लोकसंवाद संवाददाता | समाचार | चैत ०९, २०७५
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीको दोगडाकेदार गाउँपालिका–३ को ‘सुनखोला नदी तटबन्ध गर्न’ प्रदेशको बजेटमार्फत ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । भर्खरै मात्र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सबइन्जिनियर गोविन्द भट्टको टोली त्यो योजनाको डिजाइन तयार गर्न स्थलगत भ्रमणमा जाँदा त्यहाँ ‘सुनखोला’ नै फेला परेन ।
खोला नभेटिएपछि सुनखोला नदी तटबन्धको सट्टा ‘सुनखोला स्कुल तटबन्ध’ भनी योजना संशोधन गरेर कार्यान्वयन गर्ने तयारी भइरहेको छ । सुनखोला खोज्न गएका इन्जिनियर भट्ट भन्छन्, ‘खोला नभेटिएकाले स्कुल तटबन्ध भनेर सच्याइएको छ ।’
यस्ता नक्कली काम अन्यत्र पनि गरिएको छ । दोगडाकेदारकै बैतडी–दार्चुला महाकाली लोकमार्गको खम्तोलानजिक ‘टुणाइजर खम्तोला भूक्षय नियन्त्रण’ का लागि प्रदेशले २५ लाख छुट्याएको छ तर त्यहाँ भूक्षय भएकै छैन । २०६६ सालको बर्खामा पहिरो गएको थियो । बैतडी–दार्चुला सडक आयोजनाले २०६७ मंसिरदेखि २०६८ भदौसम्म लोहनी–चन्द्रा एन्ड वसन्त जेभी ठेकेदारमार्फत २ करोड १५ लाख ८९ हजार रुपैयाँ खर्च गरेर उक्त पहिरो पूर्ण रूपमा नियन्त्रण गरिसकिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।