धनगढी–अछाम हवाई सेवा सञ्चालन

धनगढी–अछाम हवाई सेवा सञ्चालन

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत ०८, २०७५

अछाम । सुदूरपश्चिम प्रदेशको धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा सुरु भएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक धनगढीदेखि साँफेबगरसम्मको उडान सञ्चालनमा ल्याएको हो । 

यस क्षेत्रका यात्रुको सहजताका लागि आजदेखि धनगढीदेखि साँफेबगरका लागि नियमित उडान भर्न सुरु गरिएको समिट एयरका अछाम प्रतिनिधि दीपक दुवालले जानकारी दिनुभयो । समिट एयरमा धनगढी–साँफेबगरसम्म १७ मिनेटमै यात्रा गर्न सकिने भन्दै उहाँले यात्रुको चाप र मागलाई मध्यनजर गरी हप्तामा सातै दिन उडान भर्न सकिने बताउनुभयो । 

धनगढीदेखि साँफेबगरसम्मका लागि तीन हजार तीन सय ५० रूपैयाँ भाडादर कायम गरिएको छ । धनगढी–साँफेबगर नियमित हवाई सेवा सञ्चालन हुँदा अछामसहित बाजुरा र डोटी जिल्लाका यात्रुलाई पनि सहज हुने भएको छ । 

यसअघि नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि साँफेसम्म निरन्तर दोहोरो उडान सञ्चालन गरिरहेकामा फागुन २२ गतेदेखि समिट एयरले पनि नेपालगञ्जदेखि साँफेबगर उडान सुरु गरेको थियो । नेपाल एयरलाइन्सले हरेक आइतबार र बिहीबार उडान भर्दै आएको खबर राससमा छ ।