लोकसंवाद संवाददाता | समाचार | चैत ०९, २०७५
काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयको तथ्यांकअनुसार देशभर २२०८ पक्की पुल छन् । थप १२५० पक्की पुल निर्माणाधीन छन् । त्यस्तै, देशभर ७०४८ झोलुंगे पुल छन् । १३८ झोलुंगे पुल निर्माणाधीन छन् । सञ्चालनमा रहेका केही पक्की र झोलुंगे पुल सहज यात्राका लागि मात्रै प्रयोगमा छैनन्, आकर्षक पर्यटकीय गन्तव्य पनि बनेका छन् । एउटै पिलरमा अडिएको कर्णाली पुल होस् वा कञ्चनपुरको महाकाली नदीमाथि बनेको झोलुंगे पुल, पर्वत–बाग्लुङ जोड्ने देशकै उचाइमा बनेको कुस्मा–बलेवा झोलुंगे पुलदेखि म्याग्दी रघुगंगाको लामो झोलुंगे पुलसम्मले पर्यटक लोभ्याएका छन् ।
म्याग्दीको रघुगंगा गाउँपालिका–१ का वेग र बाँदुक गाउँ जोड्ने यो पुल नेपालकै लामो झोलुंगे पुल हो । दुवैतर्फ अग्ला पहाडमा जोडेर बनाइएको पुल ३६५.८० मिटर लामो छ भने उचाइ १४८ मिटर छ । बाँदुक र वेग गाउँ वारपार गर्न ३ घन्टा समय लाग्थ्यो । तर, पुल बनेपछि यात्रा ३० मिनेटमा छोटिएको छ ।
गत वर्ष ३ करोड ३२ लाख लागतमा निर्माण सम्पन्न भएको पुल अहिले पर्यटकको चहलपहल केन्द्रसमेत बनेको छ । ‘शनिबार त भिडभाड निकै हुन्छ, विद्यार्थी र विभिन्न संघसंस्थाका प्रतिनिधि घुम्न र पिकनिकका लागि आउँछन्,’ वडाध्यक्ष बिलबहादुर फगामी भन्छन्, ‘बेनी–जोमसोम हुँदै मुस्ताङ जाने विदेशी पर्यटक पनि यहाँ आउने गर्छन् ।’ वेगखोलादेखि करिब २० मिनेटको सवारी यात्रामा पुलसम्म पुग्न सकिन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।