लोकसंवाद संवाददाता | समाचार | साउन १३, २०७७
ललितपुर । ललितपुर महानगरपालिकाका मुख्य सडकमा स्मार्ट सडक बत्ती जडान गरिने भएको छ । यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा उक्त बत्ती जडान गर्न लागिएको हो ।
कुपण्डोलस्थित नबिल बैंकअगाडि आज स्मार्ट सडक बत्तीको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरका तीनवटा सडकमा कूल छ सय ६९ स्मार्ट सडक बत्ती जडान गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, 'हामीले वाग्मतीको पुलबाट जावलाखेल, लगनखेल हुँदै सातदोबाटो, हिमालयन होटल, पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मङ्गलबजार लगनखेल र पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्कोसम्म सडक बत्ती जडान गर्न लागेका हाैँ ।' ललितपुरमा रहेका छ पालिकामध्ये सो सडक बत्ती जडान गर्ने यो पहिलो पालिका रहेको उहाँले दाबी गर्नुभयो ।
महानगरपालिकाका उपप्रमुख गीता सत्यालले स्मार्ट सडक बत्ती सोलारभन्दा कम खर्चमा जडान हुने बताउनुभयो । उहाँले भन्नुभयो, 'यो बत्ती निकै प्रभावकारी छ । यस बत्तीलाई कम्प्युटरको सहायताले सर्भर कक्षबाट नियन्त्रण गरिनेछ ।' क्रम्टन महावीर जेभीले सडक बत्ती जडानको जिम्मा लिएको सत्यालले जानकारी गराउनुभयो ।
सो बत्ती जडान शुरु गरेको ४५ दिनमा परियोजना सम्पन्न गर्ने योजना महानगरपालिकाको छ । गत २०७६ भदौ २ गते सम्झौता भएको उक्त परियोजनामा महानगरपालिकाको कूल रु पाँच करोड २० लाख लाग्ने जनाइएको छ । महानगरपालिकाका यी क्षेत्रहरुमा पहिलो चरणमा बत्ती जडानको काम सम्पन्न भएसँगै दोस्रो चरणमा अन्य थप वडाहरु बुङ्मती, खोकना, सुनाकोठी, धापाखेल र हरिसिद्धि जडान गरिने बताइएको छ ।