पशुचौपायामा अज्ञात रोग

पशुचौपायामा अज्ञात रोग

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन २५, २०७७

सिन्धुली । सिन्धुलीको कर्णाली भनेर चिनिने हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा पशुचौपायामा अनौठो खालको रोग देखापरेको छ । पशुचौपायामा देखापरेको अनौठो रोग हरिहरपुरगढी–५ तथा दुधौली वडा नं ४, ५ र ११ मा देखापरेको जनप्रतिनिधिले बताएका छन् ।

पशुचौपायाको गोडा सुनिने, घाँस नखाने र झोक्राएर बस्नेजस्ता समस्या देखिएको हरिहरपुरगढी–५ का वडाध्यक्ष झलककुमार माझीले जानकारी दिनुभयो । उहाँका अनुसार सो वडामा करीब ४५/५० किसानले पालेका पशुचौपायामा यस्तो पहिचान नै हुन नसकेको रोग देखापरेको छ ।

अचानक देखापरेको सो रोग कस्तो खालको हो भन्ने अहिलेसम्म पशु चिकित्सकले पनि पहिचान गर्न सकेका छैनन् । पहिचानको काम भइरहेको पशु प्राविधिक नम्रजय अधिकारीले बताउनुभयो । उक्त रोगको लक्षण देखापरेका पशुचौपायामा  छालामा डाबर देखिने,  र्‍याल बगाउने र उच्च ज्वरो आउने गरेको पनि पाइएको पशु चिकित्सक विपीनजङ्ग राईले बताउनुभयो ।