यमबहादुर दुरा | लोकरञ्जन | चैत ०८, २०७५
‘हनुमानको छोराको नाम के हो ?’ उनी यस्तै प्रश्न गरेर विद्यालयका साथीसँगीसँग हाजिरीजवाफ शैलीमा दोहोरी गाउँथे । उनी पढ्ने विद्यालयमा पढाइबारे दोहोरी चल्थ्यो । एकतिर कलाको विकास, अर्कोतिर ज्ञानको वृद्धि । उनका बुबा प्रावि शिक्षक थिए । उनी भजन गायक पनि थिए । घरमा खैँजडी–मादल टुट्दैनथ्यो । घरको माहोल संगीतमय थियो ।
अहिलेका ख्यातिप्राप्त दोहोरी गायक बद्री पराजुली बुबासँगै विद्यालय जान्थे । बुबाको सिको गरेर जानीनजानी भजन गाउँथे । गीत गुनगुनाउँथे । यसरी ख्याल–ख्याल गर्दै उनको दोहोरीगीतमा झुकाव बढ्न थाल्यो । जान्नेबुझ्ने हुन थालेपछि स्थानीय सामाजिक जमघटहरूमा दोहोरी गायकका रूपमा प्रस्तुत हुन थाले । यही क्षेत्रमा उनको परिचय गाढा बन्दै गयो ।
समय बित्दै जाँदा उनले नाच्ने र गाउने दुवै कलामा राम्रो लक्षण देखाउँदै गए । उनको प्रतिभालाई कलाप्रेमी क्याप्टेन मीनबहादुर गुरुङ (वि.सं. १९९०–२०६४) ले नजिकबाट नियालिरहेका थिए । उनका छिमेकीसमेत रहेका गुरुङ पोखरास्थित ‘डाँफेकला मन्दिर’का संस्थापक हुन् । ‘डाँफेकला मन्दिर’ तत्कालीन समयमा पश्चिमाञ्चल क्षेत्रमा सांस्कृतिक गतिविधिको ‘इपिसेन्टर’ मानिन्थ्यो । मीनबहादुर गुरुङले उनलाई चिलले कुखुरा टिपेझैं गरेर ‘डाँफेकला मन्दिर’ मा ल्याए । बद्रीका लागि त्यो ठाउँ प्रतिभा प्रदर्शन गर्ने डबली बन्यो । उनी २०४३ देखि २०४५ सालसम्म ‘डाँफेकला मन्दिर’मा नाच्न र गाउन थाले ।
उनले ‘बहिनीको बिहे’ शीर्षकमा अडियो अल्बम निकाले । यसमा दाजु र बहिनीबीच दोहोरी समेटिएको छ । ‘बहिनीको बिहे’ अल्बम निकाल्नु अन्तर्यमा उनकै जीवनको कथा लुकेको छ । कुरोको चुरो हो, बुबाले आफूलाई नसोधी बहिनीको विवाह गरिदिनु । यसबाट उनको आत्म रोएको थियो । यही विषय लिएर उनले लमजुङकी विरहिणी गायिका माया गुरुङसँग दाजु–बहिनी बनेर दोहोरी रेकर्ड गराए । गीतको भावनामा बगेर माया भावुक भइन् । उनी गीत रेकर्ड गर्दागर्दै गीत गाउन छाडेर बीचैमा रोइदिइन् । उनको जीवनमा यो एउटा अविस्मरणीय घटना थियो ।
उनको दोहोरीको ‘डेब्यु’ पनि ‘डाँफेकला मन्दिर’मै भयो । अर्को शब्दमा भन्दा दोहोरीका हकमा यो नै उनको पहिलो ‘स्टेज पर्पmमेन्स’ थियो । उनले २०४३ सालमा तारा शर्मासँग दोहोरी गाए । त्यसबेला उनी १५ वर्षका थिए । तारा उनी भन्दा धेरै ‘सिनियर’ थिइन् । र, चर्चित पनि । बद्रीचाहिँ सिकारु ।
तत्कालीन ‘हेभीवेट’ तारा शर्मासँग दोहोरीमा भिड्दाका शब्दहरू उनी अझैं सम्झन्छन् । ताराले प्रश्न सोझ्याइन्, ‘दिदी भेट्न यो भाइ आएको, खै त बाबु कोसेली ल्याएको’ ।
उनले प्रत्युत्तर दिए, ‘दिदी तिम्ले नगर दोमन, लौ कोसेली यै लाली जोवन’ ।
त्यतिबेला आफूले फर्काएको जवाफ उनलाई ठीक लागेको छैन । आफ्नो केटौले र अपरिपक्क व्यवहार सम्झेर उनी आफैंसँग प्रश्न गर्छन्, ‘दिदीलाई पनि कहीँ लाली जोवन दिइन्छ र ?’
