रवीन्द्र आनन्द | समाज | चैत ०७, २०७५
महाशून्यबाट उद्वेलित हुन्छ
चैतन्य
चिदाकाशमा हुँडारिन्छन्
अक्षरका गेडाहरु
अनि कविताको विस्फोट
हुन्छ
अनेकानेक जगतहरु,
दृष्यहरु, ध्वनिहरु
तर
मैले सँगाली नसक्दै ती
गेडाहरु विलीन हुन्छन्
जसरी
हिँऊका गेडा हत्केलामा
सम्हाल्दा सम्हाल्दै पग्लन्छन्
र बग्छन्
कवितै कविताले भरिन्छन् मेरा
कविताहरु
अनि ती कविताहरु मेरो
जीवन भैदिन्छ,
म मग्न हुन्छु र देख्छु
(आकाशभरि, पाखाभरि,
चौरभरि ।
तर कागज खाली नै छ,
सेतो नै छ ।