लगातारको भीषण वर्षा र जिल्लाको आधा दर्जनभन्दा बढी नदीमा आएको बाढीका कारण ठाउँठाउँमा क्षतिग्रस्त भएको जिल्लाको जलेश्वर–बर्दिवास, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायत सदरमुकामलाई राजमार्ग तथा अन्य जिल्लासँग जोड्ने सबै सडकखण्ड लामो समयदेखि अवरुद्ध रहेका छन् ।

जिल्लाका प्रायः सबै सडकखण्डमा स्तरोन्नतिको काम भइरहेका बेला अबिरल वर्षा र पटक–पटकको बाढी आएर सडकमा कटान र डुबान गरेपछि सडक क्षतिग्रस्त भएर आवतजावत अवरुद्ध भएको छ । जिल्लाको एक सडक बाहेक सबै सडकखण्ड अहिले अवरुद्ध रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयो । 

अब विस्तारै सबैतिर पसेका बाढीका पानी घटेको, नदीका बहाव कम भएको र दुई÷तीन दिनदेखि घाम पनि लागिरहेका कारण ती सबै सडकखण्ड खुलाउनका लागि आवश्यक पहल गरिएको र सम्बन्धित निकायले कामकाज गर्न तयार समेत भएको उहाँले बताउनुभयो । जिल्लाको विभिन्न भागमा पटक–पटक भएको भीषण वर्षाका कारण हिलो र पानी जमेर कुनै पनि बाटोमा सानो सवारी साधन टेम्पु, अटोरिक्सा र मोटरसाइकल चलाउने अवस्था नभएपछि जिल्लाका सबै बाटो अवरुद्ध भएको छ ।