लगानी सम्मेलनमा चिनियाँको चासो बढी

लगानी सम्मेलनमा चिनियाँको चासो बढी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत ०८, २०७५

 

काठमाडौं । लगानी बोर्ड कार्यालयका अनुसार सम्मेलनमा ३८ देशका ६ सय २० लगानीकर्ता सहभागी हुने निश्चित भएकामा चीनका २ सय ९ जना सरकारी अधिकारी तथा लगानीकर्ताले नाम टिपाएका छन् । भारतबाट १ सय १० र नेपालका तर्फबाट ४९ जना सहभागी हुने निश्चित भएको छ ।

बोर्डका प्रवक्ता बलराम रिजालले चिनियाँको सहभागिता अझै बढ्ने अनुमान गरेको बताए । ‘धेरै देशबाट लगानीकर्ताले चासो देखाइरहेका छन् । सबै मुलुकबाट गरी करिब १ हजार जनाको सहभागिता हुनेछ,’ उनले भने । अघिल्लो पटकको सम्मेलनमा पनि चिनियाँकै उपस्थिति बढी थियो । २०७३ फागुन १९ र २० गते भएको सम्मेलनमा करिब १४ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो । यसमध्ये चीनका लगानीकर्ताले मात्रै करिब साढे ८ खर्ब रुपैयाँको प्रतिबद्धता जनाएका थिए ।

भारतले करिब ३१ अर्ब ७० करोड रुपैयाँ लगानी गर्ने भनेको थियो । त्यतिबेलाको प्रतिबद्धता भारत र चीनसहित कुनैले पनि लगानीका रूपमा परिणत गरेका छैनन् । ‘भारत र चीन दुवै देशका लगानीकर्ता केही ओगट्न पाइहालिन्छ कि भनेर आउने हुन्,’ लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्तले भने, ‘आयोजना ओगटेर भू–राजनीतिक हिसाबलेआफ्नो उपस्थिति जनाउँछन्, आपसमा प्रतिस्पर्धा गर्छन् ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।