लोकसंवाद संवाददाता | समाचार | चैत ०८, २०७५
काठमाडौं । विद्यार्थीबाट तोकेभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले एक महिनाभित्र रकम फिर्ता गर्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयमा बिहीबार विश्वविद्यालयका पदाधिकारी, कलेज सञ्चालक र विद्यार्थी संगठनका प्रतिनिधिबीचको बैठकले शुल्क फिर्ताको सहमति गरेको छ । गण्डकी मेडिकललगायतका कलेजले विद्यार्थीबाट तोकिएभन्दा बढी रकम असुलेका थिए ।
चारबुँदे सहमतिमा विश्वविद्यालयका पदाधिकारी, कलेज सञ्चालक, नेपाल मेडिकल काउन्सिल र मन्त्रालयका प्रतिनिधिले शुल्क फिर्ताको अनुगमन गर्ने उल्लेख छ । शिक्षासचिव खगराज बरालका अनुसार त्रिभुवन विश्वविद्यालयले गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीको शैक्षिक कार्यक्रम अनियमित नहुने गरी परीक्षाको प्रबन्ध मिलाउनेछ ।
विश्वविद्यालयका सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल अस्वस्थताका कारण बैठकमा केहीबेर मात्र सहभागी भएका थिए । बैठकमै बिरामी परेपछि उनी अस्पताल गएका थिए र बैठकको अध्यक्षता शिक्षासचिवले गरेका थिए । मन्त्री अस्पताल गएका कारण सबै पक्षको सहमतिलाई उनले प्रमाणीकरण गर्न बाँकी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।