लोकसंवाद संवाददाता | समाज | साउन २५, २०७७
बाजुरा । गौमूल गाउँपालिका –५ ग्वानीमा पहिरामा परी एक जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा गौमूल–४ का भीके कामीका छोरा १० वर्षीय अनिश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्क भट्टराईले जानकारी दिनुभयो ।
शनिबार राति ग्वानी लेकमा सुतिरहेका बेला माथिबाट पहिरो आउँदा भीके भाग्न सफल भएको र छोरा भाग्न नसकेका कारण च्यापिएर मृत्यु भएको स्थानीयवासी गणेश रोकायाले बताउनुभयो । पहिरामा परी चार बाख्रा मरेको र अन्य पशुचौपाया घाइते भएका छन् । अहिले थप उद्धारका लागि गौमूल गाउँपालिका घटमुनास्थित प्रहरीचौकीबाट घटनास्थलमा टोली गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानीय तहका सयौँ बस्ती पहिराको उच्च जोखिममा तथा सडक, बिजुली, टेलिफोनलगायत सेवा अवरुद्ध छन् ।