निर्जला कक्षपति | दृष्टिकोण | साउन १३, २०७७
गत साल पत्रकार क्रृषि धमलाकी पत्नी एलीजा गौतमले आफ्ना पतिको गोडाको जल खाँदै गरेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा निकै धेरै नै टिका टिप्पणी भयो । पत्नी एलिजाले आफ्नो श्रीमान् लाई निकै सम्मान गर्ने गरेकोले हिन्दु संस्कार तथा परम्परा अनुसार आफ्नो पतिको गोडाको जल खाएको प्रतिक्रिया दिइन् । पत्तिलाई ढोग्ने या नढोग्ने अथवा पत्तिको गोडाको जल पिउने या नपिउने भन्ने कुरा अत्यन्त निजी कुरा हो । तर यो काम गलत भने पक्कै हो । तर कसैले स्वेच्छाले हरेक दिन पत्तिको खुटा ढोगेर मात्र आफ्नो दिनको शुरुवात गर्छु भन्यो भने यो उसको आफ्नो निजी मामला हो । तर सार्वजनिक पदमा रहेका र सार्वजनिक व्यक्ति भइसकेका मानिसले भने यस्तो क्रियाकलाप गर्छन् भने सार्वजनिक बहसको विषय र जनताले मूल्याङ्कन अवश्य गरिरहेका हुन्छन् ।
हाम्रा बज्यैहरूको पालामा बज्यैले, बिहान उठेर सबेरै आफ्नो श्रीमान् को खुटा ढोग्नु पर्ने अनि पानी खानुपर्ने एक खालको परम्परा नै रहेको सुनाउनु हुन्थ्यो । यसै गरी बिहान उठेर नुहाई धुहाइ गरिसकेपछि सासुआमा र आमाजूको खुट्टा ढोग्नु पथ्र्यो भनेर आमाले सुनाउनु भएको सम्झना अझै ताजै छ । समयको क्रमसँगै यस्ता समाजमा रहेका गलत क्रियाकलापहरू आफैँ हट्दै गएका छन् । कोही मानिस प्रति निकै श्रद्धा लाग्छ भने हाम्रो शिर आफै निहुरिन्छ । विद्या सिकाउने गुरु होस् वा कर्म सिकाउने गुरु होस्, हाम्रो शिर श्रद्धाले यत्तिकै निहुरिन्छ । श्रीमान्, श्रीमतीको सम्बन्ध भनेको एकले अर्कालाई माया र विश्वासमा टिकेको सम्बन्ध हो । यो बराबरीको सम्बन्ध हो । श्रीमान् ठुलो अनि श्रीमती सानो हुने भन्ने होइन । त्यसैले श्रीमान् को खुट्टा ढोग्ने, अनि श्रीमान् को गोडाको जल खाने परम्परा हामी आफैले तोड्नु जरुरी छ । यसले असमानता, विद्रोह र विभेद र दासत्व जीवन व्यतीत गर्न मद्दत पुग्दछ ।
महिला मात्र बस्ने व्रत हो भनेर कहीँ कतै लेखिएको छैन र महिलाले व्रत लिनु नै पर्छ भन्ने अनिवार्य पनि छैन । जीवन व्यतीतका क्रममा मैले यस्ता धेरै पुरुष देखेको छु जसले, सोमवारका दिन लसुन प्याज, माछा मासु र अन्न केही खाँदैनन् । भगवान् शिव प्रति भक्ति भाव राख्छन् । व्रत बस्ने नबस्ने नितान्त निजी मामला हो । कोही निराहार व्रत बस्छन् भने कोही फलफूल खाएर र कोही सक्दै सक्दैनन् भने लसुन प्याज, माछा, मासु खाँदैनन् तर एक छाक शाकाहारी भोजन गरेर व्रत बस्छन् ।
