लोकसंवाद संवाददाता | समाज | साउन १६, २०७७
झापा । झापाको गौरादह आसपासका किसानले पालेका गाईवस्तुमा नयाँ रोगको सङ्क्रमण देखापरेको छ । दुई सातायता गौरादहसहित कमल गाँउपालिकाका किसानले पालेका गाई, बाच्छाबाच्छी र गोरुमा अनौठो किसिमको सङ्क्रमण देखा परेको छ । भैँसी र राँगामा यसको समस्या कम देखिएको छ ।
यो रोग लागेपछि गाईको शरीरमा फोका भएर घाउ हुने, शरीरमा डाबर आउने, गाईवस्तुलाई ज्वरो आउने, शरीरका विभिन्न ठाउँमा पानी जमेर सुन्निने जस्ता रोगका लक्षण देखापर्ने गरेको किसानले बताएका छन् । पशुमा एक्कासि नयाँ रोगको सङ्क्रमण देखिएपछि किसानहरु चिन्तित भएका छन् ।
गौरादह पशु सेवा शाखा प्रमुख सन्तोष भण्डारीका अनुसार पशुमा देखापर्ने लम्पी स्किन डिजिज भाइरसका कारण सङ्क्रमण देखिएको हुनसक्ने लक्षण छ । यदि त्यही सङ्क्रमण देखिए यसको कुनै ठोस उपचार तथा रोकथाम नभएको र यसको खोप नेपालमा हालसम्म उपलब्ध नभएकाले लक्षणअनुसार घाउको उपचार मात्र गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
यस्तै गौरादह नगरपालिकाभित्रका पशु सेवा प्राविधिकले यही साउन ९ गतेसम्मको उपलब्ध गराएका तथ्याङ्कअनुसार गौरादहभित्रका ५०१ गाई, १८३ बाच्छी, ९४ बाच्छा, सात गोरु र चार भैंसीमा गरी ७८९ पशु तथा नगरसँग जोडिएको कमल गाउँपालिकाभित्र करिब १५० गाई, बाच्छाबाच्छीमा लम्पी स्कीन डिजिजसँग मिल्दो जुल्दोे समस्या देखापरेको पनि उहाँले जानकारी दिनुभयो ।
कार्यालयले पशुमा देखिएको नयाँ सङ्क्रमण थप फैलिन नदिन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरमा पठाइसकेको र रिपोर्ट आउन बाँकी रहेको गौरादह पशु सेवाका प्राविधिक दिनेश ढकालले वताउनुभयो । अफ्रिकी मुलुकका पशुमा यो रोगको समस्या देखिए पनि नेपालमा भने पहिलोपटक यो रोग देखापरेको हुन सक्ने पुश प्राविधिकले जिकिर गरेका छन् ।