लोकसंवाद संवाददाता | समाज | साउन २१, २०७७
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिकाका विभिन्न वडाका किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरेको छ । बाँदरले वर्षौँदेखि बालीनाली नष्ट गरिरहेका किसानको सजिलोका लागि बाँदर धपाउने यन्त्र वितरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । नगरपालिकाको वडा नं ५ मा २५ यन्त्र वितरण गरिएका छन् । प्रत्येक टोलका किसानलाई पायक पर्ने गरेर यन्त्र वितरण गरिएको हो ।
नगरपालिकाले स्याङ्जाको जयलक्ष्मी आँधीखोला कन्स्ट्रक्शन प्रालिबाट १०० थान बाँदर धपाउने यन्त्र खरिद गरेको हो । नगरपालिकाका बाँदर प्रभावित अन्य वडाका किसानलाई यन्त्र वितरण गरिने उपप्रमुख चन्दले जानकारी दिनुभयो । बाँदर धपाउने यन्त्रमा एक प्रकारको रसायन राखिने र त्यसलाई चलाउँदै जाँदा मेशिनले ठूलो आवाज निकाल्ने भएकाले बाँदर भाग्ने बताइएको छ । यन्त्र वितरण गरिएका किसानलाई यन्त्र चलाउन पनि सिकाइएको छ । नगरपालिकाले बाँदर नियन्त्रण गर्ने योजनाअन्तर्गत रु तीन लाखको लागतमा यन्त्र किनेको जनाइएको छ ।