समाजशास्त्रीहरु भन्ने गरेका छन्– पितृ सत्ताले महिलालाई पुरुषको खुट्टा ढोग्नुपर्ने नियम बनाएर महिलालाई कमजोर अनि दास र परनिर्भर बनाइरहेको छ । महिलाले पुरुषको हरदम सेवा मात्र गर्नु पर्ने चलनले महिलालाई सेवा दिने सेवकको भूमिकामा सीमित राख्न मदत गरेको छ । श्रीमान्ले आफ्नो श्रीमतीलाई खुट्टा ढोग्न लगाउनु भनेको श्रीमतीबाट श्रीमान् ले सधैँ सम्मान खोजेका हुन् । अनि श्रीमान्, श्रीमती भन्दा सधैँ ठुलो हो भन्ने जनाउनु हो । पित्रृसत्ताले नै पतिलाई परमेश्वरको रूप दिएको छ त्यसैले महिलाले सदियौँ देखि आफ्नो श्रीमान्लाई परमेश्वरकै रुपमा मान्दै आएका छन् ।
व्रत बस्नु र नबस्नु नितान्त व्यक्तिगत मामला हो । व्रत कसैको दबाब र कुरा नबुझी बस्नु नै हुँदैन । सानो उमेरमा धेरै महिलाहरू व्रतको महिमा र अर्थ नबुझी लहलहै बस्ने गर्छन् । कोही रहरले बस्छन्, कोही रातो सारीमा सजिने रहर वा सोख भएर र कोही यो साउनको महिनामा हरियो चुरा र हरियो नै पोसाकमा सजिन मन लागेर पनि व्रत बस्छन् भने कोही भगवानसँग आफ्ना इच्छा आकाङ्क्षा पूरा होस् भनेर पनि व्रत बस्ने गरेको पाइन्छ । हरेक वर्ष साउन महिनामा महिलाले लिने गरेको व्रतको विषयलाई लिएर निकै नै चर्चा र परिचर्चा हुने गरेको छ । जे होस् व्रत लिने कि नलिने भन्ने निर्णय व्यक्ति स्वयंले गर्ने कुरा हो र उसैको इच्छामा भर पर्ने कुरा हो ।
हिन्दु धर्मशास्त्रमा उल्लेख भए अनुसार पूजा आराधना गर्नुलाई राम्रो मानिन्छ । भगवान् प्रति आस्था र विश्वास हुनेले पूजा आराधना गर्छन्, भक्ति भाव राख्छन् । तर आस्था नहुनेलाई यो कुनै कुराको वास्ता हुँदैन । वास्ता नराख्दैमा मानिस अधर्मी हुने पनि होइन । व्रतको कुरा गर्दा, विशेष गरी साउन महिनाको व्रत, श्रीमान् को सुस्वास्थ्य अनि दीर्घायुसँग जोडिने गर्छ । तर बुझ्नु पर्ने कुरा के हो भने अरूको दीर्घायुको कामना गर्नको लागि सबभन्दा पहिले आफै नै निरोगी हुनु जरुरी छ र भगवानग आफ्नो सुस्वास्थ्य र दीर्घायुको कामना गर्नु जरुरी छ । हामीलाई निकै माया गर्ने, कुरा बुझ्दिने कोही मानिस छन् भने उसको मृत्यु हुँदा हामी कति दुःखी हुन्छौ, यो सब हामीले अनुभव गरेको कुरा हो ।
हामी सबैलाई प्राय नजिकका कोही पनि मानिस आफूसँग टाढा नभइदियोस् भन्ने लाग्छ । श्रीमान् श्रीमती मिलेर बसेका छन्, एकले अर्कालाई माया गर्छन् भने एकले अर्काको दिर्घायूको कामना गर्नु स्वाभाविक पनि हो । तर व्रत बसेका बेला श्रीमानको गोडाको जल खानु, अनि गोडामा ढोग्नु भनेको, श्रीमानु लर् आफ्नी श्रीमतीलाई जीवन साथी यान कि ‘लाइफ पार्टनर’को रुपमा स्वीकार नगर्नु हो । यदि कोही पनि श्रीमान् ले गोडाको पानी खुवाउँछ भने आफ्नो श्रीमतीलाई दास बनाइरहेको छ भनेर बुझ्दा हुन्छ । अनि यसले श्रीमान् सधैँ एक कदम माथि अनि श्रीमती एक कदम तल देखाउने अभ्यास हो । यसले समानता नभई असमानता खडा गर्छ । अनि श्रीमान् को गोडाको जल खाँदा महिला सधैँ निच रहन्छिन् । व्रत बस्दा गोडाको जल खानु जरुरी छैन र खानु हुँदैन पनि ।
