काठमाडौंमा पकाएको खानेकुरा निमेषमै अमेरिका पुग्ला ?

काठमाडौंमा पकाएको खानेकुरा निमेषमै अमेरिका पुग्ला ?

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  चैत ०७, २०७५

२०३० सालको कुरा हो, गाउँबाट अन्दाजी १३÷१४ वर्षको केटो काठमाडौं आयो । उसले काठमाडौंमा घरको धारामै पानी आएको देख्यो । र, अचम्म मान्यो । किनकि उसले गाउँमा घरमै धारामा पानी आएको देखेको हुँदैन । काठमाडौंको सेवा सुविधा देखेर उसलाई यहीँ रमाइलो लाग्यो । 

त्यो बेला काठमाडौंमा अहिलेको जस्तो दैनिक पत्रपत्रिका प्रकाशित हुँदैनथे । दैनिक पत्रिकाको नाममा थियो त अहिले बुढ्यौलीले कम्मर झुकिसकेको ‘गोरखापत्र दैनिक’ । पठनपाठनमा रुचि राख्ने त्यो केटो टोलकै ‘गोरखापत्र’ आउने एउटा किराना पसलमा गई पढ्ने रहर पूरा गथ्र्याे । त्यतिबेला उसको बाल मस्तिष्कमा एउटा कल्पना आयो– धारामा पानी आएजस्तै घरघरमा गोरखापत्र आउनै कुनै प्रविधि भए त गजबै हुन्थ्यो । 

०००

केही समयपहिला शुक्रबारको दिन काठमाडौंको एक ‘कफी सप’मा तीन जना ‘गफास्टिक’ गफिरहेका थिए । एउटा पात्र लेखक, दोस्रो पत्रकार एवं तेस्रो त्यही केटो । आफ्नो चिरपरिचित स्मित मुस्कानमा केटोले भन्यो– मैले ३० सालमा गरेको कल्पना विज्ञानले साकार पारिदियो नि । 

आज संसारभरीका समस्त अखबार र समाचारपत्र मेरो मोबाइलमै आइपुग्छन् । 

अब भने मेरो श्रीमतीको एउटा सपना छ– अमेरिकामा रहेको छोरालाई इन्टरनेटबाट खानेकुरा पठाउने ।

उनी अमेरिकामा रहेको छोरासँग ‘स्काइप’लगायत अन्य माध्यमले अनुहार हेर्दै कुरा गर्छिन् । तर, उनलाई एउटा कुरा भने खटकिरहन्छ । छोरालाई उनले पकाएको सेल असाध्यै मन पर्छ, त्यो सेल पनि इन्टरनेटबाट फोटो र आवाज गएजस्तै क्षणभरमै पठाउन पाए कति राम्रो हुन्थ्यो ! के यो सम्भव हुन सक्छ ?

मैले उनलाई सोधें– २०३० सालमा तपाईंलाई मोबाइलमा समाचार पढ्न पाइएला भन्ने कतिको विश्वास थियो ? सायद, तपार्इंले लाजले वा अरुले उडाउलान् भन्ने हीनभावले यो कल्पना अरुलाई भन्न पनि संकोच मान्नुभयो होला । तर, आज त त्यो तपार्इंको कल्पना यथार्थमा रूपान्तरित भइसक्यो ।  उहाँले सहमति जनाउनुभयो । 

फोटो, आवाज, डकुमेण्ट त तरंगमा रूपान्तरित भई फेरि मूल स्वरूपमा फर्किन्छन् । तर, वस्तु त कसरी सम्भव होला ? 

ठीक भन्नुभयो तपाईंले, विज्ञानले खोज्ने क्रममा सञ्चार विषयी यी उपलब्धी हासिल गरेको हो । आज संसारभरी निमेषमै सन्देश पठाउने, सम्पर्क गर्ने (कम्युनिकेसन) सफलता विज्ञानले पायोे । तर, यो एक दिनमा, एक जनाको प्रयासले भएको होइन । 

मानिस, बुद्धि, वाक भाषा सम्पन्न सामाजिक प्राणी हो । एक–अर्कासँग संवाद गर्ने (कम्युनिकेसन) उसलाई आवश्यक भयो र उसले गर्यो । के तपाईं भन्न सक्नुहुन्छ सबैभन्दा पहिलो ‘कम्युनिकेसन’को माध्यम के थियो ? अहिले तपाईंसँग मोबाइल छ, इन्टरनेट छ, मानिस सभ्यताको आरम्भमा के थियो ? 

