हुलाकमा चिठ्ठीपत्र आउनै छाडे

हुलाकमा चिठ्ठीपत्र आउनै छाडे

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन १३, २०७७

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१५ निवासी ४२  वर्षीया रिमा नेपाली दश वर्ष पहिले दुई/तीन महिनाको अन्तरालमा हुलाक कार्यालयमा पुग्नुहुन्थ्यो । उहाँ विदेशमा रहनुभएका श्रीमान्लाई घरपरिवारको मायाको पोको हुलाकमा पत्र खसाल्न जाने गर्नुहुथ्यो । 

उहाँका श्रीमान् अहिले पनि मलेसियामा हुनुहुन्छ । तर, आजभोलि रिमा हुलाक कार्यालय जान छाडेको वर्षौ भइसकेको छ । सन्देश पठाउन र प्राप्त गर्न सामाजिक सञ्जाल प्रयोग गर्ने नेपाली बताउनुहुन्छ । फोनमा कुराकानी मात्र होइन उहाँले अहिले विभिन्न अनलाइन माध्यम प्रयोग गरेर एक अर्कालाई हेरेर दैनिकजसो कुरा गर्न थाल्नु भएको छ । 

उहाँ जस्तै अहिले अधिकांश मानिस सन्देश पठाउन र पाउनकै लागि हुलाकको प्रयोग गर्न छाडिसकेका छन् । अहिले प्रविधिको विकाससँगै छिनभरमै सजिलै सन्देश पठाउन सकिन्छ । कुरा गर्न सकिन्छ । प्रत्यक्ष हेर्न सकिन्छ । यसले गर्दा १० वर्षअघि रिमा नेपाली जस्तै हुलाक कार्यालयमा जानुपर्ने बाध्यता अहिले हटेको छ । 

जिल्ला हुलाक कार्यालय दाङमा व्यक्तिगत रुपमा पठाउने चिठीपत्र लगभग शून्य जस्तै भएको कार्यालय प्रमुख शोभाराम बस्नेत बताउनुहुन्छ । “सरकारी कार्यालयमा पठाउनुपर्ने सक्कली पत्रत अहिले पनि आएकै हुन्छ तर पहिले जस्तो बोराका–बोरा व्यक्तिगत रुपमा पठाउने पत्र भने लगभग शून्य जस्तै भएको छ” उहाँले भन्नुभयो । 

नागरिकमा सञ्चारको पहुँच पुगेसँगै हुलाकबाट व्यक्तिगत रुपमा चिठीपत्र पठाउन छाडेको बताउँदै हुलाक कार्यालयलाई पनि सोही अनुसार परिस्कृत गर्दै लगिएको कार्यालय प्रमुख बस्नेत दाबी गर्नुहुन्छ । बस्नेतका अनुसार अहिले पनि कार्यालयबाट आन्तरिक तथा बाह्य चिठीपत्र, डाँक वस्तु सम्बन्धितस्थलमा पठाउने, हुलाक टिकट बिक्री गर्ने, हुलाक बैंक सेवा, धनादेश सेवा उपलब्ध गराउने, सूचनाको हक कार्यान्वयनसम्बन्धी कार्यको अनुगमन गर्नेलगायत रेडियो, टेलिभिजनको इजाजतपत्र, लाइसेन्स नवीकरण गर्ने कार्य भइरहेको बताउनुभयो । 

जिल्ला हुलाक कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा जिल्लाभित्र तीन हजार ५३९ वटा चिठीपत्र आएको छ भने दाङ जिल्लाबाट बाहिर तीन हजार २२० वटा चिठीपत्र पठाइएको छ । त्यसैगरी अन्य स्थानबाट प्राप्त रजिष्ट्रर गरिएका पत्र १७ हजार ७७९ रहेको छ भने जिल्लामा दर्ता गरिएका पत्रको सङ्ख्या नौ हजार २४५ रहेको छ ।