विशेष गरी साउनको महिना भगवान् शिवलाई मन पर्ने महिना हो । साउन महिना, भगवान् शिव र प्रकृतिसँग पनि केही सम्बन्ध रहेको पाइन्छ । साउन महिनामा प्रशस्त पानी परेको हुन्छ । हाम्रा वरपरका वातावरण पनि हरिया र निकै रमाइलो हुने गर्छन् । साउन महिनामा हरियो चुरा लगाउनु आवश्यक छैन । तर हाम्रा वरपर रुख रोप्न जरुरी छ । हरिया सागपात खान जरुरी छ । यस्तो भयो भने प्रकृति निकै नै आकर्षक र लोभ लाग्दा हुन्छन् । आफू बस्ने वरपर वातावरण राम्रो भयो भने यसले हाम्रो स्वास्थ्यमा सकारात्मक ऊर्जा भर्ने काम भने गर्छ ।
जहाँसम्म साउनको सोमवारको व्रतको कुरा छ, महिला मात्र बस्ने व्रत हो भनेर कहीँ कतै लेखिएको छैन र महिलाले व्रत लिनु नै पर्छ भन्ने अनिवार्य पनि छैन । जीवन व्यतीतका क्रममा मैले यस्ता धेरै पुरुष देखेको छु जसले, सोमवारका दिन लसुन प्याज, माछा मासु र अन्न केही खाँदैनन् । भगवान् शिव प्रति भक्ति भाव राख्छन् । व्रत बस्ने नबस्ने नितान्त निजी मामला हो । कोही निराहार व्रत बस्छन् भने कोही फलफूल खाएर र कोही सक्दै सक्दैनन् भने लसुन प्याज, माछा, मासु खाँदैनन् तर एक छाक शाकाहारी भोजन गरेर व्रत बस्छन् ।
आधुनिक र आर्यूवेदीक दुबै चिकित्साले शाकाहारी भोजनलाई निकै नै राम्रो मानेको छ । तामसिक र राजसी भोजन शरीरलाई पचाउन गाह्रो हुने भएकोले यस्तो खाना खानु भन्दा शाकाहारी खाना खानु निकै राम्रो मानिएको हो । हामीले खाएको खाना अनुरूप नै हाम्रा सोच र बिचार बन्ने भएकाले खानामा ध्यान दिनु अति नै आवश्यक छ । साउनको महिना विशेष गरी वर्षातकको समय भएकाले तामसिक र राजसी भोजन गर्दा झाडापखाला लाग्ने अनि बिरामी होइन सम्भावना धेरै हुन्छ । साउन महिनामा मात्र नभएर हरेक दिन शाकाहारी भोजन गर्ने मानिसहरू बढी फुर्तिला र निरोगी हुन्छन् । मांसाहारी मानिसले भन्दा शाकाहारी मानिसले धेरै काम गर्न सक्छन् ।
त्यस कारण पितृ सत्तालाई टिकाइराख्न बनेका केही गलत नियमहरू हामी आफैँले तोड्नु जरुरी छ । खुट्टाको जल खुवाइदैंमा कोही पनि पुरुष परमेश्वर बन्न सक्दैनन् । बरु यस्ता गलत नियम अनुसरण गर्न लगाइयो भने मानिस परमेश्वरको सट्टा दानव बन्न सक्छ । धर्म संस्कृति र परम्परा अनुसरण गर्ने नाममा महिलालाई दास बनाउन उद्यत यस्ता गतिविधिलाई व्यक्तिगत रुपमा नै रोक लगाउन जरुरी छ ।