कांग्रेस जिल्ला सभापतिले बोलाए भेला

कांग्रेस जिल्ला सभापतिले बोलाए भेला

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत ०९, २०७५

काठमाडौँ । महासमितिको निर्णय केन्द्रीय कार्यसमितिले उल्टाएको भन्दै कांग्रेसका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउने प्रयोजनका लागि छलफल गर्न राजधानीमा भेला बोलाएका छन् । काठमाडौंमा उपलब्ध जिल्ला सभापतिको बिहीबार बसेको बैठकले चैत २० र २१ गते राजधानीमा भेला गर्ने तय गरेको छ ।

पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउन एक तिहाइ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर चाहिन्छ । स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान हटाउने तथा आरक्षणको सुविधा दोहोर्‍याउन नपाउने गरी विधानमा व्यवस्था गर्नुपर्ने माग केन्द्रीय कार्यसमितिले सम्बोधन नगरेपछि जिल्ला सभापतिहरू विशेष महाधिवेशनको छलफलमा जुटेका हुन् ।

केन्द्रीय कार्यसमितिको फागुन १२ को बैठकले स्वतः प्रतिनिधिको व्यवस्था यथावत् राख्ने निर्णय गरेको थियो । त्यस्तै आरक्षणको सुविधा दोहोर्‍याउन नपाउने व्यवस्थासमेत विधानमा थपिएन । यी दुवै माग सम्बोधन नभएपछि जिल्ला सभापतिहरू नेतृत्वसँग चिढिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।