उनको घर फेवाताल नजिकै हो । फेवातालको सौन्दर्यबाट प्रभावित भएर धेरै साहित्यकारका दिमागमा कविता र गीत फुरेका छन् । लोकप्रतिभाका रूपमा उदाएका बद्री पराजुली पनि यसको अपवाद हुने कुरै भएन । उनले रेडियो नेपालमा एउटा गीत स्वराङ्कन गरे, ‘हर्पन खोला फेवातालको शिर हो, घर त मेरो पञ्चासेतिर हो...।’
गीतमा अन्य हरफहरूमा भावप्रधान शब्दहरूको प्रचुरता छ । कुनै समयमा यो गीत रेडियो नेपालबाट बज्ने ‘हिट गीत’को सूचीमा पथ्र्याे ।
उनले रेडियो नेपालमा जागिर खाए । २०५० देखि २०५६ सालसम्म संगीत प्रशासन शाखामा खरिदार पदमा काम गरे । उनी रेडियोमा गीत गाउन आउने रहर बोकेर आउने गाउँठाउँमा लोकगीत अनुरागीहरूलाई खुलेरै सहयोग गर्थे । कसैलाई सानो सहयोग गरेर उसलाई ठूलो गुन लाग्छ भने किन सानो मन गर्ने भन्ने उनको सोचाइ रहन्थ्यो । रेडियो नेपालमा आउनेहरूलाई सघाएर उनी धेरैको प्यारो भएका थिए, धेरै मित्र लाभ गरेका थिए ।
निर्णायककाे रुपमा बद्री पराजुली देब्रेवाट दोस्रो
उनी धेरै फुर्मासी मान्छेमा गनिन्छन् । आफूकहाँ काम लिएर आउनेलाई कामकाजमा सघाउने र खाजाभुजा खुवाउने दुवै गर्थे ।
करारको जागिर । उनको तलब हुन्थ्यो, १४ सय । आफूलाई भेट्न आउने साथीभाइलाई खुवाउँदा मासिक खर्च हुन्थ्यो, ३२ सयको हाराहारी । उनको बजेट घाटा क्यान्टिनको बहीखातामा चुलिएर बसेको हुन्थ्यो । आम्दानी कम, खर्च बढी । उनलाई खर्च धान्न हम्मेहम्मे पर्थ्यो ।
यसरी भएन भनेर उनले एउटा उपाय सोचे । एकजना रेस्टुरेण्ट मालिक मुक्त गुरुङसँग दोहोरी रेस्टुरेण्ट सञ्चालनबारे कुरा चलाए । गुरुङ पनि कलाप्रेमी व्यक्ति । उनी तत्कालै ‘कन्भिन्स’ भइहाले । उनले २०५३ सालतिर पुकार दोहोरी साँझ खोले । बद्रीले दोहोरी गायक–गायिकाको टिम तयार पारिदिए । नारायण रायमाझीलाई भनेर साउण्ड सिस्टम चुस्त–दुरुस्त पारिदिए । दोहोरी साँझ निकै चम्कियो । उनले जसैजस पाए । मालिक, कलाकार र ग्राहक सबै खुसी भए । राजधानीमै पहिलो पटक गाउँघरको दोहोरीकोे टेस्ट दिने इतिहास पुकार दोहोरी साँझले नै रच्यो ।
दोहोरी साँझ खुलेपछि उनको दैनिक बदलियोे । दिउँसो रेडियो नेपाल काम गर्ने, बेलुकी दोहोरी साँझमा गीत गाउने । बजेट घाटाबाट अत्तालिएका उनी अब अरूलाई रोजगार दिने हैसियतमा पुगे । उनले दोहोरीको टिम तयार पारिदिए । उनको नयाँ कामले बजेट घाटा न्यूनीकरणमा पनि सहयोग पुग्यो । त्यहीबाट एक से एक प्रतिभा जन्मिए । अहिले दोहोरीमा ख्याति कमाएका राजु परियार, शर्मिला गुरुङ, दुर्गा गुरुङ, कृष्ण देवकोटा, बद्री पङ्गेनी, लक्ष्मी पुनजस्ता कलाकार पुकार दोहोरीबाटै उदाएका हुन् ।
दोहोरी गाएर कुस्त अनुभव सङ्गालेका बद्री पराजुली दोहोरीबारे फरक किसिमले सोच्छन् । धेरैले दोहोरीलाई सृङ्गारिक रसले भरिएको गीत ठान्छन् । बहुसंख्यकले दोहोरीलाई स्त्री र पुरुषबीच मायाप्रेम र रतिरागात्मक भावनाको आदानप्रदानको माध्यमभन्दा बढी देख्दैनन् । तर, वास्तविकता त्यस्तो होइन । उनलाई लाग्छ– दोहोरीमा सबै विधा र सबै रसलाई समेट्न सकिन्छ । दाजु–बहिनी, आमा–छोरा, गुरु–चेला, काका–भतिज, जो–कोहीबीच पनि पनि दोहोरी हुन सक्छ ।