अर्का पत्रकार मित्रले भन्नुभयो– यो त तपाईंले बडो रोचक प्रसंग उठाउनुभयो । तपाईं नै भन्नुस्, हाम्रा पुर्खाले अपनाएको सञ्चार माध्यम के थिए ? 

संसारमा मानिसले एक–अर्काबीच विचार सम्पे्रषण गर्न प्रयोगमा ल्याएको पहिलोे माध्यम गुफामा उकेरेका भित्ति चित्र थिए, यी भित्ती चित्र उनीहरू फलको रस, जनावरको रगतबाट बनाउँथे । त्यस्तै, कथा हाल्नु, ड्रम बजाउनु, आगोबाट निस्केको धुवाँ । यी थिए हाम्रा पुर्खाहरूले प्रयोग गरेका ‘कम्युनिकेसन’का साधन । आज तपाईंको जीवनमा मोबाइलको जति महत्वपूर्ण भूमिका छ, आदिम युगमा उपरोक्त साधन त्यति नै महत्वपूर्ण थिए ।

त्यसपछि मानिसले लेख्न सिक्यो, हस्तलिखित पुस्तक बने, कम्युनिकेसन अलिअलि विकसित भयो । सन् १४४८ मा जोन गुटेनवर्गले प्रिन्टिङ प्रेस बनाएर यसलाई गति प्रदान गरे । चिठीपत्र लेखिने क्रान्ति आयो । सन् १७७५ मा अमेरिकामा हुलाक खोलियो । बेंजामिन फेंकलिन संसारकै पहिलो ‘पोष्ट मास्टर’ बने । चिठीबाट टेलिग्राफमा पुग्दा त्यति नै हर्ष भयो होला जति हामी नेपालीलाई पेजरबाट मोबाइलमा पुग्दा भएको थियो । सन् १८३७ मा सैमुअल मोर्सले टेलिग्राफको आविष्कार गरे ।

तर, समय कहाँ रोकियो र ? मानिसको कल्पना, आवश्यकता कहिले पो रोकिन्छ र ? अलेक्जेण्डर बेलले सन् १८७६ मा ध्वनि तरंगको परीक्षण गर्दै टेलिफोन आविष्कार गरिदिए । बेलको यो ध्वनि यन्त्र प्रारम्भमा अमेरिकनले रुचाएका थिएनन् ।

अर्को संचारको सशक्त माध्यमको कल्पना रेडियोले पूरा गर्यो । सन् १९१४ मा एमेच्योर ब्रोडकास्टिंगले पहिलो पटक रेडियोबाट उद्घोष गर्यो । व्यावसायिक सुरुवात भने सन् १९२० देखि प्रारम्भ भयो । सन् १९७०–७५ सम्म हाम्रै देशमा रेडियो सेट हुने मान्छे विशिष्ट हुन्थ्यो । 

सन् १९४० मा १० इन्चका टेलिभिजनको दाम २०० डलर पथ्र्यो । के भित्ति चित्र कोर्ने, ड्रम बजाएर सन्देश प्रसारित गर्ने मानिसका लागि टेलिभिजनको कल्पना सुगम थियो र ? तर, तपार्इंजस्तै कसै न कसैले त कल्पना गरेको थियो, जसलाई मूर्त रूपमा ल्याउन सन् १८९७ मा जर्मन भौतिकशास्त्री कर्ल फर्डिन्यान्डको ‘कैथोड रे ट्युब’ निर्माण र इलेक्ट्रोन प्रक्षेपणबाट स्क्रिन चम्किनुको ‘टेस्टिङ’देखि सन् १९२७ मा फिलो फ्रान्सवर्थले एउटा आकृतिलाई प्रकाशको साठी वटा धर्कामा इलेक्ट्रोनका रूपमा गति गराएर स्क्रिनमा मूल आकृतिमा उतार्ने सफल प्रयोगपछि सन् १९३९ मा न्यूयोर्क सहरको विश्वमेलामा पहिलो टेलिभिजन प्रदर्शित भयो ।

सन् १९५० मा लेजी वोन्सले तारवाला रिमोट कन्ट्रोल, १९५५ मा जेनिथ फ्ल्यास म्याटिकले ताररहित रिमोट कन्ट्रोल बनाए ।

सन् १९५४ मा १२ इन्च स्क्रिनको १ हजार डलर मूल्यको पहिलो रंगिन टिभी बजारमा आयो ।

सन् १९७३ मा डा. मार्टिन कुपरले पहिलो मोबाइल सेट बनाए, चार वर्षमै मोबाइल आम जनताको हातमा आइपुग्यो ।

