लोकसंवाद संवाददाता | समाचार | चैत ०८, २०७५
काठमाडौं - सरकारले जनकपुर–जयनगर–कुर्था खण्डमा चलाउन ८४ करोड ६५ लाख रुपैयाँमा दुइटा रेल किन्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन सरकारको प्राथमिकतामा रहेको बताउँदै आएका थिए। तर खरिद प्रक्रिया सुरु नगरिँदा नेपालमा रेल चलाउने प्रयास भाषणमा सीमित हुने हो कि भन्ने आशंका व्याप्त थियो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३५ किलोमिटरको जनकपुर–जयनगर–कुर्था खण्डमा रेल चलाउन ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैयाँ बजेट स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।
विगतमा सञ्चालन हुँदै आएको जनकपुर–जयनगर रुटलाई कुर्थासम्म बढाई मर्मत सम्भार गरेपछि रेल चलाउन लागिएको हो। मन्त्रिपरिषद्को निर्णयपछि रेल विभागले भारतको कोकन रेलवेज कर्पोरेसन लिमिटेडसँग खरिदको प्रक्रिया सुरु गर्नेछ। विभागका महानिर्देशक बलराम मिश्रले केही दिनभित्र कोकन रेलवेजसँग रेल खरिद सम्झौता हुने बताए। उनका अनुसार कोकन रेलवेजसँग सम्झौता भएको करिब तीन महिनामा पहिलो रेल नेपाल आइपुग्नेछ। ‘पहिलो रेल आएको एक–डेढ महिनामा दोस्रो रेल पनि आइपुग्ने अपेक्षा गरेका छौं,’ उनले भने। आजको नागरिक दैनिकमा खबर छ ।