पुल र सडकका ९०६ आयोजना अलपत्र

पुल र सडकका ९०६ आयोजना अलपत्र

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत ०८, २०७५

काठमाडौं । ०६४ यता देशभर सुरु भएका पुल र सडकका ९०६ आयोजना निर्माण ठप्प छन् । २० अर्ब ८६ करोड लागतमा सम्झौता गरिएका यी आयोजना विभिन्न कारणले अलपत्र परेका हुन् । ६२३ आयोजनाको म्यादसमेत थप भएको छैन । सबै रुग्ण आयोजनाको प्रगति निराशाजनक रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनले देखाएको छ । 

अहिलेसम्म देशभर निर्माण सम्पन्न भएका २ हजार २ सय ८ सडक र पुलमध्ये ८ सय जोखिमको अवस्थामा पुगेका छन् । तत्काल मर्मतसम्भार, पुनः डिजाइन र आंशिक विस्थापन नगरे कुनै पनि समय भत्किन सक्ने, यातायात अवरुद्ध हुने तथा दुर्घटना हुने सडक विभागले जनाएको छ । पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्गमा मात्र ६ सय ५० पुल र सडक जोखिमपूर्ण रहेको ट्राफिक सुरक्षा आयोजना प्रमुख सरोजकुमार प्रधानले बताए । उनका अनुसार खासगरी बारादेखि नवलपरासीसम्मका पुल उच्च जोखिममा छन् । ६८ पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा छन् । प्रधानसँग लामो समय सडक विभागअन्तर्गत पुल महाशाखा प्रमुखका रूपमा काम गरेको अनुभव छ ।  

पूर्व–पश्चिम राजमार्गमा ४० वर्ष पूरा गरेका पुलको संख्या धेरै छ । केही ४५ वर्षसम्म पुराना पनि छन् । सामान्यतया एउटा पुलको आयु ५० वर्ष हुन्छ । नेपाली प्राविधिकले पुलको डिजाइन गर्दा ५० वर्षका लागि हुने गरी तयार गर्छन् । जोखिममा पुगेकामध्ये केही पुलको आयु पूरा हुन लागेका, केही खोलाको बहावका कारण कमजोर बनेका र केही डिजाइनमै भएको गल्तीले जोखिममा रहेको सडक विभागको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।