सीताराम नेपाल | साहित्य | साउन २४, २०७७
अगाडि पछाडि र कोखा तीनतिरै
कहिले कता कहिले कता
हाम्री आमालाई चिमोटिरहेको छ
घर धानेर हामीलाई हेरचाह गर्ने
आमाका पाइतालाहरु चिथोरिरहेको छ
हामी सन्तानहरुलाई स्याहार्ने, खुवाउने, खेलाउने, मायाले सुम्सुम्याउने
आमाका ती नरम हातहरु
दक्षिणे भालुले कोपरिरहेको छ
त्यसैले सानी, छरिती, फुर्तिली, बतीसै लक्षणले परिपूर्ण भएकी
हाम्री आमा
गम्भीर भएकी छिन्, आक्रोषित मुद्रामा त्रसित देखिन्छिन्
मेची रोएकी छे, काली कराएकी छे
सुस्ताको सुसेली कहाली लाग्दो छ
झन् पछि झन् सुस्ता, टनकपुर, कालापानी, लक्ष्मणपुर मात्र कहाँ हो र
खुर्दलोटन र महली सागर नामका ममुका अङ्गहरु
अपहरणमा परिसकेका छन् रत हामी डुबानमा डुबिरहेका छौँ
त्यतैतिर परपुरुषका बलिष्ट पन्जा गाडिएका छन्
जङ्गे पिल्लर ढालिएका छन्, सारिएका छन्
हाम्रा पुर्खाले ज्यान हत्केलामा राखी खुकुरी चम्काउदै बाँधेका सीमाहरु मिच्नेलाई
बाबाका कलमले छेक्न नखोज्या होइन
हामीले ठूलो आवाजले रोक्न नखोज्या होइन
तर मिचाहा साँढे टसकोमस भा छैन
पुर्खाको पौरखले आदिकालदेखिनै स्वतन्त्र रहेकी
आफ्नै खुट्टामा स्वाभीमानका साथ उभिएकी
सार्वभौम सत्ता सम्पन्न हाम्री आमालाई
कैयौँ बर्ष अर्काको गुलाम भएको दक्षिणेले
चेप्ने र हेप्ने गरेको
कति हेरिरहने
मुकदर्शक बनेर
भन ए परालखुट्टेहरु !