ऐश्वर्य श्रेष्ठ | साहित्य | साउन २४, २०७७
साँद लगाएर राखेको भोजपुरे खुकुरी झैं
टलक्क टल्किएको चमचमाउदो मुहारमा
आगोको एक मुस्लो क्रान्ति लिएर हिडेको ज्योति,
बासीखोराको माटोको टिका लगाई
टयाम्के डाँडा झैं अग्लिएर
निरंकुश राणाशासनको विरुद्ध
भोजपुरे खुकुरीमा रगत नलगाई
भोजपुरबाटैं क्रान्तिको विगुल फुक्ने योद्धा
आफैंलाई भुलेर देशको खातिर
चारदिनसम्म खोक्रो पेट, सिक्रीमा बाधिंएर
स्वतन्त्रता प्राप्तिको निम्ति
लडन र मर्न जन्मेका
क्रान्ति जननायक रामप्रसाद ।
जब तिमीले धमिरा लागेको
निरंकुश राणाशासनको जरामा पक्रिएर बसेपछि
२००७ सालमा क्रान्तिको भुकम्प आएको हो ।
जनतामा चेतनाको आगो सल्केको हो ।
सिंहदरबारका सिंहलाई आफनो कब्जामा
तिमीले पहिलोपटक राखेको हो ।
तिम्रो पसिनाले वैंरीको आँखा पोलेर
पिखुवा खोला भक्कानिएर बगेको हो ।
तिम्रो उज्यालो प्रकाशमा हिडन नसकेपछि
गर्जीरहेका भोका सिंहहरुले तिमीलाई चिथोरेपछि
तिम्रो रगतले लतपतिएर
गुरांशेको गुरांश रातो भएको हो ।
आमाको छात्ती सगरमाथा झैं उच्च भएको हो ।
तिमीले हांस्दैं मृत्यु टेकेको दिन
रोईनन् तिम्री आमा
आशुं खसाएन यो देशले
मात्र झुकीरहयो घरघर
रातो चन्द्रसुर्य, अंकित झण्डा ।
हिडिरहेछ यो युग
तिमीले हिडेको बाटोमा
असमानताको पर्खाल उक्लेर
तिम्रो बारीमा हजारौं सुर्यमुखी फुलहरु
सुर्यको किरणसंगैं पछि पछि दौंडीरहेका छन् ।
ऊ हेर रामप्रसाद
तिमीले छोडिदिएको
प्रजातन्त्र र स्वतन्त्रताको फूल बोकेर
तिम्रा सन्तान खुल्ला आकाशमा उडीरहेछन् ।
जूनको हाँगामा सुर्य फुलाएर
काखमा गणतन्त्रको बच्चा खेलाईरहेछन् ।
तिम्रो महानता र उदारताको लागि
कोटी कोटी नमन
मुक्तियोद्धा जननायक रामप्रसाद ।
अरुण गाँउपालिका ७,जरायोटार