यस्तै सोचेर उनले ‘बहिनीको बिहे’ शीर्षकमा अडियो अल्बम निकाले । यसमा दाजु र बहिनीबीच दोहोरी समेटिएको छ । ‘बहिनीको बिहे’ अल्बम निकाल्नु अन्तर्यमा उनकै जीवनको कथा लुकेको छ । कुरोको चुरो हो, बुबाले आफूलाई नसोधी बहिनीको विवाह गरिदिनु । यसबाट उनको आत्म रोएको थियो । यही विषय लिएर उनले लमजुङकी विरहिणी गायिका माया गुरुङसँग दाजु–बहिनी बनेर दोहोरी रेकर्ड गराए । गीतको भावनामा बगेर माया भावुक भइन् । उनी गीत रेकर्ड गर्दागर्दै गीत गाउन छाडेर बीचैमा रोइदिइन् । उनको जीवनमा यो एउटा अविस्मरणीय घटना थियो ।
यसअघि २०४८ सालतिर उनले आफ्नै काका प्रजापति पराजुलीसँग दोहोरीमा भिडे । दोहोरीको चाँजोपाँजो पृथ्वीनारायण क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले मिलाएको थियो । त्यतिबेला स्ववियु सभापति रवीन्द्र अधिकारी थिए । काकाले भतिज उत्ताउलो छ भन्ने लाइन समातेका थिए भने भतिजले चाहिँ काका बेइमानी छन्, काकी पिट्छन् भन्ने लाइन समातेका थिए । उनले गीत झिके, ‘स्वागत छ दर्शक आकालाई, नमस्कार छ बेइमानी काकालाई’ । काकाले प्रत्युत्तर दिए, ‘भतिजाको उत्ताउलो बानी छ, यो बानीले कहाँ कुटाइ खानी छ’ ।
आपसी घोचपेचले भरिएको दोहोरी निकै घम्साघम्सीपूर्ण हुन पुग्यो । त्यतिबेला दाँतको समस्याले बद्रीको गाला सुनिएको थियो । काकाले यसैलाई निसाना बनाएर उत्ताउलो स्वाभावका भतिजलाई कसले कुट्यो भनेर प्रश्न गरे । उनले कटाक्ष गरिहाले, ‘होश पाएनौ नशाको तालैमा, छुट्याउँदा हानेथ्यौ गालैमा ।’
ताली, हाँसो र हुटिङले कार्यक्रमस्थल गुञ्जायमान भयो । अन्ततः उनले काकालाई ‘पछारेरै’ छाडे ।
बद्रीले एकपटक अलिकता हल्का लाग्ने दोहोरी गीत निकाले, ‘ट्याक्सी–मोटरकार, साइँलीको भट्टीमा तुम्बा तानौं यार’ । तर, यही गीत नपत्याउँदो किसिमले हिट भयो । उनी पनि भट्टी धाउनेमध्येकै थिए । उनलाई देखेपछि अल्लो पल्लो टेबलमा रहेका रौसे व्यक्तिहरू उनैतिर मुन्टो सोझ्याएर गीत झिक्न थाल्थे । यत्तिकैमा उनका वरिपरि ५–७ जना जम्मा भइहाल्थे । रमाइलो पारामा दोहोरी चल्थ्यो । भट्टी धाउने ‘यार’हरूबीच उनको दोस्ती बढ्यो । उनको लोकप्रियताको ग्राफ स्वाट्टै माथि पुग्यो ।
अहिलेको जस्तो भए उनी ‘युट्युुब’ हिट हुन्थे होला । उनी मिडियाबाजी गर्न मन नपराउने मान्छे । न छापा माध्यममा उनको चर्चा हुन्थ्यो, त विद्युतीय माध्यममा नै उनी छाउँथे । भट्टी–भट्टीमा उनको गीत प्रेमपूर्वक गाइन्थ्यो । उनी पनि भट्टीमैै गाउँथे, भट्टीमैै छाउँथे । ‘त्यतिबेला भट्टीमा पो हिट भइयो’ उनी विगत सम्झन्छन् ।