इन्टरनेटको ज्ञान ६० को दशकमा भए पनि आज तपाईं जुन प्रयोग गर्दै हुनुहुन्छ, यहाँ सम्म आउनमा सयौं वैज्ञानिकको योगदान छ । अमेरिकी रक्षा मन्त्रालयले विभिन्न कम्प्युटरलाई एउटै नेटवर्कबाट संचालित गर्न ‘एडभान्स रिसर्च प्रोजेकट एजेन्सिज’ (Arpanet) बाट प्रारम्भ भएको यात्रामा १९७० मा रोवर्ट कान र विन्टन सेर्फले ‘ट्रान्समिसन कन्ट्रोल प्रोटोकल एवं इन्टरनेट प्रोटोकल’ TCP/IP विकसित गरे । तर Arpanet ले TCP/IP लाई ग्रहण गर्न लामो प्रतीक्षा गर्नुपर्यो । सन् १९८३ जनवरीमा TCP/IP स्वीकृत भएपछि नेटवर्कको नेटवर्क खोज प्रारम्भ भयो । यहीँबाट आधुनिक इन्टरनेटको उद्गम भयो । सन् १९९० मा वैज्ञानिक टिम वर्नर लीले वल्र्ड वाइड वेभ (www) को आविष्कार गरे । तपाईंले प्रयोग गरिरहेको इन्टरनेटमा अहिले अनेकौं कम्पनीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । 

अब आऊँ, भाउजूको जिज्ञासामाथि, त्यो ‘कम्युनिकेसन’भन्दा फरक हुन जान्छ । विज्ञानमा त्यो शाखालाई ‘टेलिपोर्टेसन’ भनिन्छ । विषय अलि जटिल छ । क्वाण्टम फिजिक्सले ‘क्वाण्टम लिप’ र एन्टेगलमेन्ट थ्योरीबारे अध्ययन गरिरहेको छ ।

वैज्ञानिक जायलिंगरले आफ्नो एउटा प्रयोगमा दुइटा एन्टेगल्ड फोटन लिए, एउटा फोटनलाई ला पामा द्विपबाट सय किमि टाढास्थित टैमेरिफ प्रयोगशालामा लेजरका माध्यमले पठाए । त्यसपछि ला पामाको प्रयोगशालामा रहेको फोटनको अन्य तेस्रो फोटनसँग ‘इन्टरेक्ट’ गराए । प्रयास थियो– तेस्रो फोटनको प्रोपर्टी प्रथम फोटनमा आवेशित होस् ।

पहिलो फोटनले तेस्रो फोटनको सबै प्रोपर्टी ग्रहण गरेर हूबहू तेस्रोको फोटोकपी बन्न पुग्यो । आश्चर्य त १०० किमि टाढा टैमेरिफ प्रयोशालामा राखिएको दोस्रो फोटनको अध्ययन गर्दा हुन आयो, त्यो फोटन पनि आफ्नो पूर्व अवस्था त्यागेर तेस्रो फोटनकै फोटोकपी बन्न पुग्यो । यही तथ्य टेलिपोर्टेसनको आधार हो । म, तपाईं प्रकृतिमा रहेका सबै वस्तु सुक्ष्म पार्टिकल्सबाट बनेका हौं । यदि एउटा फोटन एक स्थानबाट अर्को स्थानमा समय र दूरीको हिसाब नगरी पुग्न सक्छ भने पार्टिकलबाटै बनेको भाउजूले पकाएको खाने कुरा म, तपाईं वा अन्य कोही पृथ्वीभरी मात्र होइन, ब्रह्माण्डभरी नै निमेषमा पुग्न सक्छौं । आइन्सटाइनले भेउ पाउन नसकेर ‘स्पुकी एक्सन’ भनेको सधैँ ‘स्पुकी’ नै रहन्छ भन्ने होइन । 

भर्खरै चीनले अमेरिकी ‘स्टेल्थ’ विमानको काट ‘एन्टेगल्ड पार्टिकल्स’को प्रयोगले सम्भव बनाइसकेको छ । 

०००

त्यो कफी गफमा हामीले धेरै चर्चा गर्यौं । सबै एउटै लेखमा समेट्न सम्भव छैन । विषय जटिल भएकाले यति लेख्न नै धेरै समय लाग्यो । पाठकले जिज्ञासा गरेमा यसै लेखमा आएका केही प्रसंगबारे थप चर्चा गरौंला । त्यो केटाकोबारे जिज्ञासा होला पाठकलाई । ती हुन मेरा प्रिय दाई, पत्रकारिता पेशाका मूर्धन्य जीवेन्द्र सिम्खडा र अर्का पत्रकार थिए उमेश चौहान ।