उनको प्रतिभा देखेर सबै दङ्ग पर्थे । उनले उत्कृष्ट र प्रथम पुरस्कार त कति पटक पाए, पाए । टोलीका कतिपय सदस्यका कमी कमजोरीका कारण कुनै बेला प्रतियोगितामा हार खानुपर्ने अवस्था आउँथ्यो । तर उनको सतप्रयास, आत्मविश्वास र क्षमताबाट आयोजक तथा निर्णायकहरू हुनसम्म प्रभावित हुन्थे । उनलाई कुनै न कुनै श्रेणीमा पुरस्कार दिइन्थ्यो । खाली हात फर्कन पर्दैनथ्यो । अरु कुनै पुरस्कार दिन नपाए आयोजकले ‘अभागी पुरस्कार’ सिर्जना गरेर पनि दिन्थे । यस्ता विरलाकोटीका पुरस्कार पाउने उनी विरलाकोटीका गायक हुन् ।
नयाँ र पुराना दुवै पुस्ताका कलाकारले उनको नाम कुशल दोहोरी गायकका रूपमा लिन्छन् । पुराना गायक कृष्णसुधा ढुंगानाका दृष्टिमा उनी चोटिला र मार्मिक शब्दसहित एउटै मेसोमा गीत गाउन सक्ने प्रतिभावान् गायक हुन् । अर्का अग्रज गायक तेजबहादुर केसी पनि गानाका भनाइमा सहमति जनाउँछन् ।
दोहोरीगीत समस्याविहीन छैन । ‘दोहोरीगीत त फोहोरी गीत पो बन्यो’ भन्ने टीकाटिप्पणी छ्याछ्याप्ती सुनिन्छ । उनी यसप्रकारको टीकाटिप्पणी एक हिसाबले जायज नै भएको बताउँछन् । दोहोरीमा विकृति भित्रिनुका पछाडि केही मूलभूत कारण छन् । दोहोरी रेस्टुरेण्ट र स्टेज तताउने कार्यक्रमहरूले दोहोरीगीतलाई विकृत तुल्याउन सघाएका उनको बुझाइ छ । अहिलेका दोहोरीबारे उनको टिप्पणी छ– स्रोता–दर्शकको ध्यान जबरजस्ती खिच्न खोज्दा दोहोरीमा शिष्टता र मर्यादा मर्दै गएको छ ।
उनी दोहोरीको क्षेत्रको अर्को पनि विकृति देख्छन् । अहिले बग्रेल्ती आयोजना हुने महोत्सवहरू पनि विकृतिको स्रोत मान्छन् । यस्ता महोत्सवमा पहुँचवाला कलाकारले अन्य कलाकारलाई शोषण गरिरहेका उनको आरोप छ । पहुँचवाला कलाकारले ठेक्कामा दोहोरी सञ्चालन गर्ने परिपाटी मौलाएको छ । पहुँचवाला कलाकारले ठूलो रकम आसँग राखेर थोरै रकम अनुज कलाकारलाई दिँदा उनीहरू शोषणमा परिरहेका उनको ठहर छ ।
नयाँ र पुराना दुवै पुस्ताका कलाकारले उनको नाम कुशल दोहोरी गायकका रूपमा लिन्छन् । पुराना गायक कृष्णसुधा ढुंगानाका दृष्टिमा उनी चोटिला र मार्मिक शब्दसहित एउटै मेसोमा गीत गाउन सक्ने प्रतिभावान् गायक हुन् । अर्का अग्रज गायक तेजबहादुर केसी पनि गानाका भनाइमा सहमति जनाउँछन् ।
दोहोरीको क्षेत्रलाई शुद्धीकरण गर्न उनीसँग केही सुझाव छन् । आचार संहिता निर्माण गर्ने, त्यसको सही परिपालना गर्ने–गराउने, कलाकारको स्तर निर्धारण गर्ने र सोही आधारमा पारिश्रमिक निर्धारण गर्ने । यी सुझावलाई उनी तत्कालै कार्यान्वयन गरिहाल्नुपर्ने महत्वपूर्ण कार्यसूचीका रूपमा लिन्छन् । यति गरेमा दोहोरीमा मौलाइरहेको विकृति ओइलाउन थाल्ने उनको धारणा छ ।
उनी २०६३ सालपछि दोहोरीको निर्णायकको भूमिकामा छन् । उनी दोहोरीका अब्बल गायक त हुँदै हुन्, राम्रा निर्णायक पनि हुन् । उनको दृष्टिमा प्रश्नको जवाफ फर्काउनुमात्र दोहोरी होइन । उनीको दृष्टिमा राम्रो गीतमा प्रश्नको जवाफसँगै प्रतिप्रश्न पनि आएको हुनुपर्छ । यसका अतिरिक्त शिष्टता, मर्यादा, आत्मविश्वास र सुन्दर प्रस्तुतीकरणको महत्व त आफ्नो ठाउँमा छँदैछ ।
उनले दोहोरी गाउँदा र निर्णायक बन्दा स्वाभाविक रूपमा सबल र दुर्बल सबै खालका दोहोरीको सामना गरेका छन् । उनले कुनै बेला यति सुललित र मिठासपूर्ण दोहोरीको पनि सामना गरेका छन्, जुन हरेक दृष्टिले सर्वोत्कष्ट थिए । मूल्याङ्कनका क्रममा यस्ता दुर्लभ दोहोरीमा कमजोरी कहाँनेर छ भनेर पत्ता लगाउनै हम्मेहम्मे पर्ने गरेको उनको अनुभव छ ।
उनी विगतको अहिले दोहोरीको मूल्याङ्कन प्रणालीमा धेरै सुधार आएको देख्छन् । विगतमा आयोजकले नै प्रतियोगितामा भाग लिनेर आयोजकलाई जिताउने काम भएको पनि उनले पाएका छन् । दोहोरीको चरित्र नै नबुझेकाहरू पनि वरिष्ठताका नाममा निर्णायक बनेका थुप्रै प्रसंग छन् । निर्णायकहरूले एकअर्कासँग परामर्श नगरी नतिजा सार्वजनिक गरिएको पनि उनले पाएका छन् । कतिपय अवस्थामा निर्णायकको विवेकहीन निर्णयबाट राम्रा प्रतिभाहरूमाथि अन्याय भएको उनले पाएका छन् ।
अहिले मूल्याङ्कन प्रणाली न्यायसंगत र पारदर्शी हुनुपर्छ भन्ने कुरालाई ख्याल गर्न थालिएको उनी बताउँछन् । नतिजा प्रकाशन गर्नु अघि निर्णायक मण्डलमा व्यापक समीक्षा र विचार–विमर्श हुन थालेको उनले पाएका छन् । नतिजाबारे चित्त नबुझाएमा प्रतियोगीले निर्णायक मण्डलसमक्ष कुरा राख्न सक्ने वातावरणसमेत तयार पारिएको उनी जानकारी दिन्छन् ।
उनको दिमागमा विचारका अनेकन् खिचडी छड्किन्छन् । उनी दोहोरीगीत अभिव्यक्तिको सुन्दरतम् डबलीको रूपमा स्थापित होउन् भन्नुका साथै लोकअभिव्यक्तिको प्रयोग र परीक्षणको उर्वर ‘प्ल्याटफर्म’ को रूपमा पनि प्रयोग गर्न चाहन्छन् । यसको एक आयामको रूपमा उनी पुराना कलाकारलाई दोहोरीको प्रतिस्पर्धी बनाउने र नवोदित प्रतिभाहरूलाई निर्णायक बनाएर हेर्न चाहन्छन् । यसो गर्दा पुस्तान्तरणका कारण नयाँ पुस्ता र पुराना पुस्ताबीच निम्तिने बुझाइको फरकपनको ‘क्रसचेक’ गर्न सहयोग पुग्ने उनको बुझाइ छ ।
उनी दोहोरीगीतलाई हाम्रो पहिचान भएकाले यसको श्रीवृद्धिमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिन्छन् । उनको जोडदार माग छ, दोहोरीगीतलाई पाठ््यक्रममा समावेश गर्नेदेखि कलाकार कल्याण कोष स्थापना गर्नेसम्मका जिम्मेवारी सरकारले लिनुपर्छ । ‘हिजो झलकमान र अरुण थापा मर्दा चन्दा उठाएर सतगत गर्नुपर्ने अवस्था आयो । अब त्यस्तो दुःखद अवस्था देख्नु नपरोस्,’ उनी सरकारलाई सचेत तुल्याउँछन् ।
याे पनि
पानको पातका सर्जकको मदिरासँग पारपाचुके
जसले कोमल ओलीलाई दोहोरीमा हराए
गुमनाम लोकगायक, जो कुनै दिन एकै दिनमा डेढ लाख कमाउँथे
धेरैलाई ‘सेलिब्रिटी’ बनाउने एउटा गुमनाम प्रतिभा
स्वरकी रानी बिमाको उतारचढावपूर्ण जिन्दगी
दोहोरीमा अपराजित तेजबहादुर, जसको भाग्य गाडी ठक्करले खोसियो